Logo
|
Saturday 27th July 2024
Logo

epaper

भरतपुर अस्पतालको सिटी स्क्यान मेसिन बिग्रियो



जनस्वास्थ्य सरोकार, चितवन । भरतपुर अस्पतालको सिटी स्क्यान मेसिन बिग्रिए पछि सेवा बन्द भएको छ । अस्पतालले मंगलबार सूचना जारी गर्दै मेसिनको सफ्टवेयर र हार्डवेयरमा समस्या आएकाले केही दिनका लागि सेवा बन्द हुने जानकारी गराएको छ ।


सिटी स्क्यान मेसिन उपलब्ध गराउने हस्पिटेक इन्टरप्राइजेज प्रालिसँग मेसिनको बार्षिक मर्मत तथा विस्तृत मर्मतको सम्झौता अवधि ४ साउनसम्म सकिएको चार दिनपछि मेसिन बिग्रिएको हो ।


अस्पतालको सिटी स्क्यान मेसिनबाट दैनिक ४०/५० जना बिरामीले सेवा लिँदै आएका थिए । २०७४ जेठमा ६ करोड ४७ लाख रुपैयाँ खर्चिएर खरिद गरिएको सिटी स्क्यान मेसिन वारेन्टी समय सकिएको पाँच महिनामै बिग्रिएको हो ।


मेसिनमा पटकपटक समस्या आएपछि अस्पतालले सिटीस्क्यान सप्लाई गर्ने कम्पनीलाई नै बर्षको ५० लाख दिने गरेर मर्मत सम्भारसम्बन्धी सम्झौता गरेको थियो ।


अस्पतालमा सिटी स्क्यान गरेको रकम तीन हजारदेखि ९ हजारसम्म तिर्नुपर्छ भने निजीमा ४ हजारदेखि १३ हजारसम्म तिर्नुपर्छ । यसअघि भरतपुर अस्पतालमा सिटीस्क्यान गर्दै आएका बिरामी अब निजी अस्पताल र प्रयोगशालामा जानुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्