Logo
|
Friday 19th April 2024
Logo

epaper

जसलाई पत्थरले हिर्काए पनि मिठो फल दिन्छ



विद्वान् कालीदास थकित अवस्थामा एउटी महिलाको आँगनमा पुग्छन् ।

कालीदास : ए हजुर, मलाई धेरै प्यास लागेको छ, पिउने पानी दिनुहोस् न ।

महिला : म तिमीलाई चिन्दिन, पहिला आफ्नो परिचय देऊ । अनि मात्रै पानी दिन्छु ।

कालीदास : म यात्री हुँ ।

महिला : तिमी यात्री कसरी हुनसक्छौ ? यात्री त केवल दुई मात्र छन्– सूर्य र चन्द्रमा । जो कहिल्यै रोकिन्नन्, हमेशा चलिरहन्छन् । सत्य बोल, तिमी को हौ ?

कालीदास : म पाहुना हुँ ।

महिला : तिमी पाहुना कसरी हुन्छौ ? संसारमा दुई चिज मात्र पाहुना छन् । पहिलो धन र दोस्रो यौवन । यिनीहरूलाई जान समय लाग्दैन । भन को हौ तिमी ?

कालीदास : म सहनशीलता हुँ । अब त पानी दिनुहोस् ।

महिला : नाईं, सहनशीलता त दुई मात्र छन् । पहिलो, धर्ती जो पापी धर्मात्मा सबैको बोझ सहन्छिन्, जसको छाती चिरेर बीज राखिदिँदा अन्नको भण्डार दिन्छिन् । अनि, दोस्रो हो रूख जसलाई पत्थरले हिर्काए पनि मिठो फल दिन्छ । साँच्चै भन त को हौ तिमी ?

कालीदास : म हठी हुँ ।

महिला : फेरि असत्य । हठी त दुई मात्र छन् । पहिलो नङ र दोस्रो केश । जति काटे पनि पलाइरहन्छन् । सत्य बोल, को हौ तिमी ?

(कालीदास अपमानित र पराजित महसुस गर्छन्)

कालीदास : त्यसो भए म मूर्ख हुँ ।

महिला : होइन, तिमी मूर्ख कसरी हुनसक्छौ ? मूर्ख त दुई मात्र छन् । पहिलो शासक जो विनायोग्यता पनि सबैलाई शासन गर्न सक्छ अनि दोस्रो उसका सल्लाहकार जो शासकलाई प्रसन्न बनाउन उसका गलत क्रियाकलापलाई पनि तर्क दिएर सही सिद्ध बनाउने चेष्टा गर्छन् ।

(उत्तर दिँदा दिँदा हैरान बनेका कालीदास केही बोल्नै नसक्ने भए । फरक फरक परिचय दिँदा पनि सन्तुष्ट नभएकी महिलाको गोडा समाउँदै याचना गर्छन् । )

कालीदास : म कालीदास हुँ ।

महिला : उठ कालीदास । खासमा म सरस्वती माता हुँ ।

(आवाज सुनेर माथि हेर्दा त साक्षात् माता सरस्वती देख्छन् ।)

माता सरस्वती : शिक्षाबाट ज्ञान आर्जन हुन्छ न कि अहंकार । तिमीले शिक्षाको बलमा प्राप्त गरेको मान र प्रतिष्ठालाई आफ्नो उपलब्धि मान्यौ र अहंकारको सिंहासनमा बस्यौ । यसैले तिम्रो चक्षु खोल्न मैले यो नाटक गर्नुपर्यो ।

कालीदासलाई आफ्नो गल्ती महसुस हुन्छ र अन्ततः पानी पिएर प्यास मेटाउँछन् ।
त्यसैले, विद्वताउपर कहिल्यै घमण्ड नगरौँ, घमण्डले विद्वतालाई नष्ट गरिदिन्छ ।
(सामाजिक सञ्जालबाट संकलन)

प्रतिक्रिया दिनुहोस्