Logo
|
Wednesday 1st February 2023
Logo

epaper

कौडीमा बिक्री हुन्छन् कर्णालीका जडीबुटी



जनस्वास्थ्य सरोकार, सुर्खेत । जडीबुटीको प्रचूर सम्भावना बोकेको कर्णाली प्रदेश त्यसको उपयोग गर्न नसक्दा विकासको हरेक दृष्टिबाट पछाडि धकेलिएको छ। जडीबुटी खेती प्रवद्र्धन गरेर कर्णालीमा उत्पादित जडीबुटीलाई व्यवस्थितरुपमा बिक्रीवितरण गर्ने हो भने पनि जडीबुटीबाटै कर्णालीको आर्थिक समृद्धि सम्भव रहेको विभिन्न अध्ययनबाट प्रष्ट हुन्छ। अनेकौँ किसिमका जडीबुटी उत्पादन हुने यो प्रदेश जडीबुटीको राजधानीका रुपमा चिनिन्छ।

सरकारले कर्णालीलाई जडीबुटीको क्षेत्र भनेर केही वर्षअघि नै घोषणा गरिसकेको भए पनि त्यसको उपयोग गर्नेतर्फ ठोस काम हुन सकेको छैन। यद्यपि, जडीबुटीको पकेट क्षेत्र पहिचान, स्थायी नर्सरी निर्माण, जडीबुटी प्रजातिको प्राथमिकीकरण, जडीबुटी बिरुवा उत्पादन तथा खेती विस्तार गर्ने काम पनि भएका छन्। वन विकास गुरुयोजनामा पनि आर्थिक समृद्धिका लागि जडीबुटीको प्रवद्र्धन गर्ने उल्लेख छ।

नेपालमा हाल सात सय प्रजातिका जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएका छन्। वनस्पति विभागले सात हजार किसिमका फूल फुल्ने वनस्पतिमध्ये ७०० प्रजातिका वनस्पति जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएको बताएको छ। विभागका अनुसार औषधिका रुपमा प्रयोग हुने जडीबुटीमध्ये सबैभन्दा बढी कर्णाली क्षेत्रमा जडीबुटी उत्पादन हुने गरेका छन्।

वनस्पति विज्ञहरुका अनुसार कर्णालीमा हावापानी तथा जलवायु राम्रो र मानवीय चाप कम भएकाले धेरैमात्रामा जडीबुटी उत्पादन हुने गरेका छन्। यहाँबाट ७९ प्रकारका जडीबुटी निर्यात गरिन्छ। कर्णालीमा १४७ जातको जडीबुटी पाइने अनुमान गरिए पनि प्रशोधन भण्डारणका लागि नेपालगञ्ज लैजानुपर्ने बाध्यता छ।

कच्चा पदार्थका रुपमा जडीबुटी विदेश निर्यात

यहाँका अधिकांश जडीबुटी बाह्य देशमा निर्यात हुँदै आएको छ। सरकारी तथ्याङ्कअनुसार वार्षिक रुपमा करिब १२ हजार मेट्रिक टन जडीबुटी कर्णालीबाट निर्यात हुँदै आएको छ। ती सबै जडीबुटी प्रशोधनबिना नै कच्चापदार्थका रुपमा निर्यात हुने गरेको कर्णाली प्रदेश वन निर्देशनालयले जनाएको छ। कर्णालीले आर्थिक वर्ष २०७८÷७९ मा जडीबुटीतर्फ कूल रु तीन करोड ३६ लाख नौ हजार ५८८ राजस्व सङ्कलन गरेको प्रदेश वन निर्देशनालयका निर्देशक गोविन्दप्रसाद दाहाल बताउँनुहुन्छ ।

कच्चापदार्थका रुपमा मात्र बहुमूल्य जडीबुटी प्रदेशबाट बाहिर निर्यात हुँदा यसबाट जति लाभ लिन सक्नुपर्ने हो त्यसको निकै थारै मात्र प्राप्त भएको उहाँको भनाइ छ। प्रदेशमै कच्चापदार्थको प्रशोधन गरी तयारी सामग्री अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी मूल्यमा मात्र निर्यात गर्नसके आम्दानीको थप स्रोतसमेत प्राप्त हुन सक्दछ। वीरेन्द्रनगरमा सुगन्धित तेल उत्पादन गर्ने उद्देश्यले स्थापना भएको उद्योग ‘बायो–कर्णाली एरोमा’ले खेर गएको जडीबुटीको उपयोग गरी राम्रो आम्दानी गर्न सकेको उदाहरणबाट पनि यो तथ्य पुष्टि गर्दछ।

कर्णालीमा उपलब्ध जडीबुटीको पात, काण्ड तथा जरालाई वास्पीकरण विधिबाट तेल उत्पादन गरी उद्योगले युरोपको बजारमा निर्यातसमेत सुरु गरिएको छ। यस उद्योगले उत्पादन गरेका १५ मिलिलिटर झोल भएको सुगन्धित तेल अहिले स्पेन र जापानमा निर्यात हुने गरेको छ। ती सुगन्धित तेललाई डिब्बामा प्याकेजिङ गरिएको छ। ‘लेमन ग्रास, युकलिप्टस र क्याम्फर’ नाम गरेका फरकफरक चार वटा उत्पादनलाई बजार परीक्षणका लागि स्पेन र जापान पठाइएको उद्योगका सञ्चालक राजेन्द्र विष्टले जानकारी दिनुभयो।

‘प्रत्येक उत्पादन करिब ६० वटाजति हामीले बाहिर पठाएका छौँ, यी सामग्रीका बारेमा राम्रै प्रतिक्रिया पाएका छौँ’, उहाँले भन्नुभयो ‘अब भने धेरैमात्रामा यसको उत्पादन हुन्छ होला।’ यी उत्पादनलाई सौन्दर्य, सुगन्ध चिकित्सा, स्वच्छ–सरसफाइका क्षेत्रमा प्रयोग गर्न सकिने विष्टले जानकारी दिनुभयो। सामान्य आँखाले हेर्नुपर्दा यी उत्पादनहरु अन्य तरल पदार्थसँग मिश्रण गरी प्रयोग गर्ने हो। खासगरी युरोपको बजारमा योग उपचारलगायतका क्षेत्रमा यस्ता अर्गानिक उत्पादनको माग बढी हुने विष्ट बताउँनुहुन्छ । जडीबुटीको प्रयोगले धूप, छालामा लगाउने ‘क्रिम’ लगायतका क्षेत्रमा उद्योगले अन्य उत्पादन निर्माण प्रक्रियासमेत सुरु गरेको उहाँले जानकारी दिनुभयो।

कच्चापदार्थ र नीतिगत असहजता वीरेन्द्रनगर नगरपालिका नै स्थायी ठेगाना रहेका उद्योग सञ्चालक विष्ट जैविक रसायनमा स्नातकोत्तर गरेका युवा हुनुहुन्छ। कोभिड–१९ सङ्क्रमणकालीन समयमा बाहिरी जिल्ला र देशबाट आउनुअघि नै वीरेन्द्रनगरमा सेनिटाइजरलगायतको उत्पादन गर्नुभएको थियो। यसतर्फ स्वास्थ्य सरसफाइ सामाग्री उत्पादनका लागि उहाँको अर्को छुट्टै उद्योग सञ्चालनमै रहेको छ। कर्णालीबाट अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने उद्देश्यले उहाँले २०७९ वैशाखमा बायो कर्णाली एरोमा उद्योग सञ्चालनमा ल्याउनुभयो।

आफ्नै प्रयोगशालामा परीक्षण गरी उहाँले ‘भलेरियन, लेमन ग्रास, युकलिप्टस र क्याम्फर’ नामक चारवटा सामग्री उत्पादन गर्दै आए पनि उद्योगलाई आवश्यक कच्चापदार्थ आयातको समस्या छ। ‘झन्झटिलो प्रक्रियाले उद्योगका लागि आवश्यक जडीबुटी ल्याउनै समस्या छ।’ विष्टले भन्नुभयो ‘कच्चापदार्थका लागि एक वर्ष पहिले वन कार्यालयमा निवेदन दिनुपर्छ।’ उद्योगले चाहेका बेला कच्चापदार्थ ल्याउनै समस्या हुन्छ। कर्णालीमा व्यावसायिक जडीबुटी खेती सुरु भए पनि किसानले निर्वाधरुपमा आफ्ना उत्पादन बिक्री गर्नसक्ने अवस्था नहुँदा त्यसको प्रत्यक्ष असर उद्योगलाई परेको छ।

उहाँले भन्नुभयो, ‘२५ केजी जडीबुटी ल्याउन त निकै गाह्रो छ। उद्योगमैत्री नीति छैन, सबै ठाउँमा कागजपत्र पेस गर्नुपर्छ, निकै झन्झट छ।’ कर्णालीमा जडीबुटी परीक्षण प्रयोगशालाकोसमेत अभाव छ। अन्तर्राष्ट्रिय बजारमा पु¥याउने उत्पादनका लागि प्रयोगशाला परीक्षण आवश्यक छ।

त्यसका लागि कर्णालीमा रहेको उद्योगले काठमाडौँ नै धाउनुपर्ने हुन्छ। यसले उत्पादन लागतसमेत बढ्न जाने र उत्पादित सामग्रीले अन्तर्राष्ट्रिय बजार मूल्यसँग प्रतिस्पर्धा गर्दा समस्या हुने उनी बताउँछन्। तेस्रो मुलुक निकासी गर्दा अपनाउनुपर्ने मापदण्ड पूरा गर्नै कठिन भएको उहाँको गुनासो छ। ‘जडीबुटी सङ्कलनदेखि प्याकेजिङ र भण्डार गर्दासम्मको प्रक्रियामा धेरै कुरामा अन्तर्राष्ट्रियरुपमा तोकिएको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ’, उद्योग सञ्चालक विष्टले भन्नुभयो ।

कोभिडपछि बढ्यो जडीबुटीको महत्व

कर्णालीका गाउँगाउँ बस्ती बस्तीका कतिपय क्षेत्र जडीबुटी उत्पादनको प्रचूर सम्भावना बोकेका छन्। ग्रामीण भेगका कैयौँ खेतहरु बाँझा छन्। झाडी र बुट्यानले ढाकेका यहाँका भू–भागमा स्थानीय सरकारसँग समन्वय गरेर जडीबुटी खेती गर्नसके विश्वबजारमा मागअनुसार निर्यात बढाउन सकिने अवस्था रहेको जडीबुटी व्यवसायीहरु बताउनुहुन्छ । विश्व बजारमा नेपाली जडीबुटीको प्रचारप्रसारसँगै माग पनि बढेको छ। तर माग अनुसार निर्यात हुन सकेको छैन। अझै पनि माग बढ्न सक्ने सम्भवना छ।

कोभिडपछि अझै जडीबुटीको महत्व बढेको छ। कतिले रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि जडीबुटीको प्रयोग गर्न थालेपछि जडीबुटीको निर्यात बढाएको जडीबुटी व्यवसायीहरु बताउँछन्। पछिल्लो समय युरोप, चीन, भारतलगायतका मुलुकमा औषधिजन्य नेपाली जडीबुटीको माग बढेको छ। अन्तर्राष्ट्रिय बजारमा स्वदेशी जडीबुटीको माग बढिरहेकाले आगामी दिनमा जडीबुटी निर्यातबाट मुलुकले आर्थिक समृद्धिमा फड्को मार्नसक्ने उद्योग सञ्चालक विष्टको दाबी छ। यसका लागि नीतिगत सुधारको खाँचो रहेको उहाँको भनाइ छ।

जडीबुटी व्यवसायीका कोभिड–१९ पछि अझै जडीबुटीको महत्व बढेपछि माग पनि ह्वात्तै बढेको छ। माग बढेसँगै जटामसीलगायतको बजार मूल्य बढ्दै गएको छ। कर्णालीस्थित हुम्ला जुम्लाको हिमाली भेगमा जटामसीको उत्पादन बढी हुने गर्छ। रिट्टा टिमुर, तेजपातजस्ता जडीबुटी कच्चापदार्थका रुपमा भारतमा बढी जाने गरेको छ। पछिल्लो समय टिमुरको माग तेस्रो मुलुकमा पनि बढिरहेको तथ्याङ्कले देखाउँछ।

‘जडीबुटीमा लगाइएको झन्झटलो प्रावधान हटाउन जरुरी छ’, विष्टले थप्नुभयो, ‘सरकारले उत्पादन बढाउने नीति लिनसके निर्यात अझै बढ्न सक्छ।’ जडीबुटी व्यवसायीले भने सरकारले नै जडीबुटी प्रवद्र्धनमा चासो नदेखाएकाले मागअनुसार विदेश निर्यात गर्न नसकिएको दाबी गरिरहेका छन्। विष्ट भन्छन्, ‘अब बढ्दो मागअनुसार आपूर्ति गर्न उत्पादन बढाउनुपर्छ। भूगोलअनुसार उत्पादन हुने जडीबुटी पहिचान गरेर स्थानीय निकायले यसलाई प्रोत्साहन गर्नुपर्छ। हरेक स्थानीय तहले आफ्ना क्षेत्रमा उत्पादन हुने वा हावापानीअनुसार कस्ता किसिमको जडीबुटी उपयुक्त हु्न्छ त्यो अनुसार उत्पादन गर्न सक्नुपर्छ।’

कर्णालीबाट कस्ता जडीबुटी निर्यात हुन्छन्

अनेकौँ किसिमका जडीबुटी उत्पादन कर्णालीका पहाडी तथा हिमाली जिल्लाबाट धेरै मात्रामा जडीबुटी निर्यात भएको देखिन्छ। प्रदेश वन निर्देशनालयको तथ्याङ्कअनुसार यहाँबाट निर्यात हुने ७९ प्रकारका जडीबुटीमा अत्तीस, अमलवेद, अमला, अल्लो, अल्लो धागो, अल्लोको बोक्रा, कराचुल्ठे, काकरसिङ्गे लगायतका जडीबुटी निर्यात हुँदै आएका छन्।

यसैगरी काउलो (दाना/बोक्रा), कालो काठको दाना, कालो मसुली, कुट्की, कुरिलो, कुरिलोको जरा, खिरौला, गिठी ९बोक्रा०, गुच्ची च्याउ, गुजर गानो, गुडमार, गुराँसको फूल, गुर्जो, गोकुलधुप, घोडताप्रे, घोडा मच्चा, चिउरी, चिराइतो, चुत्रो÷चुत्रोको बोक्रा, जटामसी, टिमुर, ठटेला/ढटेलो, डालेचुक, ढडेलमेलगायतका जडीबुटी पनि निर्यात हुने गरेको छ।

कर्णालीबाट तीगेडी, तीतेपाती, तेजपात, तेलाली काठ/फुरु (पीस), दालचिनी, धूपीपात (बोक्रा/गेडा), पदमचाल, पानी अमला, पावन बोक्रा, पाषण वेद, बज्रदन्ती, बाँस (घना), बायोजडी, बुकीफुल, बोझो/बोझोको जरा, भिर मह, भुतकेश, भृंगराज, भोजपत्र, मइन (लाहा), मजिठो, मह, यार्सागुम्बा, रातो च्याउ जस्ता जडीबुटीहरु विभिन्न देशमा निर्यात हुँदै आएको छ।

यस्तै रिठ्ठा, लोक्ता, वन आलु, वन प्याज, वन लसुन, विष, विषजरा, विषफेज, शिलाजीत, सजिवन, सतावरी, सतुवा, सात गाठे, साधारण च्याउ, सिल्टीमुर, सुगन्धवाल, सुनपाती, सिस्नु (पात/डाँठ/पाउडर/जरा), सेतकचिनी, सेतो मसुली, सोमलता, स्लेटपत्थर र हर्रोलगायतका जडीबुटी कर्णालीबाट निर्यात हुँदै आएको प्रदेश वन निर्देशनालयले जनाएको छ।

तालिम र अनुदानको आवश्यकता

अझै पनि पुरातन कृषि प्रणालीमै धेरै कृषकहरु आश्रित छन्। बिहान खायो बेलुकी के खाउँ भन्ने अवस्था छ। राम्रो कृषि उत्पादन नहुने क्षेत्रमा जडीबुटी खेती विस्तार गर्ने नीति लिनु आवश्यक रहेको जडीबुटी व्यवसायीहरु बताउँछन्। कतिपय कृषकहरुले चाहेर पनि जडीबुटी खेती गर्न सकिरहेका छैनन्।

जडीबुटी उद्योगी विष्टका अनुसार धेरै कृषकलाई जडीबुटीको बारेमा थाहा छैन। उहाँ भन्नुहुन्छ, “कसरी जडीबुटी खेती गर्ने ? कुन समयमा उत्पादन हुन्छ ? भन्ने विषयमा कृषकलाई थाहा नै छैन। भूगोल अनुसार उत्पादन हुने जडीबुटीको खेती गर्नका लागि सरकारले कृषकलाई आवश्यक तालिम दिएर दक्ष बनाउनुपर्छ।

यसले जडीबुटी खेतीलाई आधुनिकीकरण गर्न सकिन्छ।” विश्वबजारमा जडीबुटीको माग बढिरहेका बेला नेपाली कृषकले यसको उत्पादन बढाउनसके मुलुक जडीबुटीमा आत्मनिर्भर बन्न सक्नेछ। जडीबुटीको निर्यात अझै बढाउन उत्पादनमा जोड दिनुपर्ने उहाँको तर्क छ। रासस

प्रतिक्रिया दिनुहोस्