
जनस्वास्थ्य सरोकार, सिमकोट । कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमै ज्यान गुमाउनु परेको छ। खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा जहाज कुर्दा कुर्दै ४ बालकको ज्यान गएको छ।
विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजानका लागि जिल्ला अस्पतालले रिफर गरे पनि यातायातको सुविधा नहुँदा अस्पतालको शय्यामै ज्यान गुमाएका हुन्। जिल्लाको एक मात्र सिमकोट विमानस्थलमा लामो समयदेखि हवाई उडान नहुँदा बिरामी मर्कामा परेका छन्।
सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ६ महिनाका इमरान सुनार, सिमकोट–७, डाँडाफयाका सात महिनाका रोहित शाही, खार्पुनाथ–१ लालीका १७ महिनाका आर्यन परियार र चङ्खेली–४ का पाँच महिनाका बालक सन्देश लुवार उपचार अभावमा ज्यान गुमाएको जिल्ला अस्पतालका सिनियर अनमी सरीता बोहराले बताउनुभयो ।
‘हवाई सेवा प्रभावित हुँदा गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र लैजान सकिएको छैन,’उहाँले भन्नुभयो । नागरिक उड्डयन प्राधिकरणले हिमाली जिल्लामा मध्याह्न साढे १२ बजेपछि उडान गर्न नपाइने नयाँ नियम लागू गरेसँगै हुम्लामा हवाई सेवा नियमित छैन। बर्खाको बेला हुम्लामा बिहान मौसम खराब रहने र प्राधिकरणको नयाँ नियमानुसार साढे १२ बजेपछि उडान गर्न नपाइने भएकाले बिरामीलगायत अत्यावश्यक कामले जिल्लाबाहिर जानुपर्नेहरु बढी समस्यामा परेका छन्।
जिल्ला अस्पतालले उपचार हुन नसक्ने भन्दै रिफर गरेका ६ महिनाका इमरानको जहाज उडान नियमित नहुँदा उपचारका जिल्लाबाहिर लैजान नसक्दा मृत्यु भएको बालकका बुबा सिमकोट गाउँपालिका–६ का सुरज सुनारले गुनासो पोख्नुभयो । आर्थिक अवस्था कमजोर हुनाका साथै जिल्लामा हवाई सेवा सञ्चालन नहुँदा छोरा गुमाउनु परेको उनले दुःखेसो पोख्नुभयो ।
अस्पतालका चिकित्सक डा. रोशन रावतका अनुसार सुनारलाई यही साउन १७ गते उपचारका लागि अन्यत्र लैजान सिफारिस गरेको थियो। निमोनिया भएपछि उनलाई साउन १४ गते अस्पताल भर्ना गरिएको थियो।
‘बालकमा निमोनिया, झाडापखालालगायत समस्या थियो, यहाँ उपचार सम्भव भएन,’ डा रावतले भने। सुनारको यही साउन २६ गते अस्पतालमै मृत्यु भएको हो। रासस
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
