Logo
|
Saturday 27th July 2024
Logo

epaper

स्वास्थ्यमन्त्रीको भनाई तोडमोड गरी भ्रम फैलाइएको भन्दै मन्त्रालयको ध्यानाकर्षण



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आत्महत्या जस्ता विषयसँग जोडेर स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतको नाम पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघ पूल दरबन्दीमा रहेका एकजना विशेषज्ञ चिकित्सकलाई खटाइएको ठाउँमा काम गर्न सम्झाईबुझाई गर्दा पनि आफूले राष्ट्रिय ट्रमा सेन्टरमा काम गर्न नपाए आत्महत्या गर्छु भनी पटक–पटक धम्कीको भाषा प्रयोग गरेको मन्त्रालयको दाबी छ ।

ती चिकित्सकलाई तोकिएकै स्थानमा जाउन् भनेर स्वास्थ्य कर्मचारीको मनोबल उच्च राख्ने सन्दर्भमा मन्त्री बस्नेतले सो भाषा प्रयोग भएको मन्त्रालयको भनाइ छ । मन्त्री बस्नेतले ती चिकित्सकलाई ‘आत्महत्या गर्ने भए मेरो ढोकामा आएर झुण्डिनु डोरी दिन्छु ‘भनेको बताउनुभएपछि उहाँ विवादमा तानिनुभएको थियो ।

हाल सो तथ्य तोडमोड गरी अर्कै भाष्य सृजना गर्ने प्रयास गरी पत्रपत्रिका तथा सामाजिक सञ्जालमा भ्रम सृजना गरेको मन्त्रालयले जनाएको छ।

राष्ट्रिय ट्रमा सेन्टरमा सो विषय विज्ञता सम्बन्धी ४० भन्दा बढी स्वास्थ्यकर्मीहरू कार्यरत रहेको र हाल पनि दरबन्दी भन्दा बढी विशेषज्ञ रहेको तथा अन्य अस्पतालमा दरवन्दीका विशेषज्ञ नभएको अवस्थामा यस्ता धम्कीहरूलाई निरूत्साहन गर्दै स्वास्थ्यकर्मीहरूलाई दरवन्दी भएकै ठाउँमा काम गर्ने वातावरण सृजना गर्न तथा वर्षौंदेखि कामकाजमा मात्र रहने अवस्था सुधार गरी काठमाडौंमा मात्रै बस्न खोज्ने प्रवृत्तिलाई रोक्न यस्तो प्रयास भएको मन्त्रालयले प्रष्टीकरण दिएको छ ।

ती चिकित्सक त्यसपछि पत्र बुझी काठमाडौं उपत्यका बाहिरको संघीय अस्पतालमा हाजिर भई काम गरिरहेको मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ,–‘दरवन्दी भएको स्थानमा कर्मचारी नजाने, दुर्गमका गरिब बिपन्न र निमुखा जनताले विशेषज्ञ सेवा नपाउने, तर सुगममा दरवन्दी भन्दा बढी स्वास्थ्यकर्मीर चिकित्सक थुप्रि गर्दा कामकाज र उनीहरूको सट्टामा करारमा लिएका जनशक्तिले गर्दा राज्यलाई वर्षेनी थप ९५ करोड भन्दा बढी आर्थिक भार परेको छ । ’

अर्थ मन्त्रालयबाट दरबन्दी भन्दा बढी कामकाजमा रहेका वा करारमा रहेका कर्मचारीहरूलाई आगामी श्रावण १ गतेदेखि तलव भत्ता पठाउन नसक्ने जानकारी आएको मन्त्रालयका सूचना अधिकारी डा. पवन कुमार साहद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘वर्षौ देखि सुगममा मात्र जनशक्ति थुप्रने, दुर्गममा अभाव हुने बेथितिको सुधार एवं निर्मलीकरण, दुर्गममा काम गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने र दुर्गममा पनि स्वास्थ्यका जनशक्ति पुर्याउने अभियान चलाइरहदा प्रशासनिक सुधारका क्रियाकलापलाई आत्महत्या जस्ता संवेदनशील विषयसँग जोडेर समाचार सम्प्रेषण नगर्न सम्बद्ध सबैमा अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्