Logo
|
Saturday 20th April 2024
Logo

epaper

खजुरा क्यान्सर अस्पतालमा विशेषज्ञ सेवाको तयारी



जनस्वास्थ्य सरोकार, राँझा । बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालले विशेषज्ञ सेवा सुरु गर्ने तयारी गरेको छ। क्यान्सर रोगको सम्पूर्ण उपचार गर्न सक्ने अवस्था बनाउन आवश्यक थप जनशक्ति र उपकरणको व्यवस्था गरी विशेषज्ञ सेवा दिने गरी तयारी भइरहेको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र्र मल्लले बताउनुभयो ।

उहाँका अनुसार सुशील कोइराला क्यान्सर अस्पतालमा क्यान्सरको सम्पूर्ण विशेषज्ञ सेवा प्रदान गर्न स्वास्थ्य मन्त्रालयसँग आवश्यक छलफल भइरहेको छ।

अस्पतालमा युरोलोजिस्ट भए पनि पिसावसम्बन्धी सम्पूर्ण उपचार र शल्यक्रिया हुन नसक्दा बिरामी अन्य ठाउँमा उपचार गराउन जानुपर्ने बाध्यता रहेको छ। अस्पताल विकास समिति अध्यक्ष मल्लले क्यान्सर रोगसम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा विस्तार गर्ने कार्यलाई आफ्नो प्रमुख जिम्मेवारीका रुपमा लिएर नयाँ योजनासहित काम गरिरहेको बताउनुभयो ।

अस्पतालमा आवश्यक पर्ने भौतिक पूर्वाधार, उपकरण र जनशक्ति थप्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग आवश्यक छलफल गरिरहेको उहाँको भनाइ छ। खजुरामा विशेषज्ञ सेवा नपाएपछि यस क्षेत्रका बिरामी भारतको लखनउ, भरतपुर क्यान्सर अस्पताल चितवन र काठमाडौँसम्म पुग्ने गरेका छन्।

बाँकेको खजुरामा रहेको क्यान्सर अस्पतालले कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बिरामीलाई उपचारको लागि अन्यत्र जान नपर्ने गरी सेवा विस्तार गरिनुपर्ने अस्पतालका संस्थापक अध्यक्ष किस्मत कुमार कक्षपति बताउनुभयो ।

सुशील कोइराला क्यान्सर अस्पताल खजुरामा हाल वार्षिक रुपमा करिब एक हजार तीन सय बिरामी उपचार गराउन आउने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्