Logo
|
Friday 19th April 2024
Logo

epaper

किष्ट शिक्षण अस्पतालद्वारा ५१ जनाको मिर्गौला प्रत्यारोपण



जनस्वास्थ्य सरोकार, काठमाडौं । किष्ट शिक्षण अस्पतालले डेढ वर्षको अवधिमा नै ५१ जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको छ । विगत ११ वर्षदेखि मिर्गौला रोगीहरुलाई हेमोडाइलासिस सेवा प्रदान गर्दै अस्पतालले २०७७ फागुन १८ गते मिर्गौला प्रत्यारोपण कार्यको स्वीकृति पाएको थियो ।

किष्ट शिक्षण अस्पतालले २०७८ वैशाख ८ गते पहिलो मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको थियो । हालसम्म अस्पतालले ५१ जना बिरामीहरुको शतप्रतिशत सफलताका साथ मिर्गौला प्रत्यारोपण गरिसकेको जनाएको छ । यस्तै अस्पतालले गत चार वर्षदेखि विपन्न नागरिकहरुलाई निःशुल्क सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

साथै अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा विस्तारका लागि आफ्नो जनशक्ति एवं आवश्यक पूर्वाधार विकासमा साधन स्रोत जुटाएको छ । मिर्गौला प्रत्यारोपण सेवाका लागि देशभित्रबाट मात्र नभई विदेशमा रहेका नेपाली नागरिकहरु अमेरिका, जापान, डेनमार्क तथा मध्यपूर्वका देशहरुबाट समेत अस्पतालको सम्पर्कमा आई मिर्गौला प्रत्यारोपण गरी आ—आफ्नो काममा फर्किसकेको अस्पतालले जनाएको छ ।

किष्ट अस्पतालको प्रत्यारोपण टोलीमा पूर्णकालीन रुपमा फिजिसियन, सर्जन, एनेस्थेसिया, डेन्टल, कार्डियोलोजिष्ट, प्याथोलोजिष्ट, साइकियाट्रिष्ट, चिकित्सक तथा तालिमप्राप्त नर्सिङसहितको संयुक्त टोली कटिबद्ध रहिरहेको छ । प्रत्यारोपण कार्यका लागि अस्पतालले छुट्टै अंग प्रत्यारोपण विभाग समेत स्थापना गरेको छ । यहाँ प्रत्यारोपण प्रमाणित नेफ्रोलोजिस्टको रुपमा हाल डा सन्तोष कुमार क्षेत्री कार्यरत छन् भने प्रत्यारोपण प्रमाणित सर्जनमा डा नारायण कुमार भुसाल कार्यरत रहनुभएको छ ।

अस्पतालका अनुसार अङ्ग प्रत्यारोपण कार्य आफैँमा जटिल छ भने यससँग जोडिएका अनेकौँ कानुनी जटिलताहरु पनि छन् । मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन तथा नियमावलीले व्यवस्था गरेबमोजिमको कानुनी आधार भए÷नभएको जाँची बुझी प्रत्यारोपणका लागि प्रत्यारोपण स्वीकृति समितिले सिफारिस गर्दछ । प्रचलित कानुनबमोजिम नजिकको नातेदारले आफ्नो अङ्ग दान दिन पाउने हुँदा नातेदार परिवारका सदस्यहरु दाता र ग्रहणकर्ताबीच रगत परीक्षण मेल नखाएमा यस्तै परिस्थितिबाट गुज्रिरहेको अर्को परिवारबीच पारस्परिक सहमति भएमा दुवै बिरामीको एकै साथ प्रत्यारोपण कार्य गर्न सकिने कानुनी प्रावधानबमोजिम किष्ट शिक्षण अस्पतालले यस प्रकारको पेयर एक्सचेन्ज प्रक्रियालाई समेत प्रोत्साहित गरेको छ ।

मिर्गौला प्रत्यारोपण जटिल हुनुका साथै खर्चिलो पनि छ । तथापि किष्ट शिक्षण अस्पतालले प्रत्यारोपणसम्बन्धी विभिन्न शीर्षकहरुमा हदैसम्मको न्यूनतम शुल्क राखी प्याकेजमा सेवा दिँदै आएको जनाएको छ । हाल यस अस्पतालले निर्धारण गरेको प्याकेजको खर्च चार लाख ५० हजार रुपैयाँबाट सुरु हुन्छ । प्रत्यारोपण सेवा सुलभ हुनुका साथै प्रक्रियालाई कसरी सहज र सरल बनाउन सकिन्छ भनेर अस्पतालले छुट्टै विभागको स्थापना गरेको छ ।

बिरामी पहिलोपटक अस्पतालमा आएदेखि चिकित्सकीय परामर्श र कानुनी परीक्षणलाई साथसाथै अगाडि बढाइन्छ । जसका आधारमा प्रत्यारोपणको निर्णय लिन ६, ७ चरणको छलफल भेटघाट र परीक्षणपश्चात् सबै आधारहरु ठीक भएमा बिरामी सम्पर्कमा आएको दिनबाट छिट्टोमा १३ दिनभित्र प्रत्यारोपण गराउने गरिएको अस्पतालले जनाएको छ । यस्तै अस्पतालले मिर्गौला प्रत्यारोपणपछि दाता र ग्रहणकर्ता दुवैलाई नियमित रुपमा फलोअपमा बोलाउने र आवश्यकताअनुसार टेलिमेडिसिन प्रणालीबाट परामर्श दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्