Logo
|
Friday 3rd May 2024
Logo

epaper

कोशी प्रदेशमा ७ हजार २७३ जनामा डेंगी संक्रमण



जनस्वास्थ्य सरोकार, धनकुटा। कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमण दिनानुदिन बढ्दै गएको छ ।

डेंगी संक्रमण प्रदेशका १४ मध्ये १३ जिल्लामा फैलिएको छ । डेंगीबाट हालसम्म सुनसरीका नौ जनाको मृत्यु भएको र सोलुखुम्बुमा जिल्लामा भने हालसम्म संक्रमण देखा नपरेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जानकारी दिएको छ ।

कोशी प्रदेशमा बुधवारसम्ममा ७ हजार २७३ जनामा डेंगी संक्रमण देखिएको छ । कोशी प्रदेशका १४ मध्ये सुनसरी, मोरङ र झापामा डेंगीको संक्रमण बढी देखिएको छ ।

स्वास्थ्य निर्देशनालय धनकुटा दिएको जानकारी अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी सुनसरीमा संक्रमण बढी मात्रामा संक्रमण देखिएको छ भने सोलुखुम्बुमा हालसम्म सङ्क्रमण देखिएको छैन । बुधवारसम्म सुनसरीमा ४ हजार ८ सय ७४, मोरङमा १ हजार १ सय ७१, झापामा ५ सय ६४, उदयपुरमा १ सय ९२ र धनकुटामा १ सय ३४ जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

यस्तै, भोजपुरमा ९८, सङ्खुवासभामा ९७, तेह्रथुममा ६७, इलाममा ३८, पाँचथरमा १६, ताप्लेजुङमा १२, ओखलढुङ्गामा ६ र खोटाङमा ४ जनामा संक्रमण देखिएको उहाँले बताउनुभयो ।

डेंगी सङ्क्रमणबाट हालसम्म कोशी प्रदेशमा ९ जनाको मृत्यु भएको र ती सबै सुनसरीका रहेको निर्देशनालयले जनाएको छ । डेंगीको संक्रमण तीव्र रूपमा फैलिएपछि कोशी प्रदेशका सबै जिल्लामा ‘खोज र नष्ट गर’ अभियान चलाउन आग्रह गरिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक बस्नेतले जानकारी दिनुभयो ।

डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न र अन्य सावधानी अपनाउन सुझाएको स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य अधिकृत विवेचना गौतमले जानकारी दिनुभयो ।

बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटालाई रोगसँग लड्न कुनै कसर बाँकी नराख्न निर्देशन जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्