Logo
|
Thursday 25th April 2024
Logo

epaper

बीमा कम्पनीले अर्को साताबाट कोरोना बीमाको भुक्तानी थाल्ने, तत्काल करिब १८ हजारले मात्रै पाउने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । बीमा कम्पनीहरुले अर्को साताबाट कोरोना बीमाको दाबी भुक्तानी थाल्ने भएका छन् । सरकारले पठाएको १ अर्ब रुपैयाँमा बीमा समिति, बीमा कम्पनीहरु र नेपाल पुनर्बीमा कम्पनीले ८१ करोड रुपैयाँ थपेर कुल एक अर्ब ८१ करोड रुपैयाँ बराबरको भुक्तानी गर्ने भएका हुन् ।

बीमा समितिले कोरोना बीमा मापदण्ड अनुसार भुक्तानी गर्दा सरकारलाई भार पर्ने भन्दै दाबी भुक्तानीको नयाँ मोडालिटी तयार परेको थियो । दाबी भुक्तानी मोडालिटी अनुसार भुक्तानी हुन बाँकी रहेको रकम मध्ये ५५ प्रतिशत सरकारले व्योहोर्ने र ४५ प्रतिशत बीमा कम्पनी, नेपाल पुनर्बीमा र बीमा समितिले भुक्तानी गर्ने व्यवस्था रहेको छ ।

त्यस अनुसार सरकारले पठाएको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानेर बाँकी ४५ प्रतिशत अर्थात ८१ करोड रुपैयाँ भुक्तानीको लागि बीमा समिति, बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनी थप्न गरेर भुक्तानी गर्न लागेको हो ।

बीमा समितिले सरकारले पठाएको एक अर्ब रुपैयाँ र आफ्नो दायित्वमा पर्न आउने रकम बीमक संघलाई पठाएको जनाएको छ । यता बीमा कम्पनीहरुले भने आफ्नो दायित्वमा पर्न आउने रकम जुटाउने र भुक्तानीको विषयमा छलफल गर्दैछ ।

‘बीमा समितिको निर्देशन अनुसार हामी भुक्तानी गर्न तयार छौं । हाम्रो आफ्नो दायित्वमा पर्न आउने रकमको विषयमा बीमा कम्पनीहरु छलफल गर्दैछौं,’ बीमक संघका अध्यक्ष चंकि क्षेत्रीले भन्नुभयो –‘बीमा कम्पनीहरुको बोर्डबाट पारित भएर रकम जुटेपनि धमाधम भुक्तानी हुन्छ ।’

यहि साता भित्रै बीमा कम्पनीहरूको दायित्वमा पर्ने रकम संकलन गरेर अर्को सातादेखि भुक्तानी शुरु हुने उहाँको भनाई छ ।

भुक्तानी गर्न लागिएको एक अर्ब ८१ करोड रुपैयाँ एक लाख दरका भुक्तानी गर्दा १८ हजार १०० जना बीमितले मात्रै पाउने देखिन्छ ।

बीमा समितिको तथ्यांक अनुसार १ लाख ६५ हजार ५९ जना बीमितले १५ अर्ब ८२ करोड २१ लाख रुपैयाँ बराबरको कोरोना बीमा वापत दाबी माग गरेका छन् । त्यसमध्ये ३ अर्ब ५० करोड रुपैयाँ कोरोना बीमा मापदण्ड अनुसार निर्जीवन बीमा कम्पनीहरु, नेपाल पुनर्बीमा कम्पनी, बीमा समिति र बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट भुक्तानी गरिसकेका छन् भने एक अर्ब ४८ करोड १५ लाख रुपैयाँ आफ्नो तवरबाट भुक्तानी गरेका छन् । हालसम्म ५१ हजार ६६९ दाबीका लागि करिब पाँच अर्ब रुपैयाँ चुक्तानी गरेका छन् ।

त्यस अनुसार अझै एक लाख १३ हजार ३९० जना बीमितलाई १० अर्ब ८२ करोड २१ रुपैयाँ भुक्तानी गर्न बाँकी छ । तत्काल एक अर्ब ८१ करोड रुपैयाँ एक लाख दरका भुक्तानी गर्दा १८ हजार १०० जनाले मात्रै पाउने देखिन्छ भने अझै ९५ हजार २९० जना बीमितले भुक्तानी पाउने छैनन् ।

भुक्तानी गर्नुपर्ने रकम थोरै भएकोले बीमा समितिले पीसीआर परीक्षण मितिको आधारमा भुक्तानी दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्