Logo
|
Sunday 5th February 2023
Logo

epaper

संसारभरका पुरुषहरुमा शुक्रकीटको मात्रा निरन्तर घट्नुको कारण के हो ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पुरुषको वीर्यमा हुने शुक्रकीटको औसत मात्रा विगत ५० वर्षमा ५१% ले घटेको बताइएको छ। इजरेलस्थित हीब्रू विश्वविद्यालय तथा अमेरिकाको माउन्ट साइनाई स्कूल अफ मेडिसिनले हालै गरेको अनुसन्धानबाट प्रकाशमा आएको यो एक प्रमुख तथ्य हो।

अनुसन्धानकर्ताहरूका अनुसार सन् १९७० ताका एक मिलिलिटर वीर्यमा औसत १० करोड १० लाखजति प्रजनन क्षमतायुक्त कोष अर्थात् शुक्रकीट हुन्थे भने अहिले त्यो मात्रा घटेर ४ करोड ९० लाखमा आइपुगेको छ।

सङ्ख्या मात्र नभई शुक्राणुको गुणस्तरमा पनि ह्रास आएको प्रमाण भेटिएको छ। महिलाको डिम्बभित्र प्रवेश गर्न सक्षम शुक्रकीटको सङ्ख्या पनि पछिल्ला दशकहरूमा घटेको छ।

“सबभन्दा अनौठो त हामीले शुक्रकीटको गतिशीलताको ह्रासमा देखेका छौँ। यो क्षमताको अभावमा निषेचनको सम्भावना घट्छ,” ब्रजिलिएन असोसिएशन अफ असिस्टिड रिप्रोडक्शनका उपाध्यक्ष तथा यूरोलजिस्ट र एन्ड्रोलजिस्ट मोएसर राफाएल राडाएलीले भन्नुभयो ।

निरन्तर भइरहेको ह्रासले स्वास्थ्यविज्ञहरू चिन्तित बनेका छन्। “यो चिन्ताजनक विषय हो किनभने यो गिरावटको गति बढिरहेको छ। कहाँ पुगेर टुङ्गिन्छ भन्न सकिँदैन,” ब्रजिलिएन सोसाइटी अफ यूरोलजीको एन्ड्रोलजी विभागका संयोजक एड्वार्डो मिरान्डाले भन्नुभयो ।

त्यसमाथि पुरुषहरूको शुक्रकीटको मात्रा खस्किने दर पछिल्ला वर्षमा झन् बढेको छ। इजरेल र अमेरिकामा गरिएको सोही अनुसन्धानका अनुसार सन् १९७० र १९९० को दशकबीच शुक्रकीटको मात्रा खस्किने दर प्रतिवर्ष १.१६% रहेकोमा सन् २००० को दशक सुरु हुँदै गर्दा त्यो दर बढेर २.६४% पुग्यो। अर्थात् त्यो गिरावट दोबरले बढ्यो।

अनि यो संसारभरि नै देखिएको छ – सबै महादेशमा मानिसको शुक्रकीटको मात्रा घट्दो छ। युरोप, अफ्रिका, तथा मध्य र दक्षिण अमेरिकामा यो दर अन्यत्रभन्दा धेरै छ।

किन यसो भइरहेको छ त? विज्ञहरूले कम्तीमा पाँचवटा कारण उल्लेख गरेका छन्। खुसीको कुरा के भने ती सबैको निराकरण सम्भव छ।

१. मोटोपना

शरीरमा बढ्ने हरेक अतिरिक्त किलोग्रामले शुक्रकीटलाई हानि हुने खालका परिवर्तनहरू गराउँछ। बोसो भण्डारण गर्ने एडिपोज तन्तुले सुजन गराउने तत्त्व निष्काशन गर्छ जसले पुरुषमा शुक्रकीट उत्पादनका निम्ति सबभन्दा महत्त्वपूर्ण मानिने टेस्टस्टरोन होर्मोनलाई प्रभावित गर्छ।

मोटोपना, निष्क्रिय जीवनशैली अनि असन्तुलित खानपानले शुक्रकीट उत्पादनमा असर गर्छ

मिरान्डाका अनुसार अधिक तौलले ‘अक्सिडेटिभ’ तनाव पनि निम्त्याउँछ जसले शरीर विभिन्न प्रकारका कोषमा हानि पुर्‍याउँछ।

“साथै, मोटोपना भएका व्यक्तिको जननेन्द्रियवरपर धेरै बोसो हुन्छ जसले शुक्रकीटलाई धेरै नराम्रो असर गर्छ,” उहाँले भन्नुभयो ।

पुरुषका प्रजनन क्षमतायुक्त कोषहरूको उत्पादन अनि सञ्चय गर्ने अण्डकोष शरीरको तापक्रमभन्दा १ देखि २ डिग्री सेल्सीअस कम तापक्रममा रहनुपर्छ। त्यसैले अण्डकोष शरीरबाहिर रहने गर्छ। बोसो तत्त्व बढ्दाखेरि त्यसले जननेन्द्रियको तापक्रम पनि बढ्छ र त्यसले तिनको कार्यक्षमता प्रभावित हुन्छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरिका पुरुषमध्ये ३९ प्रतिशतको तौल आवश्यकताभन्दा बढी छ भने ११ प्रतिशत मोटोपनाबाट पीडित छन्। यो तथ्याङ्कले पनि पछिल्लो पाँच दशकमा शुक्रकीटको मात्रा किन घटिरहेको छ भन्ने कुरा बुझाउन सहयोग गर्छ।

२. दुर्व्यसन

मदिरा, सुर्ती, भेपिङ, गाँजा, कोकेन अनि ‘एनाबोलिक स्टेरोइड’ … यी सबैबीचको समानता तपाईँलाई थाहा छ? यी सबैले पुरुषको शुक्रकीटको गुणस्तरमा प्रभाव पार्छन्।

“यीमध्ये केही पदार्थले शुक्राणु उत्पन्न गराउने कोषिकाहरूलाई प्रत्यक्ष रूपमै हानि पुर्‍याउँछन्,” मिरान्डाले भन्नुभयो ।

अन्य पदार्थले अण्डकोषलाई क्रियाशील पार्न जिम्मेवार होर्मोन उत्पादनमा असर पार्दै अप्रत्यक्ष रूपमा हानिकारक कार्य गर्छन्।

विशेषज्ञहरूले सबैभन्दा बढी दिने उदाहरण चाहिँ टेस्टस्टरोन प्रतिस्थापनका लागि भनेर मांसपेशी बढाउन व्यापक रूपमा प्रयोग गरिने चक्की, जेल र सुईहरू भएको औँल्याएका छन्।

”पछिल्ला वर्षहरूमा यसको बजार व्यापक र डरलाग्दो रूपमा बढेको छ,” राडाएलीले भन्नुभयो ।

चिकित्सकका अनुसार जब कुनै कारणबिनै यो होर्मोनलाई प्रतिस्थापन गरिन्छ, शरीरले यसलाई प्राकृतिक रूपमा उत्पादन गर्नुपर्ने आवश्यकता नरहेको ठान्छ। अनि यसको प्रभाव शुक्रकीटको मात्रामा पर्न जान्छ।

३. यौनाङ्गबाट सर्ने सङ्क्रमण

क्लमिडिया र गोनोरियाजस्ता रोगहरू ब्याक्टेरियाको सङ्क्रमणबाट हुन्छन्। तिनले यसले ‘एपिडिडिमिस’ मा सुजन गराउन सक्छन्। यो भाग अण्डकोषसँग जोडिएको हुन्छ र यसमा शुक्रकीट सङ्कलित भएर बसेको हुन्छ। त्यसैले त्यहाँ कुनै प्रभाव पर्दा शुक्रकीटको अस्तित्वमा जोखिम निम्तिन्छ।

सन् २०२० मा महिला र पुरुष दुवैमध्ये १२ करोड ९० लाख क्लमिडियाका अनि ८ करोड २० लाख गोनोरियाका नयाँ बिरामीहरू पाइएको विश्व स्वास्थ्य सङ्गठनले अनुमान गरेको छ।

यसमा राडाएलीले तेस्रो जीवाणु पनि थपेका छन्: ह्यूमन पापिलोमाभाइरस जसलाई एचपीभी भनेर पनि चिनिन्छ।

“यसले शुक्रकीटको उत्पादन वा त्यसको डीएनएमा समेत असर गर्ने थाहा भएको छ,” उहाँले भन्नुभयो ।

४. काखमा कम्प्युटर

सामान्यतया पुरुषको अण्डकोष शरीरको तापक्रमभन्दा १ देखि २ डिग्री सेल्सीअसले कम हुनु पर्छ। पछिल्ला दशकहरूमा भएका अध्ययनका अनुसार काखमा ल्यापटप वा नोटबुक राखेर प्रयोग गर्नाले शुक्रकीट उत्पादनमा थप खतरा पैदा गर्छ।

त्यसको कारण ती उपकरणको ब्याटरीको तातो हो। यसले शुक्रकीटलाई प्रभाव पार्छ। मिरान्डाका अनुसार उच्च तापमानमा गरिने गतिविधि -लामो समय लगाएर तातो पानीमा नुहाउनु वा ‘साउना’मा बस्नुले पनि प्रजनन क्षमतामा समस्या पार्न सक्छ।

काखमा ल्यापटप राख्दा शुक्रकीटलाई हानि पुग्न सक्छ

प्रविधिसँग जोडिएको अर्को खतरा पनि छ। चिकित्सकहरूले ‘विद्युत्-चुम्बकीय तरङ्ग’,टेलिफोन ‘सिग्नल’ अनि ताररहित इन्टरनेटका सम्भावित नकारात्मक प्रभावको पनि चर्चा गरेका छन्।

प्रयोगशालामा गरिएको प्रयोगले वाईफाई अनि विद्युत्-चुम्बकीय तरङ्गले शुक्रकीटमा प्रभाव पार्ने देखाउँछ,” उहाँले भन्नुभयो ।

“तर यी प्रविधिहरूले यी कोषिकाहरूलाई साँच्चै हानि गर्छ कि गर्दैन भन्ने निश्चित हुन अझै सम्भव छैन।”

५. एन्डक्रिन अवरोधकहरू

एन्डक्रिन ग्रन्थिहरूले होर्मोन उत्पादन गर्छन्। विशेषज्ञहरूले एन्डक्रिन अवरोधक भनेर चिनिने विषाक्त यौगिकहरूको बारे पनि चर्चा गरेका छन्। यो सूचीमा वायुमण्डलमा फेला परेका प्रदूषक तत्त्वका साथै प्लास्टिक र कीटनाशकहरू समाविष्ट छन्।

यी अणुहरूको संरचना हाम्रो शरीरको होर्मोनसँग मिल्दोजुल्दो छ जसकारण यी कोषिकाका रिसेप्टर अर्थात् ग्रहण गर्ने भागमा मिसिन सक्छन्। त्यसो हुँदा अवाञ्छित र अनपेक्षित प्रक्रियाहरू सुरु हुनसक्छन्। एउटा पछिल्लो अध्ययनले यसले पुरुषहरूको प्रजनन क्षमतामा प्रभाव पार्ने देखाएको छ।

“तर हामीलाई अझै पनि यो समस्या कुन हदसम्म छ निश्चित रूपमा थाहा छैन र यो निर्धारण गर्न धेरै अध्ययनहरू भइरहेका छन्,” राडाएलीले भन्नुभयो ।

बाँझोपन बढिरहेको छ

शुक्रकीट घट्नुको पर्यावरणीय र व्यावहारिक कारणबाहेक अन्य दुई अन्तर्निहित कारण पनि छन्। यीमध्ये पहिलो आनुवंशिक समस्या हो। बच्चा पाउन गाह्रो हुनुको १० देखि ३० प्रतिशत कारण पुरुषको डीएनएसँग सम्बन्धित रहेको अनुमान गरिएको छ।

पछिल्ला वर्षहरूमा कम गुणस्तरका शुक्रकीटको मात्रा बढेको छ

अर्को कारण उमेर हो। पुरुषहरू ढिला बाबु बन्न चाहेकाले पनि समस्या देखिएको बताइएको छ।

“प्रजनन क्षमता जीवनभरि घट्दै जान्छ भन्ने हामीलाई थाहा छ। पुरुषहरूमा हुने यस्तो कमी महिलामा जति स्पष्ट रूपमा त देखिँदैन तर शुक्रकीट उत्पादन गर्न महत्त्वपूर्ण ठानिने होर्मोनमा भने कमी आउँछ,” उहाँले भन्नुभयो ।

पाँच वर्षमा शुक्रकीटको मात्रा ५१% ले घटेको छ। यो दर दुई दशकमा झन् बढ्दै जाँदा यो अङ्क शून्यको नजिकै पो पुग्ला कि?

किनभने यो दर कायम रहेमा सन् २०५० सम्म त झन्डै शून्य पुग्न सक्छ। तर त्यस्तो विकराल अवस्था नआउने मिरान्डाको अपेक्षा छ।

“अवस्था खराब त हुँदै जाला तर कुनै बिन्दुमा पुगेपछि यो स्थिर हुन्छ – सम्भवतः नयाँ प्रविधिको सहायतामा,” उनी अनुमान गर्छन्।

अब के गर्ने?

सन्तानको चाहना भएका पुरुषहरूले आफ्नो जीवनशैलीमा परिवर्तन गरेर बुवा बन्ने सम्भावना बढाउन सक्छन्। जीवनशैली परिवर्तनमार्फत् उनीहरूले अण्डकोषमा कुनै हानि भएको भए सुधार गर्न सक्छन्।

उदाहरणका लागि – उनीहरूले सन्तुलित आहार गरेर वजन घटाउन सक्छन्। नियमित रूपमा शारीरिक गतिविधि बढाउनु, मदिरा सेवनधूमपान अनि अन्य औषधिको प्रयोग घटाएर प्रजनन सम्भावना बढाउन सक्छन्।

यदि गर्भाधान नगर्ने उद्देश्यले यौनानन्दका लागि मात्र सम्भोग गर्ने हो भने कन्डम प्रयोग गर्नु उचित हुन्छ। त्यसो गर्दा क्लमिडिया र गोनोरियाजस्ता सङ्क्रमणबाट जोगिन सकिन्छ।

किशोरावस्थाको प्रारम्भिक चरणमा एचपीभीको खोप लिने व्यक्तिहरू पनि यो भाइरस र यसले शरीरमा पार्ने असरहरूबाट बढी सुरक्षित हुन्छन्।

अनि जीवनशैलीमा गरिएका यी सबै परिवर्तनपछि पनि बच्चा पाउन गाह्रो भए चिकित्सकसँग सल्लाह लिनु उपयुक्त हुन्छ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विशेषज्ञको सहयोग लिने समय महिलाको उमेरमा निर्भर हुन्छ।

“यदि महिलाको उमेर ३५ वर्षभन्दा कम छ भने दम्पतीले प्रजनन हुने उच्च सम्भावना भएको समय ख्याल गरेर हप्तामा तीन पटक यौन सम्पर्क गर्नुपर्छ। यस्तो प्रयास एक वर्षसम्म गर्नुपर्छ,” मिरान्डाले भन्नुभयो ।

यदि महिलाको उमेर ३५ वर्ष नाघिसकेको छ र छ महिनाभन्दा लामो समयसम्म गर्भधारण गर्न गाह्रो भएको छ भने यसलाई चेतावनीको रूपमा बुझ्नुपर्छ। त्यो किनभने उक्त उमेरदेखि डिम्बको भण्डार झन् छिटो घट्न थाल्छ।

अनि त्यस्तो किन भइरहेको छ भन्ने कुराको उत्तर खोज्न १२ महिनाभन्दा ढिलो भए महत्त्वपूर्ण समय नाश भएको मानिने चिकित्सकहरू बताउँछन्।

यदि समस्या पुरुषमा छ भने विशेषज्ञहरूले अण्डकोषको रक्षा गर्न एन्टिअक्सिडन्टयुक्त भिटामिन सेवन गर्न सल्लाह दिन्छन् । त्यसले होर्मोनलाई पनि नियमित गराउँछ।

कतिपय रोगहरू औषधि वा शल्यक्रियाबाट समाधान हुने मिरान्डा बताउँछन्।अरू कुनै उपचारले काम नगरे इन-भिट्रो फर्टिलाइजेशनको प्रविधि प्रयोग गर्न सकिने विज्ञहरू बताउँछन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्