Logo
|
Thursday 28th March 2024
Logo

epaper

स्वास्थ्य शिविरबाट जुम्लाका १५ सय बढी लाभान्वित



जनस्वास्थ्य सरोकार, जुम्ला । जुम्लाको हिमा गाउँपालिका १ बड्कीस्थित कालिका माविमा पालिकाको आयोजना तथा कादुरी एग्रिकल्चरल एण्ड एसोसिएसन ब्रिटिस गोर्खाज नेपाल कास्कीको आर्थिक र प्राविधिक सहयोगमा ३ दिनसम्म सञ्चालित स्वास्थ्य शिविरबाट हिमासहित जुम्लाका अन्य पालिका र कालिकोटका गरी १ हजार ५ सय ६६ जना लाभान्वित भएका छन् ।

जम्मा १५ सय ६६ जनामध्ये १२ सय ३५ जना महिला र ३ सय ३१ जना पुरुषले सेवा लिएको कालिका माविका लेखापाल धनराज शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार ७ सय ३७ जना महिलाले ओपिडी सेवा लिएका छन् ।

४ सय ५१ जना महिलाले स्त्रीरोग सम्बन्धी विशेषज्ञबाट उपचार गराउँदा ८ सय २८ जनाले महिला पुरुषले आँखाको उपचार गराएका छन् । ३५ जनाको आँखाको शल्यक्रिया गरिएको छ । ३ सय ६३ जना महिला पुरुषले दन्त रोगसम्बन्धी उपचार गराएका छन् ।

सिंजा, कनकासुन्दरी, पातारासी र तिला तथा कालिकोटका तिलागुफा, पलाता र महाबै गाउँपालिकाबाट गरी समग्रमा बाहिरबाट ३ सय जना नागरिक शिविरबाट लाभान्वित भएका थिए ।

शिविरमा उपचार गराउन आएका सबैलाई पालिकाकै सहयोगमा खानाको व्यवस्था गरिएको थियो । पालिकाका विपन्न नागरिकको राहत र स्वास्थ्य सेवामा पहुँच वृद्धिका लागि गाउँमै शिविर सञ्चालन गरिएको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले बताउनुभयो ।

हिमाका ७ वटै वडाका नागरिकले शिविरबाट राहत महसुस गरेको अध्यक्ष शाहीको भनाई छ । स्वास्थ्य चेकजाँच तथा उपचारपछि १५ सय ६६ जनालाई आवश्यक औषधी वितरण गरिएको हिमाका प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्