Logo
|
Saturday 14th December 2024
Logo

epaper

साकेलामा घुम्ती शिविरः दुई सय नब्बे जनाको स्वास्थ्य परीक्षण



जनस्वास्थ्य सरोकार, खोटाङ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा आयोजना गरिएको टोलस्तरीय घुम्ती शिविरबाट सात सय ५८ नागरिकले सेवा लिएका छन् ।

भौगोलिक विकटताका कारण गाउँपालिकाको कार्यालय पुगेर सेवा लिन नसक्ने नागरिकलाई मध्यनजर गर्दै टोलटोलमा आयोजना गरिएको घुम्ती शिविरबाट दुई सय ४३ ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता नवीकरण, दुई सय ९० जनाको स्वास्थ्य परीक्षण एवम् औषधि वितरण र दुई सय ५५ घरधुरीले जग्गाको कर बुझाएका छन् ।

सेवाग्राहीलाई गाउँमै सेवा दिने लक्ष्यका साथ टोलस्तरमा सरकारी सेवाको प्रबन्ध मिलाइएको साकेला–१ का वडाध्यक्ष हेमन राईले बताउनुभयो । “गाउँपालिकाको अन्य वडाको तुलनामा यो वडा भौगोलिक रुपमा विकट र ठूलो भएका कारण विभिन्न सेवाहरु टोलस्तरबाट प्रदान गर्ने कोसिस गरिएको छ”, उहाँले भन्नुभयो, “भौतिक विकास सँगसँगै सरकारबाट प्रदान हुने सेवा क्रमिक रुपमा प्रदान गरिनेछ । टोलस्तरीय घुम्ती शिविरबाट सामाजिक सुरक्षा भत्ता नवीकरण, प्राथमिक स्वास्थ्य सेवा र भूमि कर सङ्कलनसम्बन्धी सेवा पाउँदा नागरिक हर्षित बनेका छन् ।”

भौगोलिक रुपमा विकट टोलमा पुगेर टोलस्तरीय शिविरका लागि वडा सचिव नमी राई, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राई, वडाका अन्य कर्मचारी तथा स्वास्थ्यकर्मीको टोली खटिएका थिए । जिल्लाको सबैभन्दा सानो (पाँच वडामात्र रहेको) साकेला गाउँपालिकाले यसअघिबाटै सबै वडामा टोलस्तरीय घुम्ती शिविर सञ्चालन गर्दै आएको छ ।

जनताको आवश्यकतालाई पहिचान गर्दै अन्य वडामा पनि क्रमिक रुपमा टोलटोलबाटै सेवा प्रदान गरिने गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो । “सङ्घीयता जनताका लागि लागू गरिएको हो । उनीहरुले महसुस गर्नेगरी सेवा दिन सकिएन भने सङ्घीयताको कुनै अर्थ हुँदैन”, उहाँले भन्नुभयो “राज्यको पहुँचभन्दा टाढा तथा भौगोलिक रुपमा विकट मानिएका बस्तीमा घुम्ती शिविरको आयोजना गरेर सेवा दिने प्रयास गरिरहेका छौँ । आफ्नै ठाउँमा सेवा लिन पाउँदा उनीहरु पनि हर्षित बनेका छन् ।”साकेला गाउँपालिकाले जिल्लामै पहिलो पटक घुम्ती शिविरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको थियो । कर्मचारीले वितरण गर्दै आएको सामाजिक सुरक्षाभत्तामा चरम लापरबाही भएको पाइएपछि टोलटोलमा घुम्ती शिविर सञ्चालन गरेर बैंकिङ प्रणालीमार्फत वितरण सुरु गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्