Logo
|
Saturday 27th July 2024
Logo

epaper

सांसद भण्डारीको आज पुनः शल्यक्रिया, क्यानडाबाट आएका डा. तिमोथीले नेतृत्व गर्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको आज पुनः शल्यक्रिया गरिने भएको छ । करिब ६ महिना अगाडि आगलागीमा परी घाइते भएका उहाँको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा हात र पछाडिको भागको शल्यक्रिया हुन लागेको अस्पतालका प्रमुख प्रा.डा. शङ्कर राईले जानकारी दिनुभयो ।

पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै उहाँको शल्यक्रिया गर्न लागिएको अस्पतालले जनाएको छ । उहाँको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकीमूलका चिकित्सक डा. तिमोथी स्प्रौलसमेत आउनुभएको अस्पतालका प्रमुख डा. राईले बताउनुभयो । नेता भण्डारीले आफ्नो उपचारका लागि राज्यले दिएको रकम पनि फिर्ता गर्ने घोषणा गरेकाले डा. स्प्रौल आफ्नै खर्चमा डा. भण्डारीको शल्यक्रिया गर्न आउनुभएको हो ।

डा. स्प्रौललाई परराष्ट्रमन्त्री एनपी साउद र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वागत गर्दै धन्यवाद ज्ञापन गर्नुभएको डा. भण्डारीका सहयोगी वोधराज कँडेलले जानकारी दिनुभयो । डा. भण्डारीको शल्यक्रिया डा. स्प्रौलसँगै प्रा.डा. बिडी झा, प्रा.डा. शङ्करमान राई, सहप्राध्यापक किरण किशोर, डा.अनुप सुवेदी, डा. प्रदीप राजभण्डारी, ड.प्रविन गिरी, डा.निजिना ताम्राकार र मोहनकृष्ण डङ्गोलसहितको टोलीले गर्नेछ ।

गत फागुन ३ गते राति आगलागीमा परेका सांसद डा. भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो । भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उहाँको गत वैशाख १९ गतेदेखि काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।

कीर्तिपुर बर्न अस्पतालका प्रमुख डा राईसँग परामर्श र निगरानीमा नै उहाँलाई फ्रन्टलाइनमा उपचार गराइएको थियो । अस्पतालमा उहाँलाई फिजियो थेरापी, ड्रेसिङलगायतका उपचार गराइएको थियो । उहाँको उपचारका लागि अस्पतालले पनि शुल्क नलिने घोषणा गरेको थियो । राज्यले दिएको रकम फिर्ता दिएकाले उनलाई सहयोग गर्न चाहनेहरू झन् बढेको उहाँका निकटस्थहरूले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्