
अहिलेसम्म रेडियोलोजी विषय रोगको डायग्नोसिस (निदान) मा मात्र सिमित थियो । अब भने इन्टरभेन्सनल रेडियोलोजीमार्फत निदान मात्र नभई थेराप्युटिक( उपचार) मा पनि अत्यधिक उपयोगी सिद्ध भएको छ । त्यसमा पनि मिनिमल इन्भेसिभ भएका कारण यस उपचार विधिमा टाउको भित्रको शल्यक्रिया टाउको नखोली हुने भएकाले सर्जरीमा हुने जटिलटा कम हुने साथै आईसियूमा बिरामीको बसाई पनि कम हुने गरेको छ । बिरामी छिट्टै रिकभरी भई छिट्टो घर फर्कन सकिने भएकाले धेरै बिरामीहरु यस प्रविधिलाई रुचाउन थालेको पाइन्छ ।
शरीरका हरेक अंग चलाउने मुख्य केन्द्र मस्तिष्क हो । मस्तिष्कले शरीरका विभिन्न अंगको नियन्त्रण गर्दछ । त्यसैले मस्तिष्कमा रहेको हात चलाउने केन्द्रमा रगत नपुगेमा हात चल्दैन, खुट्टा चलाउने केन्द्रमा रगत नपुगेमा खुट्टा चल्दैन ।
शरीरका हरेक अंग नियन्त्रण गर्ने मस्तिष्कका केन्द्रसम्म रगत नपुगे ती अंग अपाङ्ग हुने भएकाले यसप्रति विशेष ख्याल गर्न जरुरी हुन्छ । मुटुबाट नसाहरूले मस्तिष्कसम्म पोषणयुक्त रगत पु–याउने काम गर्छन् ।
नसामा हुने समस्या समाधान गर्न न्यूरो इन्टरभेन्सनल रेडियोलोजी प्रभावकारी देखिएको छ । यो नयाँ आधुनिक सुपरस्पेसलाइजेसन प्रविधि हो । जसमा मिनिमल इन्भेजिव प्रविधिबाट मस्तिष्क (दिमाग) मा रगत लिएर जाने नसाका समस्या डायग्नोसिस (निदान) र थेरापेटिक (उपचार) दुवै गरिन्छ ।
मुटुबाट निस्कने रगत, नसाको माध्यमबाट मस्तिष्क, हातगोडा, पेटलगायका अंगमा पुगेको हुन्छ । इन्टरभेन्सनल पद्धतिबाट खुट्टा वा हातमा ३ मिलिमिटर (एमएम) को सानो अस्थायी प्वाल बनाएर यसबाट क्याथेटर छिराउने र दिमागको नसासम्म पु–याएर समस्या क्याथल्याबमा हेरिन्छ । रोग पहिचान गरेर नसा बन्द भएमा भित्रभित्रैबाट खोल्ने, फुलेको र फुटेको अवस्थामा सिलाइन्छ जसलाई क्वाइलिङ भनिन्छ ।
बिनाशल्यक्रिया हात वा खुट्टाको नसाबाट ‘क्याथेटर’ छिराएर समस्याग्रस्त मस्तिष्कको नसाको उपचार गर्ने प्रविधिलाई न्युरो इन्टरभेन्सनल सर्जरी भनिन्छ । यो मस्तिष्कको बन्द भएको नसा खोल्ने, गुच्छाका कारण नसा बन्द हुने र नसा च्यातिएर ह्यामरेज भएमा भित्रबाटै सिलाउन सकिने अत्याधुनिक प्रविधि हो ।
मस्तिष्कघात (स्ट्रोक) समस्यामा
अमेरिकाको हार्वर्ड यूनिभर्सिटीका अनुसार, मस्तिष्कमा एक सय बिलियन कोशिकाहरू हुन्छन् । मस्तिष्कघातले रक्तनसा बन्द भई उपचार नपाएको खण्डमा प्रतिमिनेट करिब २० लाख (दुई मिलिएन) ब्रेनका कोशिका मर्छन् । त्यसैले मस्तिष्कघातलाई एक्युट मेडिकल इमर्जेन्सी (आपत्कालीन स्वास्थ्य समस्या) भनिन्छ । विगतमा स्ट्रोक (मस्तिष्कघात) को उपचार थ्रोम्बोलाइसिसमा मात्र सिमित थियो । यस प्रविधिमा मस्तिष्कको ठूलो नसा बन्द भएमा रगत पगाल्ने औषधि दिइन्थ्यो । प्यारालाइसिस भइसकेपछि ओछ्यानमा बस्नुको विकल्प थिएन । तर, अहिले मस्तिष्कको नसा बन्द भएको ६ घण्टाभित्र अस्पताल पु–याउन सके न्यूरो इन्टरभेन्सन प्रविधिबाट रगतको थेग्लो निकाली बिरामीलाई पूर्ववत अवस्थामा फर्काउन सकिन्छ । तर, समस्याको जटिलताको आधारमा २४ घण्टासम्म पनि यस्ता बिरामी अस्पताल पु¥याउन सकेमा राम्रोसँग रिकभर हुनसक्छ । प्यारालाइसिस भएर बाँच्नु पर्दैन ।

अमेरिकन स्ट्रोक एसोसिएसनले पनि यस प्रकारको समस्यामा बिरामीको उपचारका लागि न्यूरो इन्टरभेन्सनल रेडियोलोजी नै विकल्पको रुपमा अघि सारेको छ । न्यूरो इन्डोभास्कुलर प्रविधिमा हात वा खुट्टाको नसाबाट क्याथेटर पठाएर मस्तिष्कको रगतको नसाभित्र जमेको रगतको थेग्लो निकालिन्छ ।
मस्तिष्कको भास्कुलर समस्या जस्तै, एन्युरिजम (रक्तनलीको फोको), घाँटीको नसा सुक्ने, मेरुदण्डको नसासम्बन्धी समस्यामा पनि न्यूरो इन्टरभेन्सन पद्धति निकै प्रभावकारी मानिएको छ ।
सफल दर
विभिन्न अध्ययनहरूका अनुसार मस्तिष्कघात, एन्युरिजम र ब्रेन ह्यामरेज (नशा च्यातिएको) भएका बिरामीको उपचार गर्दा १० देखि १५ प्रतिशत कम्लिकेसन पनि हुनसक्छ । तर, न्यूरो इन्टरभेन्सन प्रविधिले गर्दा यस अस्पतालमा सफलता दर करिब ९५ प्रतिशतसम्म छ । यस पद्धतिमा टाउको नखोल्ने भएकाले ३–५ दिनमै बिरामीलाई डिस्चार्ज गर्न सकिन्छ । बिरामीको उपचारमा धेरै कम जोखिम हुन्छ र डाक्टरहरूलाई पनि उपचार गर्न सहज हुन्छ ।
चमत्कार झै लाग्यो
सन् २०१५ तिर मस्तिष्कघात (स्ट्रोक) को उपचारसम्बन्धी अन्तर्राष्ट्रिय गाइडलाइन बन्यो । अमेरिकन स्ट्रोक एसोसियसन र हार्ट एसोसियसनले मस्तिष्कको नसा बन्द भएको अवस्थामा पनि तार छिराएर खोल्ने उपचारसम्बन्धी गाइडलाइन बनाए ।
त्यसबेला मैले अध्ययन गरिरहेको अस्पतालमा मस्तिष्कको नसा बन्द भएका धेरै बिरामीलाई सिनियर डाक्टरहरूले इन्टरभेन्सन पद्धतिबाट उपचार गराएर हिँड्न, बोल्न सक्ने बनाएर पठाउन थाल्नुभयो । त्यतिवेला यो उपचार पद्धति चमत्कार झैं लाग्थ्यो । म भारतको पिजिआई चण्डिगढमा काम गर्दै थिएँ र एमडीको अन्तिम वर्षमा थिएँ । मलाई इन्टरभेन्सन प्रविधिले धेरै आकर्षित ग–यो । तालिम सकिएपछि यो उपचार पद्धति नेपालमा सुरु गर्ने सोच बोकेर फर्किएको थिएँ । नेपालमा काम गर्दा ‘स्ट्रोक’ भएका धेरै बिरामी आउँथे ।
यो बिधामा आफूलाई अब्बल सावित गर्न म फेरि न्यूरो इन्टरभेन्सनलमा तीन वर्षको डीएम कोर्ष गर्न भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पताल गएँ । यहाँ इन्टरभेन्सन प्रविधि (स्ट्रोक भएको बिरामीको टाउको नखोली गरिने उपचार) बारे राम्रो ज्ञान हासिल गर्न सफल भएँ ।
फेब्रुअरी, २०१९ देखि ग्रान्डी अस्पतालमा सिंगल क्याथल्याबबाट न्यूरो इन्टरभेन्सन सेवा सुरु गरेँ । केही समय विभिन्न अस्पतालका डाक्टरलाई स्ट्रोकले नसा बन्द भएको अवस्थामा न्यूरो इन्टरभेन्सन पद्धतिबाट नसा खोल्न मिल्छ, म गर्न सक्छु भन्दै हिँड्नुप¥र्यो । अप्रिल महिनाको अन्त्यतिर नर्भिक अस्पतालका डाक्टर पंकज जलानले एकजना बिरामी पठाउनुभयो । बिरामीको नसा पूरै बन्द थियो, प्यारालाइसिस भएर एउटा हात खुट्टा नचल्ने भइसकेको थियो । हामीले तुरुन्तै क्याथल्याबमा लगेर नसा खोल्यौं । २–३ दिनमा बिरामी हिँड्न र बोल्न सक्ने भए । त्यसपछि बिरामीलाई डा. जलान भएकै ठाउँमा पठाइदिएँ । त्यसपछि बिस्तारै बिरामीको संख्या बढ्न थाल्यो । सबैले न्यूरो इन्टरभेन्सनबारे थाहा पाउन थाले । केही समयपछि सुत्ने समय पनि पाइएन । मैले ग्रान्डी अस्पतालमा एक वर्षको अवधिमा दुई सयभन्दा बढी ‘स्ट्रोक’ भएका बिरामीको सफल उपचार गरे ।
यसैबीच, उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पतालले पहिलोपटक न्यूरो इन्टरभेन्सनसम्बन्धी ‘गोल्ड स्टेन्डर्ड बाइप्लेन क्याथल्याब’ भित्र्यायो । यो नेपालको लागि नयाँ सुरुवात थियो । तत्पश्चात् बिरामीलाई उत्कृष्ट सेवा यही अस्पतालबाट दिँदै आएको छु ।
सीप भएको मानिसलाई नयाँ प्रविधि सुनमा सुगन्ध झैं हुने रहेछ । ‘बाइप्लेन मेसिन’ आएपछि बिरामीमा उपचारको रिजल्ट झनै राम्रो भयो । समयको पनि बचत हुने ।
हालसम्म एक हजारभन्दा बढी बिरामीको न्यूरो इन्टरभेन्सनल प्रविधिबाट सफल उपचार भइसकेको छ ।
(डा. फुयाल न्यूरो इन्टभेन्सनल रेडियोलोजीमा डीएम गर्ने पहिलो नेपाली चिकित्सक हुनुहुन्छ । उहाँले अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) बाट डीएम गर्नुभएको छ । हाल उहाँ उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पतालमा कार्यरत हुनुहुन्छ ।)

काठमाडौंमा निःशुल्क स्तन र पाठेघरको मुख क्यान्सर परीक्षण, ४८ जनामा एचपीभी पोजेटिभ
मंगलबार, चैत २६, २०८१
होटल मर्क्यूरद्वारा क्यान्सर केयर नेपाललाई पाँच लाखको सहयोग
मंगलबार, चैत २६, २०८१
रेविज लागेको कुकुरले झापामा मच्चायो आतंक, चार वर्षीया बालिकासहित १२ जना घाइते
सोमबार, चैत २५, २०८१