Logo
|
Monday 20th January 2025
Logo

epaper

दैनिक दुई हजार सात सयलाई बहिरंग सेवा दिँदै त्रिवि शिक्षण अस्पताल



जनस्वास्थ्य सरोकार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा दैनिक करिब दुई हजार सात सय बिरामीले सेवा लिँदै आएका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको ५१औँ वार्षिकोत्सवका अवसरमा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेले विभिन्न विधामा दैनिक दुई हजार बढी बिरामीले बहिरङ्ग सेवा प्राप्त गरिरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार बिरामीले अनावश्यक दुःख झेल्न नपरोस् र अस्पतालको सेवालाई थप व्यवस्थित गर्न सकियोस् भनी धेरै भीडभाड हुने नाक, कान, घाँटी, बाथरोग, हाडजोर्नी उपचारसँग सम्बन्धित विभागमा टोकन प्रणाली लागू गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा विभिन्न विधाका ३६ वटा विभागमा करिब दुई हजार दुई सय जनशक्ति कार्यरत रहेको जानकारी दिँदै उहाँले त्रिवि शिक्षण अस्पताल हाताभित्र रहेका विपी कोइराला आँखा उपचार केन्द्र र मनमोहन कार्डियो भास्कुलर ट्रास्प्लान्ट सेन्टर भने अलग्गै रहेको स्पष्ट गर्नुभयो ।

कार्यकारी निर्देशक काफ्लेका अनुसार स्थापनाकालमा तीन सय एक शैय्या रहेको अस्पतालमा अहिले आठ सय एक शैय्या रहेको जानकारी दिँदै प्रा.डा. काफ्लेले छोटो समयका लागि थप दुई सय शैय्यासमेत गरी एकैपटक एक हजार बिरामी अस्पतालमा भर्ना गरी उपचार गर्न सकिने व्यवस्था रहेको छ ।

त्रिवि शिक्षण अस्पतालका बिरामी खचाखच हुने गरेकाले अधिक चाप परेको समयमा अस्पतालमा वैकल्पिक व्यवस्था गरी बिरामीको उपचार व्यवस्था मिलाउने गरेको उहाँले जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक काफ्लेले अस्पतालमा करिब दुई सय फ्याकल्टी डक्टर र नौ सय नर्सिङ स्टाफसहित अन्य आवश्यकीय जनशक्ति विभिन्न सिफ्टमा खटिएर अहोरात्र सेवा प्रदान गरिहेको जानकारी दिनुभयो ।

उहाँले सर्वसुलभ एवं गुणस्तरीय सेवा प्रदान गरी आमजनतालाई विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने एकमात्र लक्ष्य रहेको अस्पताललाई समाजका सबै क्षेत्रबाट साथ, सहयोग आवश्यक रहेको बताउनुभयो । विभिन्न तह र पदका गरी करिब छ सय दरबन्दीको आर्थिक दायित्व सरकारले ब्यहोर्ने भएकाले बाँकी जनशक्तिका सेवासुविधा भने अस्पताल आफैँले व्यवस्था गर्नुपर्नेसमेत उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्