Logo
|
Wednesday 24th April 2024
Logo

epaper

प्रहरीले कारबाहीको कदम चालेसँगै चीनमा शून्य कोभिड नीतिविरुद्धको प्रदर्शन निष्क्रिय



जनस्वास्थ्य सरोकार, काठमाठौँ । चीनमा गत सप्ताहान्तमा सुरु भएको कोभिड प्रतिबन्धविरुद्धका प्रदर्शनहरू अधिकारीहरूले चालेका कारबाहीका कदमसँगै निष्क्रिय भएको ठानिएको छ।

कैयौँ सहरमा उच्च सङ्ख्यामा प्रहरी तैनाथ गरिएको छ र केही भेलाहरू आयोजना नै हुन नपाइकन सकिएका छन्।

विवरणहरूका अनुसार मानिसहरूलाई सोधपुछ गरिनुका साथै उनीहरूका फोनहरू जाँच गरिएको छ।

तर चीनबाहिर विश्वभर कम्तीमा एक दर्जन सहरमा चिनियाँहरूले प्रदर्शन जारी राखेका छन्।

प्रहरी परिचालन
सोमवार बेइजिङमा हुने भनिएको प्रदर्शन मानिसहरू भेला हुने ठाउँलाई सुरक्षाकर्मीले पहिल्यै घेरा हालेपछि हुन सकेन।

साङ्घाईमा मुख्य प्रदर्शन हुने बाटोमा ठूला अवरोधहरू राखिनुका साथै कैयौँलाई पक्राउ गरिए।

दक्षिणी सहर हान्जाउमा सोमवार राति एउटा सानो प्रदर्शनबाट तत्कालै मानिसहरू पक्राउ गरिएपछि त्यो बन्द भएको सामाजिक सञ्जालमा देखा परेका फुटेजमा देखिन्छ जसको आधिकारिकता बीबीसीले भने पुष्टि गर्न सकेको छैन।

तर हङकङमा भने दर्जनौँ प्रदर्शनकारीहरू सहरको केन्द्र र चाइनिज युनिभर्सिटी अफ हङकङमा भेला भएर मुख्य भूमिमा भएका प्रदर्शनप्रति ऐक्यबद्धता जनाएका छन्।

स्वाभाविक कि अस्वाभाविक ?

पछिल्ला वर्षमा अचानक, स्थानीय मानिसहरू कैयौँ कारणसाथ अवज्ञामा उत्रने गरेका छन्।

ती कारणहरू विषाक्त प्रदूषणदेखि गैरकानुनी जग्गा अधिग्रहणसम्म वा प्रहरी नियन्त्रणमै समुदायका कसैमाथि दुर्व्यवहार जस्ता हुने गरेका छन्। तर यसपटक त्यो केही फरक छ।

चिनियाँ मानिसहरूको मनमा यतिखेर एउटा विषय केन्द्रमा छ र बढ्दो रूपमा सरकारको शून्य कोभिड सम्बन्धी प्रतिबन्धहरूबाट दिक्क मानिरहेका धैरैजना त्यसको प्रतिरोधमा उत्रिरहेको देखिन्छन्।

यो सामाजिक दूरी कायम राख्न बनाइएका अवरोधहरू भत्काउनेदेखि सहर र विश्वविद्यालय क्याम्पसमा र ठूला सडक प्रदर्शनका रूपमा प्रकट भएका देखिन्छन्।

राजीनामा माग
साङ्घाईमा एक हुलले चिनियाँ नेता सी जिन्पिङको राजीनामा माग्दै गरेको सुनिनु एक तरिकाले कति आश्चर्यजनक कुरा हो भनेर व्याख्या गर्न समेत कठिन हुन्छ।

कम्युनिस्ट पार्टीका महासचिवलाई यसरी सार्वजनिक रूपमा आलोचना गर्नु यहाँ निकै खतरनाक मानिन्छ। जसका लागि जेल पर्न सकिने जोखिम समेत हुन्छ।

र पनि साङ्घाई स्ट्रीटमा उनीहरू जम्मा भए जहाँ आगलागीबाट १० जना मानिसहरूको ज्यान गएको थियो। र शून्य कोभिड अन्तर्गतका प्रतिबन्धहरूले उद्धार प्रयासमा दखल पुर्‍याएको भनिएको छ।

शक्तिमा रहनुभन्दा ठूलो अर्को कुनै प्राथमिकता नभएको राजनीतिक सङ्गठनका लागि यो आउँदै गरेको ठूलो चुनौती हो।

सरकारले भने शून्य कोभिड नीतिप्रति बढेको असन्तोषलाई निकै कम आकलन गरेको देखिन्छ।

यस नीति स्पष्ट रूपमा राष्ट्रपति सीसँग जोडिएको छ जसले हालै त्यसमा बदलाव नआउने सङ्केत गरेका थिए। बीबीसी

प्रतिक्रिया दिनुहोस्