Logo
|
Monday 30th December 2024
Logo

epaper

मनमोहन कार्डियोका कर्मचारी मृत्यु प्रकरण : मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य बनाएको परिवारको आरोप

‘आर्थिक अनियमितता गर्न नपाएका पापीहरुले मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य बनाए’



जनस्वास्थ्य सरोकार, काठमाडौँ । दुई दिन अघि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा झुण्डिएर आत्महत्या गरेका फार्मेसी इन्चार्ज अमृत पोख्रेलको परिवारले सहकर्मीले मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएको छ ।


मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमै कार्यरत नर्स तथा पोख्रेलकी धर्मपत्नी मोनिका कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो आरोप लगाउनुभएको हो ।


उहाँले लेख्नुभएको छ–‘मेरो श्रीमानको शालीनता, ईमानदारीलाई कमजोरीको रुपमा लिएर नियोजित ढंगले मनमोहनमा आर्थिक अनियमितता गर्न नपाएका पापीहरुले मानसिक यातना, डर, त्रास र धम्की दिएर मृत्यु वरण गर्न बाध्य बनाएका हुन् ।’


‘एउटा ईमानदार राष्ट्र सेवकलाई मर्न बाध्य बनाईएको कुरा सुसाईड नोटमा पनि उल्लेख गर्नुभएको छ । श्रीमानको आत्माको शान्तिको लागि म र हाम्रो छोराको न्यायको लागि सत्यतथ्य सार्वजनिक गर्न, न्यायिक छानबीन गर्न तपाईहरु समक्ष हामी टुहुरा आमा छोराले सादर अनुरोध गर्दछौं।’–उहाँले थप लेख्नुभएको छ ।


छोराको स्वास्थ्य अवस्था खराव भएकाले अस्पतालमा उपचार गराईरहेको उहाँले उल्लेख गर्नुभएको छ ।


सेन्टरका फार्मेसी इन्चार्जका रुपमा कार्यरत पोखरेल शुक्रबार अस्पतालको दोस्रो तलामा रहेको फार्मेर्सीको स्टोरमा झुण्डिएको अवस्थामा फेला पर्नुभएको थियो ।

घटनाको छानबिन गर्न अस्पतालका पूर्वनिर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन समेत गरिएको छ । समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्