Logo
|
Thursday 25th April 2024
Logo

epaper

चीनमा ६ महिनापछि कोरोना सङ्क्रमितको मृत्यु, ‘व्यापक कोभिड परीक्षण’मा जोड



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीनमा ६ महिनाको अवधिमा कोरोनाभाइरसको सङ्क्रमणका कारण मानिसको मृत्यु भएपछि र सङ्क्रमण दर बढ्न थालेपछि त्यहाँ गम्भीर रूपमा कोभिड१९ परीक्षण बढाइएको छ ।

चीनको राजधानीमा शनिवारदेखि तीन जनाको मृत्यु भइसकेको छ। यससँगै त्यहाँ सङ्क्रमणपछि मृत्यु हुनेको आधिकारिक सङ्ख्या ५,२२९ पुगेको छ।

हालसालै भएका मृत्युको घटनाका कारण दुई करोड एक लाखभन्दा बढी मानिस बस्ने सहरका विभिन्न भागमा पुनः लकडाउन जारी गरिएको छ।

चीनको शून्य कोभिड नीतिविरुद्ध दुर्लभ विरोधहरूका बीच सङ्क्रमितहरूको मृत्यु पुष्टि भएको हो। प्रकोप रोक्ने उद्देश्यले अपनाइएको उक्त विवादास्पद रणनीतिका कारण लाखौँ मानिस घरभित्रै थुनिएका छन् र सङ्क्रमण पुष्टि भएकाहरूलाई जबरजस्ती क्वारन्टीनमा राखिएको छ।

बेइजिङका अधिकारीहरूले यसअघि नै हाइडिआन र चाओयाङ जिल्लाहरूमा पसल, विद्यालय र रेस्टुराँहरू बन्द गरी लकडाउन लागू गरिसकेका छन्।

राजधानी यात्रा गर्नेहरूले पनि आफ्नो भ्रमणको पहिलो तीन दिनसम्म परीक्षण गर्नुपर्ने र उनीहरूको परीक्षण नतिजा नकारात्मक रहेको जनाउ नपाएसम्म भित्रै बस्नु पर्ने नियम छ।

अधिकारीहरूको प्रयासका बाबजुद सङ्क्रमण दर उकालो लागेपछि यो ठूलो देशका अन्य लाखौँ मानिसहरूले पनि लकडाउनको सामना गरिरहेका छन्।

आइतवार त्यहाँ २४,७३० जनामा सङ्क्रमण पुष्टि भयो। उक्त सङ्ख्या गत अप्रिलमा दर्ता भएको सर्वाधिक दैनिक सङ्क्रमणभन्दा थोरै मात्र कम हो।

सोमवार बेइजिङमा मात्रै ३१६ नयाँ सङ्क्रमण पुष्टि भएको रोएटर्स समाचार संस्थाले जनाएको छ। आइतवार यता सङ्क्रमणपछि ज्यान गुमाउनेहरूमध्ये एक जना ८७ वर्षीय वृद्ध हुन्।

बेइजिङको म्युनिसिपल सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका उपनिर्देशक लिउ सियाओफेङले यो अवस्थालाई सहरमा देखिएको सबैभन्दा जटिल र गम्भीर समस्याको रूपमा व्याख्या गरेको जनाइएको छ।

चाइना डेलीका अनुसार एक दिन अघि, एक जना नगरपालिकाका प्रवक्ताले बेइजिङले ूएक गम्भीर र जटिल महामारी रोकथाम र नियन्त्रणको स्थितिू सामना गरिरहेको चेतावनी दिएका थिए।

चीनले आफ्नो कडा शून्य कोभिड नीतिका कारण विश्वको अन्य देशको तुलनामा निकै कम कोरोना सङ्क्रमित मानिसको मृत्यु भएको बताउँदै आएको छ। यद्यपि, वास्तविक मृत्युदर अझै बढी हुन सक्ने ठानिएको छ।

त्यहाँ लकडाउन भएको क्षेत्रमा वा क्वारन्टीनमा रहेका गम्भीर प्रकृतिका बिरामीहरू आपत्कालीन सेवाबाट वञ्चित भएको घटनाहरू दोहोरिएका छन्।

पछिल्लो समय कोभिड नियन्त्रणका लागि जारी प्रतिबन्धका कारण समयमा उपचार हुन नसकेपछि एक बालकको मृत्यु भएको विवरणहरू सार्वजनिक भए। त्यसयता प्रतिबन्धविरुद्ध अनलाइन माध्यमहरूमा आवाज उठिरहेका छन्।

यसै महिनाको सुरुवातमा पश्चिमी सहर लान्झाउमा एक बुबाले आफ्नो छोरालाई अस्पताल पुर्‍याउन ढिला भएपछि कार्बन मोनो अक्साइड नामक विषाक्तका कारण उनको मृत्यु भएको बताएपछि प्रदर्शन भएको थियो। गत अक्टोबर महिनामा हेनान प्रान्तमा एक १४ वर्षीया किशोरीको कोभिड क्वारन्टीनमा स्वास्थ्य अवस्था बिग्रिएपछि मृत्यु भएको बताइएको थियो।

फरक प्रसङ्गमा, हङकङका नेता जोन लीले थाइल्यान्डमा आयोजित शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई भेटेको भोलिपल्ट उनमा कोभिड देखिएको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्