Logo
|
Thursday 28th March 2024
Logo

epaper

ज्येष्ठ नागरिकको घरघरमा स्वास्थ्य सेवा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका–९ की पुतली कुमाल ७५ वर्ष पुग्नुभयो । उमेर ढल्किँदै गएपछि विभिन्न स्वास्थ्य समस्याले उहाँ पीडित हुनुहुन्छ ।

स्वास्थ्यकर्मीले घरमै आएर स्वास्थ्यजाँच गराउन थालेपछि पुतली कुमाल खुसी हुनुभएको छ । स्वास्थ्यकर्मीले घरमै आएर रक्तचाप, मधुमेह, दमलगायतका रोगको जाँच गरी आवश्यक औषधि निशुल्क उपलब्ध गराएका छन् । मध्यविन्दु नगरपालिका–९ कै ७८ वर्षीय रोशन सिंहलाई पनि रक्तचाप र दमको समस्या छ । आफैँ अस्पताल पुगेर औषधि लिन उहाँलाई समस्या थियो । गत साउनदेखि स्वास्थ्यकर्मी घरमै आएर जाँच गरी औषधि दिन थालेपछि उहाँ पनि खुसी हुनुभएको छ ।

मध्यविन्दु नगरपालिकाले चालू आर्थिक वर्षको नीतिकार्यक्रममा समावेश गरेको को ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमा स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत नगरभित्रका १५ वटै वडामा गत साउनदेखि सञ्चालन गरेको छ ।
मध्यविन्दु नगरपालिकामा चालू आर्थिक वर्षदेखि महिनाको एक पटक ज्येष्ठ नागरिकको घरमा नै पुगेर स्वास्थ्य परीक्षण गर्न थालिएको हो । प्रत्येक महिनाको २० गतेदेखि २४ गते सम्म स्वास्थ्यकर्मी घर घरमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।


स्वास्थ्य परीक्षणका क्रममा ज्येष्ठ नागरिकको मासिक स्वास्थ्य अवस्थाको अभिलेख राखिने गरिएको छ भने आवश्यक परामर्श प्रदान गर्ने गरिएको मध्यविन्दु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ख्यामबहादुर क्षेत्रीले बताउनुभयो । “घर–घरमा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत नगरभित्रका करिब दुई हजार तीन सय ज्येष्ठ नागरिकले लाभ लिनुभएको छ,”, स्वास्थ्य शाखा प्रमुख क्षेत्रीले भन्नुभयो “अशक्त, अपांगता, दीर्घ रोगी र पहाडी क्षेत्रका ज्येष्ठ नागरिकलाई अझ प्रभावकारी भएको महसुस गरिएको छ । ”


भौगोलिक दृष्टिले विकट पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकदेखि आर्थिक अवस्था कमजोर भएका घरपरिवारले यस कार्यक्रमबाट लाभ लिएको मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।
जनताकाबीचमा गरिएको प्रतिबद्धता अनुसार ज्येष्ठ नागरिकलाई घर आँगनमै स्वास्थ्यपरीक्षण गर्न १५ वटै वडामा स्वास्थ्यकर्मीको टोली गाउँगाउँ खटिएको बताउनुभयो । उहाँले भन्नुभयो “हामीले पहिलो चरणमा उहाँहरूको स्वास्थ्य परीक्षण गरी सामान्य औषधि वितरण गरिरहेका छौँ । स्वास्थ्यचौकीमा निस्शुल्क नपाइने औषधि पनि खरिद गरेर वितरण गर्दै आएका छौँं ।” पहिलो चरणमा सबै ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था, सेवन गरिरहेको औषधिको विवरणलगायतका आधारभूत तथ्यांक टिपोट गरी लगत संकलन गरिएको थियो । सबै लाभग्राहीको छुट्टछुट्टै रेकर्ड फाइल तयारी गरी अवस्था विश्लेषण गर्ने गरिएको छ ।
प्रत्येक ६६ महिनामा विशेषज्ञ चिकित्सकसहित घर–घरमा स्वास्थ्य परीक्षण गरिने जनाइएको छ । घर घरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणमा खटिने स्वास्थ्यकर्मीलाई विशेष प्रोत्साहान भत्तासमेत उपलब्ध गराइएको नगरपालिकाका सूचना अधिकारी सुमनराज रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्