Logo
|
Saturday 27th July 2024
Logo

epaper

तिलगंगा सिटी आई सेन्टरको सेवा शुभारम्भ, तिलगंगा आँखा प्रतिष्ठानका दक्ष तथा ख्यातीप्राप्त चिकित्सकको समुहबाट सेवा

अत्याधुनिक प्रविधि र पद्धतिका साथ एकै ठाउँमा आँखाको सम्पूर्ण उपचार



वरिष्ठ आँखा रोग विशेषज्ञ एवं तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा.सन्दुक रुइत र प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङबाट भएको समुद्घाटनको तस्विर

जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको चावहील चुच्चेपाटीमा अत्याधुनिक प्रविधि र पद्धतिका साथ आँखाको उपचार सेवा शुरु भएको छ ।

अत्याधुनिक प्रविधि र पद्धतिका साथ एकै ठाउँमा आँखाको सम्पूर्ण उपचार सेवा दिने उद्देश्यले चुच्चेपाटीस्थित दम्पा कम्प्लेक्समा तिलगंगा सिटी आई सेन्टरको सेवा शुभारम्भ गरिएको हो । दैनिक १ सय ५० जना बिरामीले आँखा उपचार सेवा लिनसक्ने छन् ।

सार्वजनिक निजी साझेदारीको अवधारणाामा तिलगंगा आँखा प्रतिष्ठानका दक्ष तथा ख्यातिप्राप्त चिकित्सकको समुहबाट आँखाका सम्पूर्ण विशेषज्ञतासहित सेन्टर सञ्चालनमा आएको हो । बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सेवा लिन सकिनेछ ।

‘द गड अफ साइट’ को रुपमा प्रख्यात तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइत र प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङबाट संयुक्त रुपमा सो सेन्टरको समुद्घाटन गरिएको थियो ।

यस सेन्टरले आँखा सम्बन्धि विभिन्न जतिलताको निदान र उपचारका लागि विभिन्न सेवाहरु प्रदान गर्दछ । यहाँ आँखा सम्बन्धि उन्नत निदान उपकरणहरुका साथै दक्ष कर्मचारीहरुद्धारा आँखाको जाँच गरिन्छ ।

नियमित आँखा परीक्षणदेखि जटिल शल्यक्रियासम्मका सेवाहरु प्राप्त गर्न सकिने सेन्टरले जनाएको छ । मोतिविन्दुको शल्यक्रिया, जलबिन्दुको उपचार, कोर्निया र रेटिनाका रोगहरुको उपचार, आँखाको सौन्दर्यसम्बन्धि र अल्छि आँखाको व्यवस्थापन साथै कन्ट्याक्ट लेन्स र भिजन थेरापीको सेवा लिन सकिन्छ ।


न्यानो र स्वागतयोग्य वातावरणमा बिरामी केन्द्रित उपचारसहित हरेक वर्गका सेवाग्राहीहरुले सरल र सहज तरिकाले उचित सेवा प्राप्त गर्न सक्नेछन् । संस्थाको मुल दर्शन भनेकै बिरामीहरुलाई केन्द्रविन्दुमा राखेर नयाँ प्रविधि र पद्धतिको परिकल्पना हो । ‘क्वालिटी आई सर्भिस एट योर डोरस्टेप’ भन्ने मूल मन्त्रलाई अनुशरण गर्दै सेवालाई नेपालभर पुर्याउने अठोट लिएको र सम्पूर्ण बिरामीको पहुँचमा पुग्ने गरी कार्य गर्ने सेन्टरले जनाएको छ ।

समुद्घाटनपछि सामुहिक तस्विर


वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत भन्नुहुन्छ—‘सार्वजनिक निजी साझेदारीको अवधारणमा सञ्चालनमा ल्याइएको यो एउटा उत्कृष्ट मोडल हो । मेडिकल टुरिजममा हाम्रो जोड हो । आँखाको राम्रो उपचार सेवाका लागि विदेशीहरुको पनि आकर्षण बढ्नुपर्छ ।’

समुद्घाटनपछि मन्तव्य राख्दै डा. सन्दुक रुइत


तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले तिलगंगा सिटी आई सेन्टर समयको माग र जनताको आवश्यकता भएको बताउनुभयो ।

समुद्घाटनपछि मन्तव्य राख्दै डा.रीता गुरुङ


समुद्घाटन समारोहमा नेपाल आँखा कार्यक्रम तथा तिलगंगा आँखा अस्पतालका बोर्ड सदस्यहरु वरिष्ठ कलाकार हरिवंश आचार्य, सिद्धीलाल श्रेष्ठ, तिलगंगा आँखा अस्पतालका सीओओ पीताम्बर अधिकारी, तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी बोर्ड सदस्य नवीन राई, प्रदेश सांसद माननीय छिरिङ दोर्जे लामा, काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भुवन लामा र वडा नम्बर ७ का वडा अध्यक्ष बिमल कुमार होडालगायत दजनौं व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्