Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

बागलुङ नगर अस्पतालको निर्माण कार्य अलपत्र



जनस्वास्थ्य सरोकार, काठमाडौँ । बागलुङ नगरपालिकाको १५ शय्याको अस्पताल पहिलो तला ढलानको तयारी गरिएकै छ महिना बित्यो। छ महिनादेखि अलपत्र अवस्थामा रहेको अस्पताल भवनको छडमा खिया लाग्न थालेको छ। ढलानका लागि खरिद गरिएका कच्चा सामग्री पतकरले छोपिएका छन्।

अलपत्र अवस्थामा रहेको अस्पताल भवनको ठेक्का मिति सकिने बेलासम्म कामले गति नलिँदा त्यहाँका स्थानीयले निर्माण व्यवसायीको आलोचना गरेका छन्। निर्माण सम्झौताको २१ महिनामा पहिलो तलासमेत ढलान हुन नसकेको बताइएको छ।

“नगर अस्पतालले पुरानो भवनबाट सेवा दिन सुरु गरेकै दुई वर्ष भयो तर अस्पतालमा डाक्टर छैनन्, जनस्वास्थ्य निरीक्षकको भरमा अस्पताल छ, निर्माणधीन नयाँ भवनको निर्माण ठप्प छ”, स्थानीय बालकृष्ण शर्माले भन्नुभयो “स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी नगर अस्पताल बनाए पनि सेवा स्वास्थ्य चौकीकै छ, १५ शय्याको अस्पताल भवन निर्माणकार्य ठप्प भएको छ।” अहिले जम्मा २० प्रतिशमात्रै काम भएको प्राविधिकको भनाइ छ।

लामो समयको प्रयास र पहलपछि बागलुङ–१३ पैयुपाटामा १५ शय्याको नगर अस्पताल भवन निर्माण अघि बढे पनि निर्माण व्यवसायीको लापरवाहीका कारण भवन निर्माणले गति लिन नसकेको हो। अस्पताल सम्पन्न गर्नुपर्ने मिति आउन मात्रै जम्मा तीन महिना बाँकी रहँदा पहिलो तला ढलान हुन नसक्नु दुखद् विषय बनेको बागलुङ नगर उपप्रमुख राजु खड्काले बताउनुभयो।

“निर्माण व्यवसायीलाई ताकेता गरिरहेका छौँ, अस्पतालको सेवा थप गर्नका लागि चिकित्सकको माग गरी पदपूर्ति गरे पनि चिकित्सक बस्नुभएन, पुनः अहिले हेल्थ असिस्टेन र ल्याब टेक्निसिएन थपेका छौँ तर डाक्टरका लागि आवेदन आएको छैन”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायीको कमजोरीका कारण नगरपालिकाप्रति स्थानीय रुष्ट छन्, निर्माण व्यवसायीलाई तुरुन्तै सम्झौताअनुसार काम गर्न निर्देशन गर्नेछु।”

बागलुङ –१३ पैयुपाटा स्वास्थ्यचौकीलाई नै नगर अस्पतालका रूपमा नामकरण गरेको बागलुङ नगरपालिकाले नयाँ भवन निर्माणका लागि रु १२ करोड ८७ लाखमा ठेक्का सम्झौता गरे पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अस्पताल भवन निर्माण कहिले सकिने टुङ्गो नलागेको बागलुङ–१३ पैयुँपाटाका वडाध्यक्ष नारायण पौडेलले बताउनुभयो।

सरकारले प्रत्येक पालिकामा १५, १० र पाँच शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्यअनुसार स्वास्थ्यको पहुँचबाट टाढा रहेको नगरपालिकाको दक्षिण भेगलाई लक्षित गरी नगर अस्पताल निर्माण थालिएको भए पनि निर्माणमा ढिलाइ हुनु र अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी नहुँदा समस्या भएको छ।

पन्ध्र शय्याको अस्पताल भवन निर्माण गर्न श्री महालक्ष्मी जुगल जेभीसँग २०७८ असार २३ गते रु १२ करोड ८७ लाखमा सम्झौता भएको थियो। उक्त भवन २०८० साल असार २० गतेसम्म सक्नुपर्ने सम्झौता रहेको छ। प्रवेशद्वार, पार्किङलगायतका संरचनासहित तीन तलाको विद्युतीय भ–याङसहितको अस्पताल निर्माण हुने छ।

नगरपालिकाको रायडाँडा, पैयुपाटा, अमलाचौर र नारायणस्थनका बासिन्दालाई अस्पताल निर्माणसँगै स्वास्थ्य सेवा लिन सहज हुने गरी नगर अस्पताल घोषणा गरिएको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो। उहाँका अनुसार अस्पतालमा एमडीजिपीसहित तीन चिकित्सक आवश्यक रहे पनि अहिले मेडिकल अधिकृतसमेत राख्न नसकिएको हो।

स्थानीयको नौ रोपनी जग्गा नगर अस्पतालका नाममा पास गरेपछि अस्पताल निर्माण अघि बढेको थियो। ठेक्का सम्झौता भौगोलिक जटिलता, निर्माण सामग्रीको अभाव तथा सडकमार्गको अबरुद्धका कारण भवन निर्माणले गति लिन नसकेको बताउँदै भवन निर्माणको जिम्मा पाएको महालक्ष्मी जुगल जेभीका प्रतिनिधि नरेश ओझाले अब निर्माणले गति लिने बताए।

स्वास्थ्यचौकी छ, सेवा छैन
स्वास्थ्यचौकीको प्राङ्गण चिरा–चिरा परेको छ। स्वास्थ्यचौकीको प्रवेशद्वारा अघि तितेपाती झार उम्रेको छ। छतमा गरेको प्लास्टर उप्किएको छ भने केही विद्युतीय संरचना तोडफोडसमेत गरिएको छ। यो दृश्य बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–२ भिमापोखरा स्वास्थ्यचौकीको नवनिर्मित भवनको हो।

समयमै स्वास्थ्यचौकीको भवन सम्पन्न नहुँदा साँघुरो भवनबाट जनतालाई स्वास्थ्य सेवा दिन बाध्य भएको छ भिमापोखरा स्वास्थ्यचौकी। स्वास्थ्यचौकीका कोठामा एक वर्षदेखि ताला लगाइएको छ। ताला कसले लगाएको हो भन्ने विषयमा समेत स्वास्थ्यचौकी र जनप्रतिनिधि अनभिज्ञ रहेको पाइएको छ।

स्वास्थ्यचौकीमा रङरोगन गरे पनि च्यानल गेट, तारबार, झ्याल र सिसाको काम अझै बाँकी रहेको काठेखोला–२ भिमापोखराका वडाध्यक्ष विद्यापति शर्माले जानकारी दिनुभयो। “एक वर्षदेखि स्वास्थ्यचौकी यो अवस्थामा रहँदा जनतालाई स्वास्थ्य सेवा भने पुरानो भवनबाट प्रदान गर्न बाध्य भइरहेका छौँ, आर्थिक वर्ष २०७५र७६ बाट बन्न थालेको भवन एक वर्षदेखि प्रयोगविहीन छ”,उहाँले भन्नुभयो “भवन हस्तान्तरण भए वडाले नै लगानी गरेर मर्मत गरी सेवा दिन सक्थ्यो, यहाँ त न भवन हस्तान्तरण हुन्छ न सम्पन्न नै, भवनको गुणस्तरमा समेत समस्या देखिएको छ।”

घरअघि भवन ठडिएको एक वर्ष भयो, तर स्वास्थ्य सेवा पुरानै भवनबाट दिइएकाले नागरिकलाई समस्या भएको स्थानीय भक्तिनाथ गौतमले गुनासो गर्नुभयो। भवन हस्तान्तरण नहुँदा पुरानै भवनबाट सेवा दिन बाध्य भएको स्वास्थ्यचौकीका प्रमुख आशिष सापकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार छ जना दरबन्दी रहेको स्वास्थ्यचौकीमा अहिले तीन जनामात्रै कार्यरत रहेको बताउनुभयो।

काठेखोला गाउँपालिकाका इञ्जीनियर विनोद लामिछानेका अनुसार स्वास्थ्यचौकीको भवन तत्कालै सेवा दिने गरी गाउँपालिकाले कदम चाल्ने जानकारी दिनुभयो।

रु तीन करोड लागतमा सङ्घीय सरकारको बजेटमा निर्माण गरिएको भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा दिने गरी गाउँपालिकाले निर्माण व्यवसायीसँग परामर्श गरिरहेको छ। “ठेकेदारले काम छाडेको अवस्था हो, बजेटसमेत गत असारमै फ्रिज भइसक्यो, बैंक धरौटी रकमबाटै भए पनि भवन मर्मत गरेर स्वास्थ्य सेवा दिने हाम्रो योजना छ, भवन निर्माणमा देखिएका समस्या सच्चाउने र बैंक धरौटी रकम कटौती गर्न पालिका पछि पर्दैन”, उहाँले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्