Logo
|
Friday 19th April 2024
Logo

epaper

नयाँ उपचार विधिबाट हट्यो बेलायतका किशोरीको ‘निको नहुने क्यान्सर’



जनस्वास्थ्य सरोकार, काठमाडौँ । बेलायतमा थेराप्युटिक उपचारबाट एक किशोरीको रक्त क्यान्सर पूर्णरूपमा निको भएको छ ।

‘बेस इडिटिङ’ थेराप्युटिक उपचारबाट बेलायतमा एलिसा नाम गरेकी किशोरीको शरीरबाट क्यान्सर पूर्णरूपमा सफा गरिएको बीबीसीले जनाएको छ ।

यसअघि एलिसाका उपचारका क्रममा ल्युकेमियाका अन्य सबै उपचार असफल भएका थिए । 

त्यसपछि ग्रेट अर्मन्ड स्ट्रिट अस्पतालका डाक्टरहरूले आनुवंशिक इन्जिनियरिङका माध्यमबाट ‘बेस इडिटिङ’ भन्ने विधिको प्रयोग गरेर १३ वर्षीया किशाेरी एलिसाका लागि नयाँ औषधि बनाए ।

त्याे औषधि प्रयोग गरेको छ महिनापछि उनको शरीरमा क्यान्सर पाइएको छैन । यद्यपि अझै पनि उनमा क्यान्सर फर्किन्छ कि भनेर डाक्टरहरूले निगरानी गरिरहेका छन् । 

यसअघि एलिसाको क्यान्सर निको नहुने विश्वास गरिएको थियो । किमोथेरापी र बोन–म्यारो ट्रान्सप्लान्ट गरेपछि पनि उनको शरीरमा केही फरक देखिएको थिएन ।

त्यसपछि डाक्टरहरूले बेस इडिटिङ विधिको प्रयोग गरेका थिए जसको आविष्कार छ वर्षअघि भएको थियो । नयाँ विधिबाट किशोरीको उपचार सफल भएको र क्यान्सर रोगको निदानमा यो ठूलो उपलब्धि भएको खबरमा उल्लेख छ ।

बेस अर्थात् आधारहरूलाई जीवनका आधारभूत तत्त्व मान्ने गरिन्छ । बेस इडिटिङले वैज्ञानिकहरूलाई आनुवंशिक कोडको निश्चित भागमा केन्द्रित हुन र एउटा बेसको मोलिक्युलर संरचनालाई परिवर्तन गर्न साथै त्यसलाई अर्कोमा रूपान्तरण गर्न तथा आनुवंशिक निर्देशनहरू परिवर्तन गर्न दिन्छ । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्