Logo
|
Thursday 25th April 2024
Logo

epaper

चितवन मेडिकल कलेजको प्रयोगशालाले पायो ‘क’ वर्गको मान्यता



जनस्वास्थ्य सरोकार, चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशालाले ‘क’ वर्गको मान्यता प्राप्त गरेको छ ।

अस्पतालले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ अनुसार ‘क’ वर्गको प्रयोगशालाका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उक्त मान्यता प्रदान गरेको हो ।

राजधानी बाहिर र मेडिकल कलेजमध्ये ‘क’ वर्गको मान्यता प्राप्त गर्ने चितवन मेडिकल कलेजको प्रयोगशाला पहिलो बनेको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ अनुसार ‘क’ वर्गको प्रयोगशालाका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी मान्यता पाएको बताउनुभयो ।

प्रयोगशालाले विशिष्ट श्रेणीको पूर्ण सुरक्षित भवन र त्यसभित्र आवश्यक पर्ने नमूना सङ्कलन, प्रतीक्षालय, बैठक कक्ष, कार्यालय क्षेत्र, भण्डार, शौचालयलगायतको व्यवस्था गरेको छ । न्यूनतम ३० मध्ये ५० प्रतिशत जनशक्ति स्नातक अथवा सोभन्दा माथिको योग्यताको हुनुपर्ने प्रावधान रहेको भए पनि सिएमसी प्रयोगशालामा तोकिएभन्दा बढी दक्ष जनशक्ति रहेको उहाँले बताउनुभयो ।

सो मेडिकल कलेजले यसअघि नै आइएसओ १५१८९ः२०१२ प्राप्त गरिसकेको छ । देवकोटाले उच्च गुणस्तरको प्रयोगशालाका लागि चितवन तथा छिमेकी जिल्लाबाट राजधानी र विदेश जान नपर्ने गरी व्यवस्थापन गरिएको बताउनुभयो । उहाँका अनुसार नेपालमा हुने सबै खालका परीक्षण यहाँ गर्न सम्भव छ ।


सिएमसी प्रयोगशालामा यसअघि नै हरेक परीक्षण स्टान्डर्ड ओपरेटिङ सिस्टम (एसओपी) अनुसार र गुणस्तर म्यानुअलअनुसार परीक्षण गर्ने भएकाले यसलाई अझै प्रभावकारी बनाउँदै लैजाने प्रयोगशाला प्रमुख सञ्जयराय यादवले बताउनुभयो ।
अस्पतालका निर्देशक डा दयाराम लम्सालले प्रयोगशाला उच्च गुणस्तरको नहुँदा बिरामीलाई उपचारमा कठिनाइ हुने भएकाले ठूलो लगानीमा विशिष्ट किसिमको प्रयोगशाला आफैँले बनाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्