Logo
|
Friday 3rd May 2024
Logo

epaper

कर्निया प्रत्यारोपणः १७ वर्षपछि आँखाको ज्योति फर्किएपछि…



डा. भाइराजा श्रेष्ठ, कर्निया स्पेशलिष्ट


आइरिसको अघिल्लो भागमा रहेको पारदर्शी पातलो झिल्लीलाई कर्निया (आँखाको नानी) भनिन्छ । आँखाको अगाडी पट्टीको कालो भाग ‘आईरीस’ हो । यो रङ्गिन टिस्यूले बनेको हुन्छ । कर्नियाले आँखाको पावर र फोकसको काम गर्छ । कर्निया जति सफा र पारदर्शी भयो, त्यतिनै आँखाले प्रष्ट देख्न सक्छ ।

घटना नं.१
भारतको आसाम घर भएकी २६ वर्षीया एक महिलाको ८ वर्षको उमेरबाट दुवै आँखाको ज्योति गुम्छ । दुवै आँखामा सेतो दाग देखिन्छ । उहाँलाई भिटामिन ए को कमीले केराटोमालेसिया भएको थियो । यस प्रकारको समस्यामा आँखाको नानी सुक्ने वा वादल लाग्ने हुन्छ । रातको समयमा नदेखिने प्रारम्भिक लक्षण हो । समस्या विस्तारै बढ्दै जान्छ । आँखाबाट केहि छिटफुट प्रकाश छिरेपनि उहाँले बाहिरी संसार देख्न पाउनुभएको थिएन । म उहाँको नानी प्रत्यारोपणमा सामेल हुने मौका पाएको थिएँ । दुवै आँखामा सफल नानी प्रत्यारोपण सम्पन्न भयो । उहाँले झण्डै १७ वर्ष पछि पुनः आँखाको ज्योति फिर्ता पाउनुभयो । उहाँको खुशीको कुनै सिमा थिएन । यो सन् २०१६ तिरको कुरा हो । यो मेरो करियरको शुरूवाती थियो । त्यो बेला म तिलगंगा आँखा प्रतिष्ठान र न्यूयोर्क आई एण्ड इअर इनफर्मरी अमेरिकाबाट आँखाको नानी प्रत्यारोपणमा ३÷३ महिनाको फेलोशिप कोर्ष सकेर आँखाको नानी प्रत्यारोपणमा भर्खर सामेल भएको थिएँ । कामको शिलशिलामा कहिलेकाँही झापा पुग्दा भेट्नका लागि उहाँ एक दिन पहिलेदेखि आएर पर्खेर बस्नुहुन्थ्यो ।

घटना नं.२.
उहाँ भारतको आसाममा बसोबास गर्ने नेपाली युवा । दुवै आँखाको नानीमा ‘कर्नियल डिस्ट्रोफी’ हुन्छ । ‘कर्नियल डिस्ट्रोफी’ एक वंशाणुगत रोग हो । यसले आँखाको नानीको कोषलाई नष्ट गरेर सेतोपना निम्त्याउँछ । तर उहाँको दाहिने आँखाको बाहिरपट्टीको भागमा मात्र सेतोपन थियो । ५ वर्षअघि हामीले उहाँको कर्नियाको बाहिरी लेयर मात्र प्रत्यारोपण ग¥यौँ । उहाँले भोलिपल्टबाटै देख्न थाल्नुभयो । त्यसपछि उहाँले सँगै फोटो खिच्नुभयो र भन्नुभयो— ‘डा. साब, हजुर मेरो जीन्दगीमा भगवान बनेर आउनुभयो, हजुरको फोटोलाई सधैँ पुज्ने छु ।’ मैले केही जवाफ दिइँन । त्यसको केहि वर्ष पछि दोस्रो आँखाको पनि शल्यक्रिया भयो । तर, अफसोच ! शल्यक्रिया गरेको केहि समयपछि नै कर्नियाको भित्री लेयरमा संक्रमण भएर पुनः देब्रे आँखाले देख्न छाड्यो । हामीले केहि समयअघि मात्र उहाँको देब्रे आँखाको कर्नियाको भित्री लेयर प्रत्यारोपण गरेका छौँ । एक महिना पछि फलोअप छ । हेरौँ रिजल्ट कस्तो आउँछ ।

कस्तो समस्यामा कर्निया प्रत्यारोपण गर्ने ?

कर्नियामा समस्या भएपछि आँखा भित्र प्रकाश राम्रोसँग छिर्न पाउँदैन । छिरेको प्रकाश पनि फिजारिन्छ । यसले देख्न समस्या हुन्छ । यदि गर्भावस्थामा आमालाई ‘टर्च इन्फेक्सन’ भएमा बच्चाको आँखाको नानीमा दाग आउने वा घाउ हुने जोखिम रहन्छ ।

आँखाको नानीमा संक्रमण, चोटपटक, कर्नियल अल्सर, जन्मजात फुलो, विभिन्न घरेलु तथा हानिकारक परम्परागत उपचार आदिका कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुन्छ । यसरी आँखाको नानीमा भएको समस्याको अवस्था र जटिलताका आधारमा नानी प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउनुपर्छ ।

कोर्निया कहाँ पाइन्छ ?

मृतकको शरीरबाट आँखाको नानी निकालेर प्रोसेसिङ गरेको १४ दिनसम्म प्रयोग गरिसक्नुपर्छ । अन्यथा नानी आफैँ नष्ट हुन्छ । नेपालको सन्दर्भमा नेपाल आँखा बैंकले मृत्युपछि आँखाको नानी संकलन गर्दै आएको छ । यो देशभरका आँखा अस्पतालका लागि नानी संकलन र वितरण गर्ने केन्द्रको रूपमा स्थापित छ ।

प्रत्यारोपित कर्निया रिजेक्सन दर कति हुन्छ ?

प्रत्यारोपण गरिएको कर्निया (आँखाको नानी) शरीरले फाल्ने कोसिस गर्छ । तर मिर्गौला, कलेजो र फोक्सोको तुलनामा कर्निया प्रत्यारोपणको अस्वीकार दर (रिजेक्सन रेट) कम हुन्छ । कर्निया प्रत्यारोपण सबैभन्दा सफल प्रत्यारोपण मानिन्छ ।

झण्डै ९० प्रतिशत आँखाको नानी प्रत्यारोपण सफल हुने गर्छ । कर्नियामा रगतको आपूर्ति नहुने भएकाले अस्वीकार दर न्यून भएको हो । कसैकसैलाई आँखाको नानी प्रत्यारोपणपश्चात् रिजेक्सन दर न्यूनिकरण गर्न स्टेरोइड, इम्युनोसप्रेसन औषधि चलाउनुपर्ने हुनसक्छ । अधिकांशलाई भने आँखामा हाल्ने झोल औषधि चलाइन्छ ।

प्रत्यारोपित कर्नियाले कति वर्ष काम गर्छ ?

कर्निया भित्र विभिन्न लेयरहरु हुन्छन् । सबैभन्दा भित्रि लेयरमा इन्डोथेलियल सेल हुन्छ । यसले आँखाको नानीलाई जीवित राख्ने काम गर्छ । यसले आँखाको पानीमा हुने पोषणयूक्त तत्व (न्यूट्रियन्ट) शरीरका विभिन्न भागमा पम्प गर्ने काम गर्छ । मानिसको बढ्दो उमेरसँगै इन्डोथेलियल सेलको संख्यामा क्रमशः ह्रास आउँछ । नवजात शिशुको आँखाका ६ हजार इन्डोथेलियल सेल हुँदा ६०–७० वर्षको बृद्धको आँखामा २ हजार भन्दा कम हुनसक्छ । यदि इन्डोथेलियल सेल ५ सय भन्दा कम भएमा नानी सुन्निने, आँखा नदेख्ने समस्या हुनसक्छ । प्रत्यारोपण गरिएको आँखाको नानी गुणस्तरीय भएमा लामो समय काम गर्न सक्छ ।


कस्ता कर्निया रिजेक्ट गरिन्छ ?

सर्वप्रथम मृतकको शरीरबाट निकालिएको आँखाको नानी संक्रमण वा सरुवा रोग भएनभएको, सेलको संख्या, नानीको गुणस्तर जाँच गर्नुपर्छ । यदि कर्नियामा इन्डोथेलियल सेल ५ सय भन्दा कम भएमा सिधै रिजेक्ट गरिन्छ । आँखाका नानी दृष्टि बाहेक अन्य प्रयोजनका लागि पनि प्रयोग हुनसक्छ ।

कति समयसम्म फलोअपमा बस्नुपर्छ ?

आँखाको नानी प्रत्यारोपण गरेको व्यक्ति आजीवन चिकित्सकको परामर्शमा बस्नुपर्छ । नानी प्रत्यारोपण गरेको १२ देखि १८ महिनासम्मलाई क्रिटिकल पिरियड मानिन्छ । नानी प्रत्यारोपण गर्दा स–साना धागो (सुचर) ले सिलाइन्छ । यसलाई १२ देखि १८ महिना पछि खोलिन्छ । यो अवधिमा बिरामीले विशेष सावधानी अपनाउनुपर्दछ । चोटपटकबाट बचाउनुपर्छ । लामो समयसम्म औषधि प्रयोग गर्नुपर्छ । नानी प्रत्यारोपण गरेको सुरुवाती २ हप्ता सम्म एक दिन बिराएर बिरामीको जाँच गरिन्छ । त्यसपछि १ महिना, ३ महिना ६ महिना र एक वर्षको अन्तरालमा बिरामीले नियमित फलोअपमा आउनुपर्छ । आँखामा कुनै प्रकारको समस्या देखिएमा तुरुन्तै आउनुपर्छ । बिस्तारै विस्तारै औषधिको मात्रा घटाउदै लगिन्छ । शल्यक्रिया गरेको एकवर्ष पछि दिनको एकपटकमात्र आँखामा औषधि राखे पुग्छ । त्यस्तै धागोले सिलाएको ठाउँमा संक्रमण हुन नदिन एन्टिबायोटिक औषधि सिफारिस गरिन्छ ।


नेपालमा कर्नियाको माग कस्तो छ ?

नेपालमा हरेक वर्ष ६ हजार मानिसलाई आँखाको नानी प्रत्यारोपण जरुरी हुने अनुमानित आंकलन छ । त्यसमध्ये हरेक वर्ष एक हजार बढीको आँखाको नानी प्रत्यारोपण गरिरहेका छौँ ।

नेपालमा अझैपनि ५ हजार व्यक्तिलाई आँखाको नानी अपुग छ । नेपालमा हालसम्म मृत्युपश्चात संकलित आँखाको नानीबाट १२ हजार ३ सय ४० व्यक्तिले पाए पुनः दृष्टि पाएको नेपाल आँखा बैंकले बताएको छ ।

आँखाको नानी विदेश पनि पठाइन्छ ?

केहि वर्ष पहिलेसम्म विदेशबाट आँखाको नानी नेपाल ल्याइन्थ्यो । अहिले पाकिस्तान भुटानमा आँखाको नानी निर्यात गरिन्छ । आँखाको नानी प्रोसेस गरेको १४ दिन भित्र प्रायोग भइसक्नुपर्छ । यदि सो अवधिमा कोही प्रत्यारोणका लागि नआएमा कानूनी प्रकृया पूरा गरेर विदेश पठाइन्छ ।

कति खर्च लाग्छ ?

बिरामीले आँखाको नानी किन्नुपर्दैन । मृत्युपश्चात् संकलित आँखाको नानीलाई ल्यावमा प्रोसेस गर्दा लाग्ने खर्च र शल्यक्रिया वापतको खर्च तिर्नुपर्छ । एउटा आँखाको नानी प्रत्यारोपण गर्दा ८ देखि २० हजार सम्म खर्च लाग्न सक्छ । कुन प्रयोजनका लागि नानी प्रत्यारोपण गरिएको सो अनुसार शुल्क तलमाथि हुन सक्छ ।

यदि आँखा हेर्न कर्निया प्रत्यारोपण गरिएको छ भने १८ देखि २० हजार खर्च लाग्नसक्छ । कुनै संक्रमणबाट आँखा बचाउन कर्निया प्रत्यारोपण गर्दा ८ देखि १० हजार सम्म खर्च लाग्नसक्छ । पहिला आँखाको नानीको पुरै भाग प्रत्यारोपण गरिन्थ्यो । अहिले बिरामीको आवश्यकता अनुसार कर्नियाको लेयरमात्र पनि प्रत्यारोपण गर्न सकिन्छ ।

इन्डोथेलियल सेलले काम नगरेर नानी बिग्रिएको अवस्थामा भित्रको पातलो झिल्ली मात्र फेरेपनि हुन्छ । यसलाई विशेष किसिमको मेसिनले काटेर निकाल्नुपर्ने भएकाले शुल्क अझ बढी लाग्न सक्छ । प्रत्यारोपण भएका नानी, रिजेक्ट संख्यालगायत सम्पूर्ण विवरण नेपाल आँखा बैंकलाई बुझाउनुपर्दछ ।

नानी प्रत्यारोपणपछिको जीवनशैली कस्तो हुनुपर्छ ?

आँखालाई धुवाँधुलोबाट बचाउनुपर्छ । घर बाहिर निस्कदा चश्मा लगाएर निस्कनुपर्छ । आँखालाई चोटपटकबाट बचाउनुपर्छ । खानपान बार्नुपर्दैन । धुमपान मद्यपान भने गर्नुहुँदैन ।

आँखामा लगाउने लेन्स र कर्नियामा के फरक छ ?

आँखाको नानी र मोतियाबिन्दु हुँदा लगाउने लेन्स फरक हुन् । कहिलेकाहीँ लेन्स राख्ने शल्यक्रिया हुँदा आँखाको नानीमा असर पर्न सक्छ । लेन्स हाल्दा आँखाका नानी ड्यामेज हुने, नानीको सेल मरेर भित्रपटटीको भाग मात्र पनि फेर्नपर्ने हुनसक्छ । यसलाई मेडिकल भाषामा स्युडोफेकिक बुल्लस केराटोप्याथी भनिन्छ ।
(डा. श्रेष्ठ दृष्टि आई केयर केन्द्रमा सिइओ हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्