Logo
|
Wednesday 1st May 2024
Logo

epaper

दाङमा पनि देखिन थाले डेङ्गु



जनस्वास्थ्य सरोकार, दाङ । दाङमा डेङ्गुका बिरामीहरू देखिन थालेका छन् । गत जेठ ७ गतेदेखि साउन ४ गतेसम्म ४ जना बिरामीहरूलाई डेङ्गु पुष्टि भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ ।


ती बिरामीमध्ये अहिले एकजना अस्पतालमा भर्ना भएको र अरु बिरामीहरूमा सामान्य लक्षण देखिएको हुँदा असर नपर्ने भएकाले औषधि दिएर डिस्चार्ज गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले जानकारी दिनुभयो ।


उहाँका अनुसार डेङ्गु विशेषगरी साउनदेखि मंसिर महिनासम्म बढि देखिने भएकाले गत आर्थिक वर्षको साउनदेखि मंसिरसम्म १५१ जनामा डेङ्गु संक्रमण पुष्टि भएको थियो । ७ सयजना बिरामीहरूलाई परीक्षण गर्दा १५१ जनामा संक्रमण देखिएको समेत उहाँले बताउनुभयो ।


‘बर्खायामको सुरुवातसँगै अब डेङ्गुको बिरामीहरू बढ्ने क्रम जारी छ । अहिले पनि अस्पतालमा आएका एक सय जना बिरामीहरूको स्वास्थ्य परीक्षण गर्दा एक/दुई जनामा देखिएको छ’, उहाँले भन्नुभयो ।


उहाँले यसबाट बच्न घर आँगन सफा राख्नु पर्ने र लामो कपडा लगाउनु पर्ने र सुत्दा झुलको प्रयोग गर्नुपर्ने समेत बताउनुभयो ।
डेङ्गु लागेका बिरामीहरूलाई साधारणतया रुघाखोकी लाग्ने, आँखा रातो हुँदै जाने, शरीर दुख्ने, टाउको दुख्ने, खाना मन नलाग्ने, वाकवाकी लाग्ने जस्ता लक्षण देखिनेसमेत उहाँले बताउनुभयो ।


त्यस्तै, सरकारी अस्पतालमा मात्र नभई निजी मेडिकल तथा अस्पतालहरूमा पनि डेङ्गु संक्रमणका बिरामीहरू देखिन थालेका छन् ।


तुलसीपुरमा मात्रै नभई घोराही, लमही क्षेत्रमा पनि डेङ्गुका बिरामीहरू देखिएका छन् । जिल्लामा गत वर्ष २ हजार ४ सय जना ब्यक्तिमा डेङ्गु संक्रमण भएको थियो भने एकजनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्