Logo
|
Friday 19th April 2024
Logo

epaper

वीरगञ्ज महानगरपालिकाद्धारा विपन्न वर्गलाई १० प्रतिशत शैया छुट्टयाई निःशुल्क उपचार गर्न अस्पतालहरुलाई निर्देशन



जनस्वास्थ्य सरोकार, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाले विपन्न तथा लक्षित वर्गलाई १० प्रतिशत शैया छुट्टयाई निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ ।

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन निर्देशन दिँदै महानगरपालिकाले विपन्न तथा लक्षित वर्गलाई कुल शैयाको १० प्रतिशत छुट्याएर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन भनेको हो ।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७, परिच्छेद २४ को दफा ७० (घ) एवं वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरणसम्बन्धी निर्देशिका, २०७५ को परिच्छेद ३ को बुँदा नम्बर १५ को (१) (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैयाको १० प्रतिशत अनिवार्य छुट्टयाई निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था छ ।

त्यस्तै, स्थानीय सरकार ऐन, २०७४ को दफा ११ (४) मा स्वास्थ्य संस्थाको नियमन गर्ने कानुनी अधिकारसमेत स्थानीय तहलाई हुने उल्लेख छ । महानगरपालिकाले सूचना जारी गर्दै निःशुल्क सेवा लिएका व्यक्तिहरुको दैनिक विवरण सूचना पार्टीमा टाँस गर्न र सोको प्रतिवेदन मासिक रुपमा जनस्वास्थ्य प्रवर्द्धन शाखामा उपलब्ध गराउन भनेको छ ।

साथै, निर्देशनबमोजिम लक्षित वर्गको उपचार नगर्ने स्वास्थ्य संस्थाहरुलाई नियमानुसार कारबाही गर्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्