Logo
|
Wednesday 8th May 2024
Logo

epaper

जलविन्दुः ‘दृश्यको मौन चोर’, कारण, लक्षण र उपचार

जलविन्दुको नियमित परीक्षण गर्न विज्ञको सुझाव



जनस्वास्थ्य सरोकार, चितवन । आँखामा लाग्ने जलविन्दु (ग्लुकोमा) रोगको नियमित परीक्षण गर्न चिकित्सकले सुझाव दिएका छन् । रोग लागेपछि जीवनभर औषधि उपचारमा लाग्नुपर्ने भएकाले समयसमयमा परीक्षण गरिरहनुपर्ने उनीहरुको भनाइ थियो ।

यस रोगलाई प्रायः ‘दृश्यको मौन चोर’ भनिन्छ । जलविन्दुले लक्षण नै नदेखाइ विस्तारै छेउछेउबाट दृष्टि बिगार्दै जान्छ । अन्तिम अवस्थामा पुगेपछि त्यसलाई निको बनाउन सकिँदैन । भरतपुर आँखा अस्पतालमा शनिबार आयोजना गरिएको जलविन्दुसम्बन्धी जनचेतनामूलक कार्यक्रममा चिकित्सकले जलविन्दु रोगको नियमित परीक्षण गर्न सुझाव दिएका थिए ।

उक्त अस्पतालका जलविन्दु विभाग प्रमुख डा. रञ्जित साहले जलविन्दुको उपचार औषधि, लेजर प्रविधि र शल्यक्रियामार्फत गर्न सकिने जानकारी दिनुभयो ।

शल्यक्रिया अन्तिम विकल्प रहे पनि जीवनभरका लागि नहुने उल्लेख गर्दै प्रमुख साहले भन्नुभयो “शल्यक्रिया गरे पनि कुनै समयमा पुगेर पुनःकाम नगर्न सक्छ । आधुनिक लेजर प्रविधि जलविन्दुको अवस्था हेरेर अपनाउन सकिन्छ, लेजर र शल्यक्रिया गरेपनि बिरामी नियमित परीक्षणमा आउनुपर्छ । उहाँले थप्नुभयो– “शल्यक्रिया वा लेजर गरेको छ भनेर ढुक्कसँग बस्नु हुँदैन, समयसमयमा परीक्षण गराइरहनु पर्दछ ।”

जलविन्दु लागिसकेपछि सबैभन्दा पहिलो उपचार औषधि भएको र यो रोग लागेपछि जीवनभर नियमित औषधि प्रयोग गर्नुपर्छ । अर्का डा. सन्तोषकुमार साहले आँखामा उच्च रक्तचापका कारण जलविन्दु रोग हुने गरेको बताउनुभयो । उहाँका अनुसार जलविन्दु चार प्रकारका (प्राइमरी ओपन–एङ्गल ग्लुकोमा , ‘एङ्गल क्लोजर–ग्लुकोमा’, ‘नर्मल–टेन्सन ग्लुकोमा’ र ‘डेकेन्डरी ग्लुकोमा’) हुन्छन् ।

भर्खरै जन्मेको नवजात शिशुदेखि वृद्धवृद्धासम्मलाई जलबिन्दु लाग्ने भएकाले स्क्रिनिङ गरेर नै रोग पत्ता लगाउनुपर्नेमा डा. साहले जोड दिनुभयो । आँखाको दृष्टि नसाको परीक्षण गरेर यो रोगको पहिचान गर्न सकिने उहाँको भनाइ थियो ।

जलविन्दु वंशजका आधारमा पनि हुने हुने भएकाले परिवारमा कसैलाई यस्तो रोग लागेमा अन्य सदस्यले पनि परीक्षण गराइहाल्नुपर्नेमा उहाँले सुझाव थियो । मधुमेह, उच्च रक्तचाप, मुुटुको रोग र मोतियाविन्दु भएकालाई पनि जलविन्दु हुनसक्ने डा. साहले बताउनुभयो ।

डा. सिर्जना पराजुली, डा. प्राची दुलाल, डा. मनिषा थापा, वरिष्ठ नेत्र सहायक विनिता सापकोटाले जलविन्दुको प्रारम्भिक पहिचान, लक्षण, रोकथाम र उपचार पद्धतिकाबारेमा जानकारी गराएको थियो । जलबिन्दु भएपछि आँखाको छेउछेउबाट दृष्टि गुम्दै जान्छ, अन्तिममा आँखाको बीचमा क्षति पु¥याउँने, हुँदा प्रत्येक छ÷छ महिनामा आँखा परीक्षण गरेर रोग पहिचान गर्न सकिने उनीहरुको भनाइ थियो । जलविन्दुका बिरामीले मानसिक तनाव नलिन र नियमित चस्मा प्रयोग गर्न पनि त्यसबखत सुझाव दिइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्