Logo
|
Friday 29th March 2024
Logo

epaper

नर्भिकद्वारा ‘प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य’ विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पाकिस्तानमा जन्मिएर दुबईको प्रतिष्ठित अस्पतालमा काम गरिरहेकी मनोचिकित्सक डा. इरा नइमले शनिवार काठमाडौंमा विशेष प्रस्तुति दिनुभएको छ । ‘प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य’ भन्ने विषयमा उहाँले २ घण्टा लामो प्रस्तुति दिनुभएको हो ।

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको समन्वयमा आयोजित कार्यक्रममा डा नइमले नेपालजस्ता मुलुकहरुले प्राथमिक स्वास्थ्यको हेरचाहमा मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकतामा साथ समेट्नुपर्ने र मानसिक स्वास्थ्य समस्याको विषयमा विद्यालय स्तरदेखि नै पढाइ हुनुपर्नेमा जोड दिनुभयो ।

नइमले व्यक्तिको समग्र स्वास्थ्यका लागि शारीरिक तथा मानसिक दुवै अवस्था सही हुनुपर्ने उल्लेख गर्दै भन्नुभयो–‘यो समस्यालाई मनोवैज्ञानिक रूपमा नहेरिने लगायतका कारणले व्यक्ति मानसिक समस्यामा पर्दै जाने क्रम बढेर गएको छ । शारीरिक समस्यालाई जसरी व्यक्तिको मानसिक समस्यालाई पनि ध्यानमा राख्न आवश्यक छ । राज्यस्तरबाटै यस्तो विषयमा पर्याप्त नीति बनाउन, सचेतना फैलाउन र समयमै समस्याको निदान हुनुपर्छ ।’

मानसिक समस्यालाई सामान्य रूपमा लिँदा पछिल्लो समय यसले विकराल रूप लिइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले जनस्तरमा समेत यसको विषयमा पर्याप्त सचेतना फैलाइन आवश्यक रहेको बताउनुभयो ।

उहाँले काठमाडौंमा रहेर सक्रिय मनोचिकित्सक तथा चिकित्सकहरुसँग समेत मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने विषयमा केन्द्रित रहेर अन्तरक्रिया गर्नुभएको थियो ।

कार्यक्रममा नर्भिक इन्टरनेशनल हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले जल्दोबल्दो विषयमा दुबईबाट नेपाल आएर महत्वपूर्ण समय र प्रस्तुति दिएको भन्दै डा नइमको प्रशंसा गर्नुभएको थियो । उहाँले पछिल्लो समय मानसिक समस्यालाई सामान्य रुपमा लिँदा समाजमा डिप्रेसनको समस्या बढ्दै गएको र आत्महत्याका घटनामा पनि उल्लेख्य वृद्धि भएको भन्दै विद्यालयस्तरदेखि नै मनोविज्ञानको विषयमा पढाइ हुनुपर्ने र नेपाल सरकारले समेत मानसिक समस्यालाई प्राथमिकतामा राखेर आफ्ना योजनाहरू अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा नर्भिक अस्पतालका संस्थापक वसन्त चौधरी, प्रबन्ध निर्देशक मेघा चौधरी, प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रलगायतको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्