Logo
|
Saturday 27th July 2024
Logo

epaper

हेटौडा अस्पतालमा आँखा पाक्ने बिरामीको भीड



जनस्वास्थ्य सरोकार, हेटौँडा । हेटौँडालगायत मकवानपुर जिल्लामा आँखा पाक्ने रोगका बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

आँखा पाक्ने रोग लागेपछि हेटौँडा सामुदायिक अस्पतालमा उपचार गराउनेको संख्या बढ्दै गएको छ । आँखा रातो हुने, चिलाउने, दुख्ने र आँखाबाट पानी आउने गरेपछि उपचार गराउनेको संख्या अहिले अत्यधिक भएको अस्पताल प्रशासनले जनाएको छ ।

दैनिक दुई सयको हाराहारीमा उपचार गराउन आउने आँखाका बिरामी रहेको सो अस्पतालमा अहिले दैनिक सात सयसम्म आँखा पाक्ने रोगको बिरामी आउने गरेको बताइएको छ ।

अस्पतालका नेत्र विशेषज्ञ डा. सुनिल थकालीले सो अस्पतालमा आँखा पाक्ने रोगको सङ्क्रमणका बिरामी दैनिक करिब सात सयको हाराहारीमा आउने गरेको जानकारी दिनुभयो ।

आँखाका बिरामीको संख्या अत्यधिक भएपछि अस्पतालले उपचार कसरी दिने भन्ने विषयमा बैठक बसेर छलफलसमेत भएको उहाँले जानकारी दिनुभयो ।

बैठकले आकस्मिक उपचारका लागि मात्र आउनका लागि सूचना जारी गरेकोे छ भने अस्पतालको क्षमताअनुसार दैनिक पाँच सय मात्र टिकट वितरण गर्ने प्रणाली सुरु गरिएको बताइएको छ ।

अस्पतालमा उपचार गराउन आउनेमध्ये बालबालिका अत्यधिक रहेको अस्पतालका प्रमुख सुधीर श्रेष्ठले जानकारी दिनुभयो । विद्यालयमा एउटै कक्षामा धेरै बालबालिका अध्ययन गर्ने र बस्ने गर्दा सो रोगको सङ्क्रमण विद्यार्थीहरूमा बढ्दै गएको हो । ती बालबालिकाबाट घरका सदस्यहरूमा आँखा पाक्ने रोग सरिरहेको छ ।

अस्पतालका अर्का आँखा विशेषज्ञ डा एलिना गौचनका अनुसार बिरामीको संख्या बढ्दै गएपछि अस्पतालको फार्मेसीमा मौज्दात औषधि सकिन लागेको र अभावको स्थिति आएको छ ।

बिरामी जति संख्यामा बढ्दै जान्छ त्यति नै संख्यामा औषधिको आवश्यकता रहेकाले अबको केही दिनमा औषधिको अभाव हुने निश्चित रहेको उहाँले जानकारी दिनुभयो ।यस्तो अवस्थामा पनि सङ्क्रमणका रूपमा फैलिएको सो रोगको सम्बन्धमा हेटौँडा उपमहानगरपालिका, जनस्वास्थ्य कार्यालय हेटौँडा र अन्य पालिकाले खासै ध्यान नदिएको अस्पतालका चिकित्सकहरूको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्