Logo
|
Saturday 27th July 2024
Logo

epaper

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. बसौलासँग स्वास्थ्य मन्त्रालयले माग्यो ११ बुँदे स्पष्टीकरण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलासँग ११ बुदेँ स्पष्टीकरण मागेको छ ।

मन्त्रालयले पदीय जिम्मेवारी वहन नगरेको भन्दै स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. बसौलासँग स्पष्टीकरण मागेको हो ।

मन्त्रालयले तीन दिन भित्र स्पष्टीकरण पेस गर्ने गरी मन्त्रीस्तरीय निर्णयबाट असोज ४ गते बसौलालाई स्पष्टीकरण सोधेको थियो ।

कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर बसौलाले स्वास्थ्य बिमा ऐन, २०७४ को दफा २४ ले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकार जिम्मेवारीका साथ सम्पादन नगरेको जस्ता विषय उठाइएका छन्।

त्यस्तै, महालेखापरीक्षकको प्रत्येक वर्षको प्रतिवेदनमा बेरुजु बढ्दो क्रममा रहेको, बेरुजु फर्छ्योट स्थिति सन्तोषजनक नभएको र प्रतिवेदनमा दिइएका सुधारका प्रयास नगरेको आरोप पनि बसौलामाथि लगाइएको छ ।

यी हुन् डा. बसौलालाई सोधिएको ११ बुँदे स्पष्टीकरण

१. स्वास्थ्य बिमामा आबद्ध हुने विमितको उपचार वाफतको रकम समयमै समानुपातिक रुपमा ७७ जिल्लामा सोधभर्ना भुक्तानी गराउनु पर्नेमा तपाईकै मिलमतोमा सिमित अस्पताल र कलेजहरुलाई मात्र दोहराएर दिने तर केही अस्पतालहरुको वर्षौ देखिको सोधभर्ना भुक्तानी नगरेको भनि सञ्चार माध्यम तथा अस्पतालहरुबाट बारम्बार आएको गुनासोको सम्बोधन किन नगरेको ?
२. स्वास्थ्य बिमा कार्यक्रम देशभरि प्रभावकारी रुपमा लागु हुनु पर्नेमा सो नगरी ११ जिल्लामा बिमा कार्यक्रम किन सुचारु हुन नसकेको ?
३. त्यस बोर्डका ना.सु. प्रकाशमान केसीले बरबुझारथ नगरेको, विमितको रकम हिनामिना गरेको र समयमै लेखा परीक्षण गरी गराई  श्रेस्ता ठिक दुरुस्त राख्नु पर्नेमा पदीय जिम्मेवारी पालना नगरेको तथा त्यस बाफतको हानी नोक्सानीको जिम्मेवारी कार्यकारी निर्देशकले लिनु पर्ने वा नपर्ने ? स्पष्ठ खुलाई पेश गर्ने ।
४. त्यस बोर्ड तथा मातहतका कार्यालयको लेखापरीक्षण समयमै गराई स्वास्थ्य वीमा बोर्डको आर्थिक तथा जिन्सी व्यवस्थापनलाई चुस्त दुरुस्त अभिलेख राख्नु पर्नेमा सो नगरी बिमितको रकम एकिन हुनु पर्नेमा सो नहुनुमा तपाई जिम्मेवार हुनु पर्नेमा नपर्ने ?
५. त्यस बोर्डको स्विकृत दरबन्दी भित्रका पूर्ति, रिक्त तथा अन्य अवस्थाको विवरण मन्त्रालयमा समयमै उपलब्ध गराउनु पर्नेमा सो नगरी कतिपय प्रशासनिक पदमा पदपूर्ति सोझै अन्य निकायबाट गर्ने गराउने कार्यमा संलग्न भएको देखिएकोले त्यस्तो गर्नुको कारण स्पष्ट गर्ने ।
६.त्यस बोर्डको अनुरोध अनुसार मन्त्रालयको निर्णयबाट कामकाज गर्न पठाएका कर्मचारीहरुलाई कानून बमोजिम बरबुझारथको समय समेत नदिई रमाना दिएको तथा मन्त्रालयको जिम्मेवार तहबाट निर्देशित गर्दा समेत सुनवाई नगरी निर्णयको पालना समेत नगर्नुको कारण पेश गर्ने ।
७. तपाई १३ देखि १५ जुन, २०२३ मा  जर्मनीको बर्लिनमा भएको ग्लोवल फोरम अन अडप्सन सोसियल प्रोटेक्सन इन बर्लिन कार्यक्रममा मन्त्रालयको भाग लिन स्विकृतिका लागि मन्त्रालयका टिप्पणी पेश गरी मन्त्रालयको स्विकृति बिना कार्यक्रममा सहभागी हुनुको स्पष्ट कारण खुलाई पेश गर्ने ।
८. सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई भुक्तानी दिनु पर्ने रकम, आम्दानी हुने रकम (प्रिमियम) को अन्तर अत्यधिक भई भुक्तानी सन्तुलन बिग्रिएको, बित्तिय व्यवस्थापन अस्तव्यस्त भएको देखिन र बुझिन आएकोले के कति कारण किन र कसरी समस्या भएको हो ? समाधान तर्फ पहल किन नगरेको हो स्पष्ठ खुलाई पेस गर्ने ।
९. म.ले.प.को प्रत्येक वर्षको लेखा परीक्षणको प्रतिवेदनमा बेरुजु बढ्दो क्रममा रहेको, बेरुजु फछ्यौट स्थिति सन्तोषजनक नभएको,  प्रतिवेदनमा उल्लेखित सुधारका सुझावहरु  कार्यन्वयन गर्न नसक्नुको कारण स्पष्ट गर्ने । १०. स्वास्थ्य वीमा बोर्ड र अन्तरगतका निकायहरुमा कार्यरत कर्मचारीहरुलाई विभेदपूर्ण व्यवहार गर्ने गरेको सन्दर्भमा स्पष्ट पार्ने ।
११. स्वास्थ्य वीमा  बोर्डको आन्तरिक सुशासन कमजोर बनाई प्रशासनिक र आर्थिक व्यवस्थापन पक्ष चुस्तदुरुस्त नहुनुको कारण स्पष्ट गर्ने ।

प्रतिक्रिया दिनुहोस्