Logo
|
Friday 19th April 2024
Logo

epaper

कोशी अस्पतालमा पाँच सय शय्याको अत्याधुनिक भवन बन्ने



जनस्वास्थ्य सरोकार, विराटनगर । विराटनगरको कोशी अस्पतालमा पाँच सय शय्याको अत्याधुनिक भवन बन्ने भएको छ । अस्पतालपरिसरमा बिहीबार आयोजित एक कार्यक्रमबीच सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले बन्न लागेको नयाँ भवनको संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री चौधरीले निर्माणको जिम्मा पाएको केसी कन्सस्ट्रक्सनलाई समयमै निर्माणकार्य सक्न निर्देशन दिनुभयो ।

कोशी अस्पतालको उन्नतिले पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पुग्ने बताउँदै मन्त्री चौधरीले भन्नुभयो– ‘स्वास्थ्य क्षेत्र भन्न बित्तिकै भौतिक निर्माण मात्रै या आधुनिक स्वास्थ्य उपकरणको सजिसजाउ मात्र होइन, स्वाथ्यकर्मीको व्यवहार पनि हो । स्वास्थ्यकर्मीलाई बिरामीले भगवान् ठान्ने गर्छन् । तसर्थ उहाँहरूले बिरामीसँग राम्रो व्यवहार, मीठो बोली बचन गर्नु जरुरी छ ।’

संघीय आयोजना कार्यान्वयन इकाइ विराटनगरका आयोजना प्रमुख गणेश बहादुर महर्जनले भवन सुविधासम्पन्न र अत्याधुनिक हुने बताउनुभयो । ‘दुईतले बेसमेन्टसहित भवन आठतले हुनेछ । तीनवटा इमर्जेन्सी भ¥याङ, बेड लिफ्ट, डक्टर तथा सेवाग्राहीका लागि छुट्टाछुट्टै लिफ्ट, वातावरणमैत्री कोठाहरू, कुरुवा कक्ष, भूकम्पप्रतिरोधी भवन बन्नेछ’, आयोजना प्रमुख महर्जनले भन्नुभयो ।

तीन वर्षभित्र निर्माणसम्पन्न हुने बताइएको उक्त भवनको कुल लागत दुई अर्ब १७ करोड ६९ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्