Logo
|
Tuesday 16th April 2024
Logo

epaper

निर्वाचनको भीडभाडले नयाँ भेरियन्ट फैलिनसक्छ, सावधानी अपनाउनू : स्वास्थ्य मन्त्रालय



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचन केन्द्रित कार्यक्रमहरूमा भीडभाड गर्दा कोभिड–१९ को संक्रमण दर बढ्नसक्ने बताउनुभयो ।

उहाँले देशमा कोभिड संक्रमण दर धेरै नभए पनि संक्रमणको अवस्था भने यथावत रहेको उल्लेख गर्नुभयो । प्रवक्ता अधिकारीले भीडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरू पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानी अपनाउनु जरुरी रहेको बताउनुभयो । उहाँले कोभिड–१९ विरुद्धको खोप नलगाएका व्यक्तिलाई भीडभाड हुने ठाउँमा नजान पनि आग्रह गर्नुभयो ।

उहाँले विश्वव्यापीरूपमा कोभिड–१९ को संक्रमण घटेको पनि बताउनुभयो । नेपालमा पनि विगतभन्दा सहज अवस्था रहेको अधिकारीको भनाइ छ । तर, पनि संक्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनाका कारण सावधानी अपनाउनुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।

डा. अधिकारीले देशमा अहिले ६ सयको हाराहारीमा कोभिड–१९ का संक्रमितहरू रहेको बताउनुभयो । ‘कोभिड–१९ संक्रमणको अहिलेको अवस्था हेर्दाखेरी विश्वव्यापी रूपमा केही देशहरूमा संक्रमण बढेको देखिन्छ । प्रायः धेरै ठाउँमा त संक्रमण ओरालो लागेको नै देखिन्छ । सहज अवस्था आएको पनि देखिन्छ । हामी कहाँ विगतको भन्दा सहज अवस्था हुँदै गएको देखिन्छ । तर, नयाँ भेरियन्टहरूको सम्भावना, पुष्टि हुने कुरा, त्यसका बारेमा थप अध्ययन, अनुसन्धान गर्नुपर्ने कुराहरुदेखि राखिएको र कहिलेकाहीँ सन्जोगले अलि जोखिमपूर्ण भेरियन्ट आउँछ की भन्ने कुरामा शतर्क रहनुपर्ने अवस्थाहरू देखिन्छ,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्