Logo
|
Saturday 27th July 2024
Logo

epaper

वीर अस्पतालमा भीआईपी र भीभीआईपीका लागि थप कक्ष

विशेषज्ञ चिकित्सकको टिमले गर्नेछ उपचार



जनस्वास्थ्य सरोकार, काठमाडौं । वीर अस्पतालले विशिष्ठ व्यक्तिहरू (भीआईपी र भीभीआईपी) का लागि थप शैया र सुविधासहितका कक्ष सञ्चालनमा ल्याएको छ ।


नयाँ सर्जिकल भवनमा ३ शैया थप गरेर कुल ५ शैया भीआईपी र भीभीआईपीका लागि सुविधा सम्पन्न कक्ष सञ्चालनमा ल्याइएको हो ।


यसअघि अस्पतालको पुरानो भवनमा भीआइपी र भीभीआईपीका लागि दुई वटा शैया थियो ।


भीआईपी र भीभीआईपी कक्षको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले अवलोकन गरेपछि सञ्चालनमा आएको हो ।


चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा. डा. भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठन भएको भीआईपी तथा भीभीआईपी उपचार विशेषज्ञ समितिमा डा. किरण श्रेष्ठ, डा. ध्रुव गैरे, डा. रविराम श्रेष्ठ, डा. शैली प्रधान, डा. भगवान कोइराला, डा. पुकारचन्द्र श्रेष्ठ, डा. महेश अधिकारी, डा. सुभाष आचार्य, डा. सन्दुक रुइत, डा. शशी शर्मा, डा. रत्न गजुरेल, डा. भोला रिजाल, डा. मनबहादुर केसी र डा. रमेश चोखानी रहनु भएको छ ।


उपकुलपति डा. बस्नेतले पहिले पनि भीआईपी र भीभीआईपीहरू उपचारका लागि ओपिडीमा आउने गरेको जानकारी दिँदै केही समय यता भर्ना नै हुने गरी कोही नआएको तर अब सुविधा सम्पन्न भएपछि उपचारका लागि आउने विश्वास व्यक्त गर्नुभयो ।


वीरमै सुविधा सम्पन्न कक्षको व्यवस्था र उपचारका लागि सरकारी र निजी क्षेत्रका गरी १५ सदस्यीय विशेषज्ञ चिकित्सकको टिम बनाइएको छ । त्यही टिमले उपचार गर्नेछ ।


उपचार कक्षमा आवश्यक उपकरणसहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतिक्षालयसहित किचेन समेतको सुविधा छ । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले पुरानो भवनमा २ र नयाँ सर्जिकल भवनमा ३ शैया थप गरेर ५ शैयाको भीआईपी तथा भीभीआईपी कक्ष सञ्चालनमा आएपछि उपचारका लागि विदेश जाने चलन कम हुने बताउनुभयो ।


बिहान ८ बजेदेखि नै ओपिडी सेवा सञ्चालन गरेपछि अहिले धेरै विरामीले वीर अस्पतालमा सहजरुपमा सेवा पाइरहेको डा. पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्