Logo
|
Saturday 27th July 2024
Logo

epaper

औषधि अभावमा नौ हजार क्यान्सर पीडितको जीवन जोखिममा



जनस्वास्थ्य सरोकार, गाजा । अत्यावश्यक औषधिको अभावमा गाजा क्षेत्रका नौ हजार क्यान्सरपीडित सर्वसाधारणको जीवन जोखिममा परेको प्यालेष्टाइनका एक जना वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन् ।

गाजापट्टीमा क्यान्सर रोगीहरू निदान र उपचारको अभावबाट पीडित भएका तथा त्यहाँको जनसङ्ख्यामा क्यान्सर रोगीहरूको सङ्ख्या बढ्दै गएको गाजा क्यान्सर केन्द्रका महानिर्देशक सुभी स्काइकले बताउनुभएको छ ।

महानिर्देशक स्काइकले विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कलाई उद्धृत गर्नुहुँदै ट्युमरको उच्च दरबारे जानकारी दिँदै सन् २०२१ मा गाजामा प्रति एक लाखमा ९० प्रतिशतभन्दा बढी क्यान्सरबाट पीडित भएको बताउनुभयो ।

पत्रकारहरूसँगको कुराकानीमा उहाँले यो सङ्ख्या सन् २०४० सम्ममा दोब्बरले बढ्ने अनुमान गरिएको बताउनुभयो । गाजामा हाल क्यान्सर मृत्युदर १२.५ प्रतिशत छ ।

गाजाका बिरामीलाई रोगको निदानको लागि रेडियोथेरापी र आणविक औषधिमा पहुँच छैन । इजरायलको यात्रा प्रतिबन्धले उनीहरू वेस्ट बैंक वा पूर्वी जेरुसेलममा उपचार गराउन बाध्य छन् ।

स्वास्थ्य अधिकारीहरूले गाजा क्षेत्रका क्यान्सर बिरामीको जीवन बचाउन अन्तर्राष्ट्रिय समुदाय र सम्बन्धित अधिकारीहरूलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेका छन् ।

सन् २००७ मा इस्लामिक प्रतिरोध आन्दोलन (हमास) ले गाजाको तटीय क्षेत्र कब्जामा लिएपछि त्यहाँ बसोबास गर्ने करिब २० लाख प्यालेस्टिानी इजरायली नाकाबन्दीको पीडामा बाँचेका छन् । रासस-सिह्वा

प्रतिक्रिया दिनुहोस्