Logo
|
Saturday 27th July 2024
Logo

epaper

थाइल्यान्डबाट आएका हाडजोर्नी विशेषज्ञको टोलीले गर्यो लुम्बिनीमा ३२ जनाको निःशुल्क घुँडा प्रत्यारोपण



जनस्वास्थ्य सरोकार, लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनी र आसपासका बिरामीलाई केन्द्रित गरी मानव अङ्ग प्रत्यारोपणमा निक्कै महँगो र जटिल उपचार मानिने घुँडाको प्रत्यारोपणको निःशुल्क सेवा प्रदान गरिएको छ ।

थाइल्याण्डस्थित बुद्धको पहिलो पाइला नामक परियोजनाअन्तर्गत लुम्बिनी क्षेत्रका ३२ बिरामीको निःशुल्क घुँडा प्रत्यारोपण गरिएको हो ।

लुम्बिनीस्थित राजकीय थाई विहारको समन्वय र थाइलयाण्डका बौद्ध ध्यानगुरु सुधर्मगुरु र सिरीराज अस्पताल हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राध्यापक डा. किराती सि वानिचको पहलमा बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रमा घुँडा प्रत्यारोपण स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा सोमबार १४ र मङ्गलबार १६ बिरामीको घुँडाको शल्यक्रिया गरिएको थियो ।

घुँडा प्रत्यारोपणका लागि वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ र शल्यक्रिया चिकित्सक १६ जनासहित ४५ जनाको टोली थाइल्याण्डबाट आएको थियो । ‘मानवताका लागि प्रेम’ नाराका साथ स्थापित थाइल्याण्डको सिरीराज अस्पताल एक सय ३५ वर्ष पुरानो हो । सिरीराज अस्पतालका प्रा. डा. किरातीको नेतृत्वमा चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले अत्याधुनिक प्रविधिमार्फत घुँडाको प्रत्यारोपण गरेका हुन् ।

घुँडा प्रत्यारोपणमा खटिएका चिकित्सक र बिरामीको उत्साहका लागि बुधबार लुम्बिनीमा आयोजित कार्यक्रममा बुद्धको जीवनको प्रमुख सन्देश नै मानव सेवा रहेकाले थाइल्याण्डका धर्मगुरु र चिकित्सकको पहलमा पहिलो पटक स्वास्थ्य शिविर गरिएको आयोजकले बताएका छन् ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले थाइल्याण्डको चिकित्सक टोलीले लुम्बिनी क्षेत्रका स्थानीयको उपचार गरेर ठूलो योगदान दिएको बताउनुभयो । उहाँले बुद्धको उपदेश नै मानवसेवा भएकाले पवित्रस्थलमा घुँडाको प्रत्यारोपण गरेर थाइल्याण्डको चिकित्सक टोलीले पवित्र काम गरेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी क्षेत्रका आर्थिकरुपमा विपन्नलाई घुँडाको सफल प्रत्यारोपण गर्न पाएकामा थाइल्याण्डका बौद्ध ध्यान गुरु भिक्षु सुधर्मले खुसी व्यक्त गर्नुभयो ।

नेपालमा स्वास्थ्य शिविर सञ्चालनका समन्वयकर्ता भिक्षु फ्रा अनिल सुगन्धले भगवान बुद्धकै कारण थाइल्याण्डका सुधर्मगुरु र सिरीराज अस्पतालका चिकित्सक प्रोफेसर किरातीको अगुवाइमा स्वास्थ्य शिविर सम्पन्न सफल भएको बताउनुभयो । उहाँका अनुसार डा. किराती नेतृत्वको बुद्धको पहिलो पाइला परियोजनाले थाइल्याण्डका पनि ग्रामीण बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

थाइल्याण्ड बाहिर स्वास्थ्य शिविर सञ्चालन गर्ने सोचअनुसार पहिलो कार्यक्रम बुद्धजन्मस्थल लुम्बिनीमा गरिएको भिक्षु सुगन्धले बताउनुभयो। लुम्बिनी आएर बिरामीको उपचार गर्न पाउँदा निकै खुसी लागेको सिरीराज अस्पताल हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राध्यापक डा. किराती सि वानिचले बताउनुभयो ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धजन्मस्थल लुम्बिनीकै कारण यस्ता जटिलखालको रोगको निःशुल्क उपचार सेवा स्थानीयले पाएको बताउनुभयो । उहाँले लुम्बिनी र बुद्धसँग जोडेर विहारले यस्ता कार्यक्रम बढाउनुपर्ने बताउनुभयो।
सिद्धार्थनगर सिटी अस्पतालका अध्यक्ष डा. सुबोधकुमार पाण्डेयले नेपालमा प्रविधिका कारणले निकै महँगो र खर्चिलो घुँडाको उपचार थाइल्याण्डको सिरीराज हस्पिटलसँगको सहकार्यमा आफूको अस्पतालमा गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्