Logo
|
Thursday 25th April 2024
Logo

epaper

धौलागिरि अस्पतालमा डायलासिस सेवाको क्षमता विस्तार



जनस्वास्थ्य सरोकार, बागलुङ । जिल्लाका स्थानीय मिर्गौलापीडितलाई निःशुल्क रूपमा डायलासिस सेवा प्रदान गर्दै आएको धौलागिरि अस्पताल बागलुङले डायलासिस सेवाको क्षमता थप गरेको छ । 

डायलासिस प्रक्रियामा प्रयोग हुने आरो पानी उत्पादन गर्ने मेसिन थपिएपछि सो सेवा विस्तार गरिएको हो । आरोपानी पर्याप्त मात्रामा उत्पादन हुँदा डायलासिस सेवालाई तीन चरणमा विभाजन गरेर उपचार सेवा थप गरिएको अस्पतालका सूचना अधिकारी अञ्जना पौडेलले बताउनुभयो । आरोपानीको अभाव हुँदा विगतमा दैनिक दुई चरणमा मात्रै डायलासिस हुँदै आएको थियो । गत मङ्सिरदेखि यता दैनिक तीन चरणमा डायलासिस सेवा प्रदान गरिएको छ ।

आरोपानी २५० लिटर प्रतिघण्टा उत्पादन हुँदा दुई चरण थियो । अहिले आरोपानी प्रतिघण्टा एक हजार लिटर उत्पादन हुन्छ । डायलासिस मेसिन थप गर्न सके उपचारमा झन् सजिलो हुने सूचना अधिकृत पौडेलको भनाइ छ । 

हाल अस्पतालमा ४४ जना मिर्गौलाका बिरामीले नियमित निःशुल्क रूपमा डायलासिस सेवा लिँदै आएका छन् । तीबाहेक पाँच जनाले उपचारका लागि पालो गर्नुपर्ने अवस्था छ । यद्यपि पालो कुर्नुपर्ने बिरामी जटिल प्रकृतिका छैनन् ।

नियमित सेवाका सूचीमा रहेका बिरामीमध्ये तीन जनाले हप्ताको तीन पटक अन्यले हप्ताको दुई पटक डायलासिस गराउँछन् । गण्डकी प्रदेश सरकारसँग थप डायलासिस मेसिनको माग गरिएको छ । अझै पाँच/छवटा मेसिन सञ्चालन गर्नसक्ने आरोपानीको क्षमता रहेको उहाँले बताउनुभयो ।

डायलासिसका लागि जिल्लाबाहिरका सरकारी तथा निजी अस्पतालमा रहेका बिरामीलाई सोही अस्पतालबाट नै सेवा दिन सकिने सूचना अधिकारी पौडेलले बताउनुभयो । स्थानीय तहले पनि नागरिकको स्वास्थ्य सेवालाई ध्यानमा राखेर डायलासिस मेसिन खरिद गरिदिए सेवा उपलब्ध गराउन आफूहरू तयार रहेको भनाइ उहाँछ । 

एउटा मेसिन खरिद गर्दा करिब १५/१६ लाख रुपियाँ खर्च हुन्छ । धौलागिरि अस्पतालमा २०७५ साल वैशाख १० गतेदेखि दुई जना बिरामीबाट निःशुल्क डायलासिस सेवा सञ्चालन गरिएको छ । डायलासिसका लागि गाउँबाट आउनेलाई पहिलो चरण, सदरमुकामदेखि नजिकै रहेका बिरामीलाई दोस्रो चरण र सदरमुकाममै बसोबास गर्ने बिरामीलाई तेस्रो चरण अर्थात् साँझको समयमा डायलासिस सेवा उपलब्ध गराउने गरी कार्यसूची तयार गरिएको छ । सो सेवा बिहान ७ बजेदेखि राति ९:३० सम्म सञ्चालन हुन्छ ।    

प्रतिक्रिया दिनुहोस्