Logo
|
Wednesday 11th September 2024
Logo

epaper

सरकारले लिन्छ स्वास्थ्यकर्मीको सुरक्षाको जिम्माः मुख्यमन्त्री पाण्डे



जनस्वास्थ्य सरोकार, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्रमा उच्छृङ्खल गतिविधि हुन नदिने बताउनुभएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट आर्थिक वर्ष २०७९–८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रलाई सुरक्षित बनाउन सबैले सामूहिक रुपमा काम गर्नुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशमा गत साता लमजुङ र पोखराको मनिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि भएको घटना अप्रिय भएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा लाग्ने स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा सरकारले लिने उहाँको भनाइ थियो। उहाँले भन्नुभयो, ‘यो पेसामा लाग्ने सबैको सुरक्षाको जिम्मा सरकारको हो । त्यो हामी लिन्छौँ।’

प्रदेशको स्वास्थ्य क्षेत्रमा समस्या रहेको औंल्याउँदै समाधानको पाटो खोज्नु सबैको सामूहिक दायित्व रहेकामा जोड उहाँले जोड दिनुभयो।

आफ्नो पालामा तीन सय ६५ शय्या सङ्ख्यालाई बढाएर सात सय ३५ बनाएरै छाड्ने मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता जनाउनुभयो ।

मुख्यमन्त्री पाण्डेले क्यान्सर पीडितका लागि भरतपुर क्यान्सर अस्पतालसँग समन्वय गरेर सहुलियत उपचारको प्रक्रियाअघि बढेको बताउनुभयो ।

सोही कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिङ्खडा सरकार र निजी अस्पतालबीच समन्वय हुनुपर्ने बताउनुभयो । उहाँले जो पीडित छ पहिला उसैको उपचार निःशुल्क गरिदिन आग्रह गर्नुभयो ।

आजसम्म चल्ने समीक्षामा प्रदेशको ११ वटै जिल्लाका स्वास्थ्य प्रमुख पोखरा आएका छन् । उनीहरूले आफ्नो प्रतिवेदन पेस गरी त्यसमा छलफल गरिने आयोजकको भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस्