Logo
|
Thursday 24th October 2024
Logo

epaper

चितवनका तीन सरकारी अस्पतालमा रगत निःशुल्क पाईने



जनस्वास्थ्य सरोकार, चितवन । चितवनका तीन वटा सरकारी अस्पतालमा उपचार गर्ने बिरामीले रगत निःशुल्क रुपमा पाउने भएका छन् । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले आइतबार यस सम्बन्धी सम्झौता गरेको हो ।

भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र बकुलहर रत्ननगर अस्पतालमा उपचार गर्ने बिरामीले रगत निःशुल्क रुपमा पाउने छन् ।

बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पतालमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री उत्तम जोशी र नेपाल रेडक्रस सोसाइटी चितवनका महामन्त्री राममणि खनालबीच यस सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार बागमती प्रदेशबासीले यी अस्पतालमा उपचार गर्दा रगत आवश्यक परेमा निःशुल्क रुपमा पाउने छन् । उक्त रगतको शुल्क बापतको रकम बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले रक्तसञ्चार केन्द्रलाई भुक्तानी दिने व्यवस्था गरिएको छ ।

मन्त्रालयले यस अघि नै काठमाण्डौं लगायत प्रदेशका अन्य अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउन सम्झौता गरिसकेको छ । सम्झौता भएका अस्पतालहरूमा बागमती प्रदेश अन्तर्गतका बकुलहर रत्ननगर अस्पताल सहित १३ वटा अस्पताल रहेका छन् । यसैगरी पाटन अस्पताल, वीर अस्पताल, धुलिखेल अस्पताल काभ्रे, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर रहेका छन् ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र, शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा पनि बागमती प्रदेशवासीले निःशुल्क रगत पाउने छन् ।

प्रदेशभित्रका स्थायी बसोबास गर्ने विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि आवश्यकता पर्ने रगत, ब्लड ब्याग र रक्त परीक्षण निःशुल्क रुपमा उपलब्ध गराउनका लागि सम्बन्धित निकायहरूसँग सम्झौता गरिएको हो ।

मन्त्रालयले गत आर्थिक वर्ष २०७९/०८० मा ४३ लाख ४५ हजार ९२३ रुपैयाँ बराबरको रगत निःशुल्क उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्