गर्मी बढेपछि पाँच दिन विद्यालय बन्द
जनस्वास्थ्य सरोकार, राजविराज । सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ । पठनपाठन गर्न समस्या भएपछि सप्तरीका दुई स्थानीय तहले पाँच दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या तथा विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको आजदेखि यही जेठ २३ गतेसम्म बिदा दिइएको राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै कञ्चनरूप नगरपालिकाले पनि नगरभित्रका विद्यालयमा पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रेणुका साहले बिहीबार सूचना जारी गर्दै आजदेखि विद्यालय बन्द गरिएको जानकारी दिनुभयो ।
यसैगरी महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजले पनि यही जेठ २१ देखि असार ८ गतेसम्म २० दिनका लागि क्याम्पस बन्द गर्ने निर्णय गरेको क्याम्पस प्रमुख राजीवकुमार मिश्रले जानकारी दिनुभयो ।
एक सातायता मधेस प्रदेशका सबैजसो जिल्लामा गर्मी ह्वात्तै बढेको छ । सर्वसाधारण अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन छाडेका छन् । गर्मीबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।