Logo
|
Tuesday 22nd October 2024
Logo

epaper

आजदेखी मकवानपुरका तीन स्थानीय तहमा सुर्तीजन्य पदार्थ निषेध



जनस्वास्थ्य सरोकार, हेटौडा । मकवनपुरका तीन स्थानीय तहले आज देखी मादक पदार्थ तथा सुर्तीजन्य पदार्थहरूमा प्रतिबन्ध लगाउने भएका छन् । मनहरी गाउँपालिका, हेटौडा उपमहानगरपालिका र बकैयाँ गाँउपालिकाले आज देखी मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ निषेध गर्न लागेका हुन् ।

मनहरी गाँउपालिकाले बेचबिखन र प्रयोगमै प्रतिबन्ध लगाउने तयारी गरेको गाँउपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताउनुभयो । पालिकाले नीति तथा कार्यक्रममै मनहरी क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने घोषणा गरेको थियो । मानवीय स्वास्थ्यलाई हानी र्पुयाउने भएकाले सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको अध्यक्ष कालाखेतीले बताउनुभयो ।

बागमती प्रदेशको राजधानी समेत रहेको हेटौँडा उपमहानगरपालिकाले पनि आजदेखी सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने भएको छ । उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले सरकारले जारी गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण एवं नियमन ऐनलाई टेकेर उपमहानगरपालिकाले २०७७ मा बनाएको निर्देशिकाका आधारमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

‘सार्वजनिकस्थलहरू जस्तै विद्यालय, सरकारी कार्यालय, अस्पताल जस्ता क्षेत्रको एक सय मिटर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बेचबिखन र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाउने बताउनुभयो । निर्देशन नमान्ने जोकोहीलाई २५ हजारदेखि ५० हजारसम्म जरिवाना गर्ने जानकारी दिनुभयो । होटेल तथा रेस्टुरेन्टहरूमा समेत छुट्टै स्मोकिङ जोनको व्यवस्था गर्न पत्राचार गर्दै छौँ,’ उहाँले बताउनुभयो ।

मनहरी र हेटौडा जस्तै उता बकैया गाउँपालिकाले पनि सूचना जारी गर्दै पालिकालाई लागुऔषधमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न लागु औषध सहित सुर्ती र मदिरा सेवनमा निषेध गर्न लागिएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले लागुपदार्थमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न गाउँ कार्यपालिकाको बैठकले नै निर्णय गरेर सूचना जारी गरेको बताउनुभयो । हामीले पालिकामा मदिराजन्य पदार्थ जाँड, रक्सी, छ्याङ, तुम्बा, निगार र सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गर्ने तयारी गरेका छौँ,’ उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्