
जनस्वास्थ्य सरोकार, काठमाडौँ । त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पतालबाट एक वर्षमा १ लाख ५७ हजार ७ सय ९१ जना बिरामीले बहिरङ्ग उपचार सेवा लिएका छन्। अस्पतालको १८औँ वार्षिक साधारणसभामा सञ्चालक समितिका सचिव मेघराज गजुरेलले त्यस अवधिमा ९ हजार १ सय ८९ बिरामीको आँखाको शल्यक्रिया गरिएको जानकारी दिनुभयो ।
अस्पतालले गएको आर्थिक वर्ष २०७९/८० मा ८ सय ४० जना गरिब बिरामीलाई पूर्ण तथा आंशिकरुपमा उपचारमा छुट दिएको थियो। अस्पतालले उपत्यका बाहिर सञ्चालन गरेको १३ सर्जिकल आँखा शिविरमा ५ हजार २ सय १२ जनाको आँखा परीक्षण गरिनुका साथै ९ सय ५० जनाको शल्यक्रिया गरेको त्यस अवसरमा जानकारी दिइयो।
अस्पतालले ३७ स्क्रिनिङ शिविरबाट ९ हजार ४ सय ५२ को आँखा परीक्षण गरी ७५ जनाको शल्यक्रिया गरेको जनाएको छ। सरकारी तथा सामुदायिक विद्यालयका १४ हजार ९ सय ९४ जना विद्यार्थीको आँखा परीक्षण गरी १ हजार १० थान चश्मा वितरण गरेको तथा शिविरबाट अस्पतालमा उपचारका लागि सिफारिस भइ आएका ३ सय ८४ जनाको शल्यक्रिया गरिएको जानकारी दिइयो।
अस्पतालले स्वर्ण महोत्सवका अवसरमा ८० वर्ष नाघेका बिरामी तथा अपाङ्गता भएकालाई लाग्ने शल्यक्रिया शुल्कमा ५० प्रतिशत छुट दिने तथा गरिब बिरामीलाई निःशुल्क एवम् सहुलियतमा उपचार सेवा प्रदान गर्दै आएको छ। अस्पतालले सरकार, विभिन्न सङ्घसंस्थासँगको सहकार्य र समन्वयमा सेवा विस्तार गर्ने, आँखा स्वास्थ्य शिक्षाबारे सर्वसाधारणलाई अवगत गराउने, सेवाको गुणस्तर बढाउने तथा सेवालाई विशिष्टिकृत गर्ने, नवीन उपकरण सेवा वृद्धि गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ।
पछिल्लो २५ वर्षयता पहिलो पटक यसवर्ष अस्पतालले खर्च कटाएर करिब पाँच करोड रुपैयाँ बचत गर्न सफल भएको छ। सञ्चालक समितिका कोषाध्यक्ष सविता भण्डारीले प्रस्तुत गर्नुभएको वार्षिक आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०७९र८० मा ४ करोड ९७ लाख ५९ हजार ५ सय ६६ बचत गर्न अस्पताल सफल भएको उल्लेख छ।
अस्पतालका संस्थापक वरिष्ठ आँखा चिकित्सक डा. रामप्रसाद पोख्रेल र अध्यक्ष गोपालप्रसाद पोखरेलले अस्पतालबाट प्रवाह सेवा गुणस्तरीय र प्रगतिउन्मुख रहेको बताउनुभयो ।
अस्पतालका आजीवन सदस्य मोति शान्ति शाक्यले अस्पतालको मोतिया बिन्दुको उपचार सेवामा सहयोग पुर्याउने हेतुले एक लाख रुपैयाँको चेक अध्यक्ष पोख्रेललाई हस्तान्तरण गर्नुभयो। अस्पतालले आगामी विश्व दृष्टि दिवसका अवसर पारी आगामी दिनमा काम गर्ने ठाउँमा आँखा स्वास्थ्य अभियान सञ्चालन गर्ने सोच अघि सारेको छ।
उपाध्यक्ष दमनबहादुर घले र कार्यकारी निर्देशक धर्मराज गोसाईले अस्पतालले आँखा उपचारका क्षेत्रमा पुर्याउँदै आएको योगदानको चर्चा गर्दै अस्पतालले विस्तार गर्ने सामुदायिक आँखा सेवा कार्यक्रमलाई सहयोग पुर्याउन आह्वान गर्नुभयो। रासस
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
