Logo
|
Thursday 25th April 2024
Logo

epaper

शरीरमा भिटामिन सीको कमी भए के हुन्छ ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । शरीरलाई स्वस्थ र स्फूर्त राख्नको लागि धेरै पोषक तत्वको आवश्यकता पर्छ । भिटामिन ‘सी’ पनि शरीरलाई चाहिने अत्यावश्यक पोषक तत्वमध्ये एक हो। आहारबाटै भिटामिन सी पूर्ति गर्नु पर्ने भएकाले कहिले काँही बिग्रदो खानपान शैलीले यसको कमी हुनसक्छ ।

हाम्रो अंगको आकार बढाउन, रक्त वाहिकालाई बलियो बनाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि भिटामिन सी आवश्यक हुन्छ । उच्च कोलोस्टोर, उच्च रक्तचाप नियन्त्रणमा भिटामिन सिले सहयोगी भूमिका खेल्छ ।

ब्रोकाउली, पालुङ्गो, भेडे खुर्सानी, आलु, कुखुराको मासु, समुन्द्री खाना आदि यसको स्रोत हो । यसबाहेक यो शरीरको विकार निकाल्न मद्दत गर्ने एक एन्टीअक्सिडेन्ट पनि हो । यो छाला, हड्डीको विकासको लागि पनि आवश्यक हुन्छ । शरीरमा भिटामिन सीको कमीले विभिन्न दुष्प्रभाव देखिन्छन् । भिटामिन सी कमी भएको लक्षणबाट पत्ता लगाएर समयमै यसको पूर्ति गर्नु पर्छ । 

भिटामिन सी कमी हुने कारणहरु 

  • मदिरा सेवन गर्दा
  • चिया र पाउरोटी खाने बानीले 
  • गरीबीको कारण (फलफूल तथा सागपात किनेर खान नसक्दा)
  • धुम्रपान गर्ने
  • पाचनसम्बन्धी समस्या भए
  • आइरनको कमीले 
  • केही खानेकुराबाट एलर्जी हुँदा पनि भिटामिन सी को कमी हुनसक्छ । 

भिटामिन सीको कमी भयो भने निम्न लक्षणहरु देखिन्छन्ः

  • शरीरमा रगतको कमी हुन्छ
  • गिजामा रगत देखिनु
  • संक्रमणसँग लड्ने क्षमता कम हुनु
  • नाकबाट रगत आउनु
  • सुख्खा छाला हुनु
  • दाँतको बाहिरी पत्र कमजोर हुन्छ 
  • छाला अत्यधिक पातलो हुनाले हल्का चोट लाग्दा पनि रगत बग्ने वा गहिरो घाउ बस्ने 
  • भिटामिन सी को कमीले कपाल पनि रुखो र दुईमुखे हुन्छ ।
  • स्कर्भी रोग लाग्ने सम्भावना 

भिटामिन सी किन चाहिन्छ ?
रोग प्रतिरोधी क्षमता बढाउँछ 

कमजोर रोग प्रतिरोधी क्षमताले अनेकौं रोग निम्त्याउँछ । भिटामिन सी रोग प्रतिरोध क्षमता बढाउनको लागि फाइदायुक्त तत्वमा गनिन्छ। स्वास्थ्य विशेषज्ञकाअनुसार भिटामिन सी युक्त खाद्य पदार्थले शरीरका कोषिकाहरुलाई राम्रोसँग काम गर्न योग्य बनाउँछ । भिटामिन सीले इम्यून सेलको कार्य प्रणालीलाई बलियो बनाउँछ र संक्रमण हुनबाट बचाउँछ । 

रुघाखोकीमा फाइदा
सामान्य रुघाखोकी भएको अवस्थामा भिटामिन सी उपयुक्त हुन्छ । भिटानि सीको अभावमा पनि रुघाखोकी लाग्ने हुन्छ । भिटामिन सी ले केही हदसम्म भाइरल इन्फेक्सनबाट जोगाउने काम गर्छ । 

हड्डीको लागि लाभदायक
भिटामिन सी हड्डीको लागि पनि महत्वपूर्ण मानिन्छ । कमजोर हड्डीको कारणले धेरै किसिमका रोग लाग्न सक्छन् । जसमध्ये एक हो ओस्टियोपोरोसि ।

भिटामिन सीको सहायताले यस समस्यालाई न्यूनिकरण गर्न सकिन्छ । हड्डीलाई स्वस्थ राख्न भिटामिन सी युक्त खाद्य पदार्थहरु खानुपर्छ । 

गिंजालाई स्वस्थ राख्छ
गिंजालाई स्वस्थ राख्न विशेषज्ञहरु भिटामिन सी युक्त खाद्य पदार्थ खान सुझाउँछन् । भिटामिन सीको कमीले गिंजाबाट रगत बग्नेजस्ता लक्षण देखिन्छन् । त्यसैले गिंजालाई स्वस्थ र तन्दुरुस्त राख्न भिटामिन सीको पुर्ति हुने खानेकुरामा जोड दिनुपर्छ । 

शरीरमा आइरनको पूर्ति गर्छ 
शरीरमा आइरनको कमीले एनीमियाको समस्या हुनसक्छ। भिटामिन सीले शरीरमा आइरनको कमी हुन दिँदैन र यसबाट हुने समस्याबाट बचाउँछ । 

छाला राम्रो बनाउँछ  
छालालाई स्वस्थ राख्न भिटामिन सी आवश्यक पर्छ । भिटामिन सीले घामबाट छालालाई पार्ने समस्या कम गर्छ । भिटामिन सी भएका खानेकुरा खाँदा बढ्दो उमेरमा देखिने छाला चाउरिने समस्यालाई पनि कम गर्छ । 

यी खानेकुरामा पाइन्छ भिटामिन सी

  • कागती
  • निबुवा
  • खुसार्नी
  • सुन्तला 
  • अंगुर 
  • किवी
  • ब्रोकाउलीे
  • स्ट्रबेरी
  • टमाटर 
  • खरबुजा
  • बन्दागोभी
  • फूलगोभी
  • पालकको साग 
  • हरियो मटर
  • उमालिएको आलुबाट पनि भिटामिन सी प्राप्त गर्न सकिन्छ ।

बुझ्नैपर्ने कुराः हाम्रो शरीरले भिटामिन सी संरक्षित गरेर राख्न सक्दैन । यसैले हामीले नियमित रुपमा भिटामिन सी खाइराख्नुपर्छ ।  स्रोतः हेल्थहेल्पलाइन
 

प्रतिक्रिया दिनुहोस्