
जनस्वास्थ्य सरोकार, चितवन । नेपालमा प्रथम राष्ट्रपति डा. रामवरण यादव पेट स्क्यानका लागि भारत गएर फर्किएपछि नेपालमा सरकारी अस्पतालमा पेट स्क्यान मेसिन सञ्चालन गर्न चासो दिएका थिए। तर तत्कालीन समयमा सरकारले यहाँ मेसिन खरिदका लागि बजेट विनियोजन गरे पनि कामले पूर्णता भने पाउन सकेन।
तर राष्ट्रपति यादवको कार्यकाल पूरा भएको झण्डै १० वर्षपछि भने यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पेट स्क्यान ल्याउनका लागि गृहकार्य सुरु गरिएको छ।
अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अस्पतालमा पेट स्क्यान मेसिन जडान गरेर स्वदेशमै सेवा दिने योजनाका साथ काम अघि बढाइएको बताउनुभयो। मानव शरीरमा क्यान्सर रोग पहिचान गर्ने यो उपकरण नेपालका सरकारी अस्पतालमा नभएको भन्दै उहाँले क्यान्सर रोगको पहिचान गर्नका लागि सरकारले विनियोजन गरेको ८६ करोड बजेटबाट अस्पतालमा पेट स्क्यान गर्ने मेसिन जडान गर्ने बताउनुभयो ।
उहाँका अनुसार नेपालका तीन वटा निजी संस्थामा पेट स्क्यान हुने भए पनि उपकरणलाई आवश्यक पर्ने आइसोटोप भारतबाट ल्याउने गरिएको छ। आइसोटोप उत्पादन गर्ने उपकरण साइक्लोट्रोन समेत यही जडान गर्ने अस्पतालको तयारी छ। कार्यकारी निर्देशक डा. पौडेलले भन्नुभयो । “हामी आइसोटोप उत्पादन गरेर निजी क्षेत्रलाई बिक्री समेत गर्न सक्छौँ।” कोभिडका समयमा जहाज नउड्दा आइसोटोपका अभावमा नेपालका पेटस्क्यान सञ्चालन हुनसकेका थिएनन्।
पौडेलले पेटस्क्यान जडानका लागि भौतिक पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाइएको बताउनुभयो। अहिलेको ठूलो भवनको अगाडिपट्टी पेट स्क्यानका लागि भवन बनाउने तयारी गरिएको छ। भवनको नक्शाङ्कनको काम अन्तिम चरणमा पुगेको छ। यसका लागि माटो परीक्षण र वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) को काम अघि बढाइएको डा. पौडेलले बताउनुभयो
अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार काठमाडौंका दुई ठाउँ र झापाको बिर्तामोडमा निजी क्षेत्रबाट पेटस्क्यान गर्ने मेसिन सञ्चालनमा छन्। यो उपकरणले रोग पत्ता लगाउनका साथै उपचार एवं शल्यक्रियापछि बिरामी शरीरमा क्यान्सर रहे नरहेको समेत पत्ता लगाउन उपयोगी हुने उहाँको भनाइ छ।
हाल पेटस्क्यानकै लागि धेरै बिरामी छिमेकी देश भारत लगायतका देशमा जानुपर्ने बाध्यता छ। उपकरण जडान गरेसँगै नेपालका बिरामीले सरकारीस्तरमा स्वदेशमै यो सेवा पाउने उहाँको भनाइ छ। डा. नेपाल पेटस्क्यान मेसिन आएसँगै क्यान्सर रोग समयमै पहिचान गरी उपचार गर्न सकिने बताउछन्। रासस
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
