Logo
|
Saturday 20th April 2024
Logo

epaper

बाँकेको बाढी प्रभावित क्षेत्रमा भाइरल ज्वरोको प्रकोप 



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं । बाँकेमा वर्षाका कारण प्रभावित बस्तीहरूमा विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेका छन् ।

देशभरसहित बाँकेमा समेत लगातार परेको वर्षाका कारण प्रभावित भएका क्षेत्रहरूमा भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका बिरामी देखिन थालेका हुन् । बेमौषमी वर्षाका कारण बाँकेका आठ वटै पालिका प्रभावित भएका थिए ।

नरैनापुर, डुडुवा र राप्ती सोनारी गाउँपालिका सहित नेपालगन्ज र कोहलपुर लगायतका पालिकाका नागरिक डुवानमा परेका बस्तीहरूमा यस्तो समस्या देखिन थालेको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेले असोज महिनामा तुलनात्मक रूपमा गर्मी हुने भए पनि लगातारको वर्षाका कारण चिसो भएको र फेरि गर्मी बढेका कारण बस्तीहरूमा यस्तो समस्या देखिन थालेको छ ।

त्यस्ता समस्या भएका सम्बन्धित पालिकाका स्वास्थ्य चौकीहरूमा सबैभन्दा धेरै ज्वरोको समस्या लिएर आउने गरेको रिर्पोट प्राप्त भएको कार्यालयले जनाएको हो । यस्तै नेपालगञ्ज र कोहलपुरमा रहेका अस्पतालहरूमा ज्वरो, रुघाखोकी र निमोनियाका बिरामी आउने क्रम अत्यधिक बढेको पाइएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डा श्याम विकका अनुसार यस्तो समस्या दीर्घरोग भएका महिला र पुरुष, बालबालिका तथा वृद्धवृद्धाहरूमा देखिएको छ । उहाँले मेडिकलसहित कोहलपुरका निजी मेडिकल हलहरूमा समेत बिरामीको चाप बढेको बताउनुभयो । यति मात्रै होइन पछिल्लो समय अस्पतालहरूमा डेंगुको प्रकोप बढेपछि भाइरल ज्वरो आएकाहरू डेंगुप्रति झन् त्रसित बन्न थालेका छन् । अस्पतालमा उपचार गराइरहेका बिरामीका आफन्तहरू समेत बिरामी बढ्न थालेको बताउँछन् ।

कञ्चनपुरबाट कोहलपुरमा उपचारको लागि आएका दलबहादुर बुढा भन्नुहुन्छ–‘हामी आएको एक साता हुन लाग्यो । केहीदिन यता बिरामीहरूको चाप बढिरहेको छ । सबै हामीजस्तै पीडित रहेछन् ।’ ज्वरो आउनसाथ डेंगु परीक्षण गराउनेहरू बढेको पाइएको छ । भाइरलबाट बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएको विभिन्न अस्पतालले जनाएका छन् ।

चिकित्सहरूका अनुसार बिरामीहरूमा उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने, सिँगान निस्कने र पखालासमेत लाग्ने लक्षण देखिएको छ । भेरी अस्पतालका सूचना अधिकारी डा। संकेत रिसालले दैनिक दुई सयदेखि तीन सय जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्