Logo
|
Tuesday 22nd October 2024
Logo

epaper

दाङमा मोतिबिन्दुको शल्यक्रिया : एक वर्षमा १ हजार ९ सयलाई उज्यालो प्रदान



जनस्वास्थ्य सरोकार, दाङ । उज्यालो अभियान कार्यक्रम अन्तर्गत करिब १९ सय जनाले नयाँ दृष्टि पाएका छन् ।


नेपाल नेत्र ज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न स्थानीय सरकारसँग आर्थिक वर्ष २०७९/८० मा सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रम अन्तर्गत १ हजार ८ सय ९९ जनाको मोतियाबिन्दको निःशुल्क शल्यक्रिया गरी उज्यालो प्रदान गरिएको हो ।


नागरिकहरूले मोतियाबिन्दका कारण दृष्टिविहीन जीवनयापन गर्नु नपरोस् र नेपाल सरकारको आँखा स्वास्थ्य रण्नीतिलाईसमेत सहयोग पु¥याउने उद्देश्यले स्थानीय तहसँग मिलेर मोतिबिन्दको निःशुल्क शल्यक्रियाका लागि गत आर्थिक वर्षमा उज्यालो अभियान सञ्चालन गरिएको प्रमुख प्रशासक शम्शेर थापाले बताउनुभयो ।


यस कार्यक्रम अन्र्तगत एक वर्षमा १ हजार ८ सय ९९ जनालाई उज्यालो प्रदान गरिएको हो । पैसा र पहुँचको अभावमा कोही कसैले पनि अनहाकमै आँखाको ज्योति गुमाउन नपरोस् भन्ने मुख्य उद्देश्यका साथ उज्यालो कार्यक्रम संचालन गरिएको थापाको भनाइ छ ।

उज्यालो अभियान अन्तर्गत राप्ती आँखा अस्पतालले दाङको तुलसीपुर उपमहानगरपालिकामा २ सय ५९ जना, घोराही उपमहानगरपालिकामा १ सय ८७, शान्तिनगर गाउँपालिकामा ८९, बबई गाउँपालिकामा ४९ जना र दंगिशरणमा १०० जना मोतियाबिन्दका विरामीहरूको शल्यक्रिया गरी उज्यालो प्रदान गरिएको बाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले जानकारी दिनुभयो ।


त्यस्तै सबैभन्दा बढी देउखुरीमा रहेको लमही आँखा अस्पतालले लमही नगरपालिका भित्रका ४ सय ७ जना, गढवा गाउँपालिकामा ३ सय १०, रापजपुर गाउँपालिका वडा नं ३ मा ५ र लमही नगरपालिका वडा नं. ६ मा ९ जनाको गरी ७ सय ३२ जना यस आर्थिक वर्षमा मोतियाबिन्दको शल्यक्रियामार्फत् नयाँ दृष्टि पाएको नेत्र सहायक विमल घिमिरेले जानकारी दिनुभो ।
त्यस्तै लमही आँखा अस्पतालले प्युठानको सरुमाई रानी गाउँपालिकामासमेत साझेदारी मार्फत उज्यालो अभियान पु–याई ४९ जना मोतियाबिन्दका विरामीहरूको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको छ ।


त्यस्तै छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जले पनि कृष्णनगर नगरपालिकाका वडा नंं. ३ देखि १२ सम्म २ सय ५५ जना विरामीहरूको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको बाह्य कार्यक्रम सहसंयोजक हरी भण्डारीले जानकारी दिनुभयो ।


यसैगरी, कपिलस्तुको बुद्धभूमि नगरपालिकामा १ सय जना र शिवराज नगरपालिकामा ८० जना मोतियाबिन्दका विरामीहरूको आँखा शल्यक्रिया गरिएको प्रशासकीय अधिकृत जसराज विश्वकर्माको भनाइ छ ।


यस अभियानले दृष्टिविहीनताको न्यूनीकरण हुनुका साथै उज्यालो अभियानले आर्थिक अभाव तथा अन्य कारणले घरमा नै दृष्टिविहीन भएर बसेकाहरूलाई सहज भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले जानकारी दिनुभयो ।


त्यस्तै सरूमारानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले पालिकामा रहेको अन्धोपन न्यूनीकरण गर्न आफूहरू लागेको बताउनुभयो । ‘उज्यालो अभियान जनताका लागि अति आवश्यक कार्यक्रम हो । पालिकाको अन्धोपन न्यूनीकरणका लागि साझेदारी कार्यक्रम गरी यस वर्ष कम्तीमा पनि आधालाई उज्यालो प्रदान गर्ने लक्ष्य छ’, उहाँले भन्नुभयो ।


उहाँले यस आर्थिक वर्षमा करिब ४९ जनाको मोतियाबिन्दको निःशुल्क शल्यक्रिया भएको बताउँदै अब ३२० जनाको शल्यक्रिया गर्नुपर्ने बाँकी रहेको र यस वर्ष आँखाका आधा रोगीलाई शल्यक्रिया गरिने जानकारी दिनुभयो ।


त्यस्तै दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले पनि आँखा अस्पताल र आफूहरूको साझेदारीमा पहिलो पटक सञ्चालन भएको यो अभियान प्रभावकारी भएको बताउनुभयो । उहाँले उज्यालो आँखा कार्यक्रमलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिइने बताउनुभयो ।


त्यस्तै घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका तथा अन्य गाउँ तथा नगरपालिका र वडाहरूले पनि यस अभियानलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिने उहाँको भनाइ छ ।


नेपाल नेत्रज्योति संघको ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ कार्यक्रमलाई सफल बनाउन सबै स्थानीय पालिकामा छलफलसमेत भएको प्रमुख प्रशासक शम्शेर थापाले बताउनुभयो ।


उहाँले जनप्रतिनिधिले पालिकाका जनतालाई उज्यालो अभियान सञ्चालन गरी अन्धोपन हटाउन साझेदारी गर्ने प्रतिवद्धता जनाएको समेत उल्लेख गर्नुभयो ।

नेपाल नेत्र ज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखामार्फत आँखासम्बन्धी गुणस्तरीय उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्