Logo
|
Sunday 28th April 2024
Logo

epaper

समय अगावै जन्मिने बच्चामा देखिने आँखाको समस्या

रेटिनोप्याथी अफ प्रि– म्याच्योरिटी (आरओपी)



डा. इली प्रधान, रेटिना विशेषज्ञ

रेटिनोप्याथी अफ प्रि– म्याच्योरिटी (आर.ओ.पी.) भनेको समय अगावै जन्मेको बच्चाको आँखाको समस्या हो । समय अगावै जन्मिएको बच्चाको राम्रोसँग रेटिनाको तह बनेको हुँदैन भने भेन्टिलेटरमा अक्सिजन दिएर राखेकाहरूमा असामान्य रक्तनली हुने गर्छ । रेटिनाबाट ब्लिडिङ हुन्छ । नयाँ नसा पलाउँछ र पर्दा च्यातिन्छ । त्यसपछि बच्चाले देख्न सक्दैन ।

समय अगावै जन्मिएका शिशुहरूको कम तौलका हुने, आँखाको पर्दा (रेटिना) राम्रोसँग विकसित नहुने र राम्रो सँग सास फेर्न नसक्ने भएकाले उनीहरूलाई नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआइसियू) मा राखेर उपचार गर्नुपर्छ ।

वरिष्ठ पेडियाट्रिक अप्थाल्मोलोजिष्ट डा. सृजना अधिकारीले सन् २००८ तिर धरानको बिपी कोइराला इन्स्टिच्यूट अफ हेल्थ साइन्समा गरेको अनुसन्धान रिपोर्टले नेपालमा समय अगावै जन्मिएका २० देखि ३० प्रतिशत बालबालिकामा आर.ओ.पी.को समस्या हुने देखाएको छ ।

समयमा उपचार गर्दा के फाइदा ?
समयमा आँखाको जाँच भएमा अवस्था अनुसार इन्जेक्सन अथवा लेजरबाट उपचार गर्न सकिन्छ । पर्दा फाटेर आएमा सर्जरी गर्नुपर्छ । सर्जरी गरिसकेकाहरूको आँखा सुक्न सक्ने भएकाले दृष्टि फर्किन गाह्रो हुन्छ । यसरी प्रशुति विशेषज्ञले समय अगावै जन्मिएका बच्चालाई अस्पतालबाट डिस्चार्ज गर्नुअघि आँखा जाँचका लागि सिफारिस गर्नुपर्छ । यसबारे एनआइसियूका नर्सहरूलाई पनि ज्ञान दिन जरूरी हुन्छ ।

३० हप्तामा जन्मेको बच्चाको ४ हप्ता र २४ देखि २५ हप्तामा जन्मेको बच्चाको ३ हप्तामा आँखाको जाँच गराउन जरूरी हुन्छ ।

नेपालमा आरओपीको उपचार गर्ने ठाउँ धेरै छैन । आरओपीको उपचार गर्ने कमै प्रशिक्षित डाक्टरहरू छन् । समयअघि जन्मिएका सबै बालबालिकालाई उपचारको आवश्यकता पर्दैन । केही प्रतिशतलाई मात्र उपचार आवश्यक छ । बालबालिका हाम्रा भविष्य हुन् । उनीहरुको दृष्टि जोगाउनु हाम्रो कर्तव्य हो । तसर्थ, जीवनको १ महिनामा आँखा परीक्षणका लागि स्त्री रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, नवजात रोग विशेषज्ञ र समयपूर्व जन्मिएका शिशुको हेरचाहमा संलग्न व्यक्तिहरू बीच समयअघि जन्मिएका शिशुहरूको लागि तत्काल रेफरलको बारेमा सचेतना हुनुपर्छ ।
(डा. प्रधान तिलगंगा आँखा प्रतिष्ठानमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्