Logo
|
Saturday 27th July 2024
Logo

epaper

नेपाल आँखा अस्पतालको सिइओमा धर्मराज गोसाईं नियुक्त

नवनियुक्त सिईओ विगत २० वर्षदेखि अस्पताल व्यवस्थापनको व्यवसायिक भूमिकामा संलग्न



जनस्वास्थ्य सरोकार, काठमाडौं । वरिष्ठ अस्पताल व्यवस्थापक धर्मराज गोसाईं नेपाल आँखा अस्पतालको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा छनौट भई कार्य शुरू गर्नुभएको छ ।

विगत ३ वर्षभन्दा बढी समयदेखि रिक्त रहेको सिइओमा गोसाइ खुला प्रतिस्पर्धाबाट छनौट भई नियुक्त हुनुभएको हो ।

नेपाल आँखा अस्पतालको नवनियुक्त सिईओ धर्मराज गोसाई

यसअघि पूर्व मेजर जनरल दमनबहादुर घले सिइओ हुनुहुन्थ्यो । हाल उहाँ सञ्चालक समितिको उपाध्यक्ष हुनुहुन्छ । नवनियुक्त सिईओ गोसाईं व्यवसायिक रूपमा नै विगत २० वर्षदेखि अस्पतालको व्यवस्थापनको भूमिकामा विभिन्न अस्पतालहरू, स्वास्थ्य संस्था, शैक्षिक संस्था र स्वास्थ्य सेवा कार्यक्रममा संलग्न हुनुहुन्छ । उहाँको करियरको शुरूवात् सिभिल इन्जीनियरिङ्गबाट भएता पनि रूकुम जिल्लामा मिसन अस्पताल निर्माणको क्रममा अस्पताल व्यबस्थापनको विद्यार्थीको रूपमा नै आफ्नो पेशा रूपान्तर गर्नुभयो ।


रूकुममा अस्पताल निर्माण कार्यको नेतृत्व गरिरहेको अवस्थामा अस्पताल व्यवस्थापन टिमसँग मिलेर काम गर्नुभयो । विशेषगरी उहाँले गैर सरकारी संस्थाद्धारा सञ्चालित अस्पताल र केही अर्धसरकारी, सहकारी र प्रतिष्ठानमा रही अस्पताल व्यवस्थापनको नेतृत्व लिनुभएको थियो ।

जसमध्ये चौरजहारी मिसन अस्पतालमा पहिलो नेपाली प्रशासक भएर स्थापनाकालदेखि सञ्चालनको नेतृत्व लिनुभयो । चौरजहारी मिसन अस्पतालको सञ्चालक संस्था एचडीसीएसको मुख्य कार्यालय काठमाडौमा बसेर अस्पतालहरूको लागि संयोजनको जिम्मेवारी लिएर काम गर्नुभयो । त्यसबेला एचडीसीएस पाँच वटा मिसन अस्पतालको व्यवस्थापन गर्दै थियो । २ वर्ष लमजुङ जिल्ला सामुदायिक अस्पतालको निर्देशक भएर काम गर्नुभो । उहाँले त्यहाँ हुँदा पब्लिक प्राइभेट पार्टनरसिपको अवधारणालाई कार्यान्वयन गर्दै अस्पतालको सेवाको स्तरोन्नती र सेवा विस्तार गर्न प्रमुख भूमिका निभाउनुभयो ।

गोसाईंले स्तुपा स्वास्थ्य सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा २ वर्ष जति काम गर्नुभएको थियो । इलाममा उहाँले सामुदायिक अस्पतालको निर्देशक र व्यवस्थापन परामर्श दाताको रुपमा १ वर्ष काम गर्नुभयो ।

त्यसपछि जर्मन सहयोग नियोग (जिआईजेट) को आकस्मिक मातृ तथा शिशु स्वास्थ्य उपचार कार्यक्रमको मध्यपश्चिमाञ्चल क्षेत्रको क्षेत्रीय कार्यक्रम संयोजक भएर २ वर्ष काम गरेको अनुभव छ उहाँमा ।

यसरी जिआईजेटको काम पश्चात् उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निर्देशक भएर ४ वर्ष काम गर्नुभएको थियो । प्रतिष्ठानको निर्देशक भएर अस्पतालको सेवाको स्तरोन्नती, कर्मचारी प्रशासन, जनसम्पर्क सामुदायिक स्वास्थ्य कार्यक्रम र प्रतिष्ठानका १३ जिल्लाहरूमा स्वास्थ्य शिविर सञ्चालन लगायत जिल्ला अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारकोलागि नेतृत्व गर्नुभएको थियो । साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा, जनस्वास्थ्य नर्सिङ विधाका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन, स्वीकृति लिन आवश्यक कार्य गर्नुभएको थियो ।


पछिल्लो समयमा उहाँ नेपाल भारत मैत्री हस्पिटलको प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत हुनुहुन्थ्यो । अस्पताल व्यवस्थापनामा गोसाई अव्वल हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्