Logo
|
Saturday 27th July 2024
Logo

epaper

जुम्लाका किशोरी २० वर्ष नपुग्दै आमा



जनस्वास्थ्य सरोकार, जुम्ला । जुम्लामा ३ सय १० किशोरी २० वर्ष नपुग्दै आमा बनेको तथ्याङ्क सार्वजनिक भएको ।

जुम्लामा गत दुई वर्ष पहिले ८ सय ६० जना किशोरी २० वर्ष नपुग्दै आमा बनेका थिए । तर यस आर्थिक वर्षमा ३ सय १० जना किशोरी मात्रै २० वर्ष नपुग्दै सुत्केरी भएका छन् । यो तथ्याङ्कलाई आधार मानी अघिल्लो वर्षको तथ्याङ्कसँग तुलना गर्दा जुम्लामा बालविवाह घट्दो क्रममा रहेको देखिन्छ । 

चालु आवको ११ महिनाको प्रतिवेदन अनुसार जुम्लामा ३ सय १० जना किशोरी २० वर्ष नपुग्दै सुत्केरी भएका हुन् । जुन अघिल्लो दुई आर्थिक वर्षको तुलनामा ५ सय ५० जनाले कम हो । यद्यपि बालविवाह भने अपेक्षाकृत रूपमा रोकिएको छैन । 

३ सय १० जना किशोरी मध्य यस वर्ष सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा १ सय २७ जना किशोरी २० वर्ष नपुग्दै सुत्केरी भएको तथ्याङ्कमा उल्लेख छ । सबैभन्दा कम सिन्जा गाउँपालिकामा ५ जना २० वर्ष नपुग्दै सुत्केरी भएको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।

गुठीचौरमा ७५ जना विवाहित किशोरीमध्ये ४३ जनाले २० वर्ष नपुग्दै बच्चा जन्माएका छन् । पातारासीमा १ सय ४२ मध्ये ४१, हिमामा १ सय १४ मध्ये २७ जना, तिलामा १ सय ३६ मध्ये २२ जनाले उमेर नपुग्दै बच्चा जन्माएका हुन् । सिंजामा १ सय ४९ किशोरीमध्ये ५ जना, तातोपानीमा ९३ मध्ये २१ जना र कनकासुन्दरीमा १ सय ६० मध्ये २४ जना किशोरी २० वर्ष  नपुग्दै आमा बनेका छन् । 

यस वर्षको तथ्याङ्कले जुम्लामा बालविवाह घट्दै गएको देखाए पनि अवस्था सन्तोषजनक नरहेको तातोपानीका स्वास्थ्य शाखा संयोजक गुरु प्रसाद चौलागाईले बताउनुभयो । उहाँका अनुसार अझै गाउँघरमा बालविवाहका असर तथा कानुनी दण्ड सजायबारे सचेतना फैलाउन जरुरी छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख प्रेम सुमाइले तथ्याङ्कले बालविवाहमा अपेक्षित सुधार नआए पनि बालविवाह दर घट्दो क्रममा रहेको बताउनुभयो । पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयले बर्सेनि बालविवाहबारे तथ्याङ्क सार्वजनिक गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्