Logo
|
Thursday 31st October 2024
Logo

epaper

आज विश्व मुस्कान दिवस, के छन् मुस्काउनुको फाइदा ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो ।

“सुन्दर र आकर्षक देखिन कसलाई मन हुँदैन ? ” विश्व मुस्कान दिवसका सन्दर्भमा मनोविद विजया बिजुक्छे भन्नुहुन्छ-“उसो भए मुस्कुराइरहनुहोस्, नसके पनि कोसिस गर्नुहोस् ।”

मनोविद् बिजुक्छेका अनुसार मुस्कुराइरहुनका धेरै फाइदा छन् । मुस्कानले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ । उहाँका अनुसार मुस्कानले स्वास्थ्यलाई फाइदा गर्छ ।

“मानिस सामाजिक प्राणी भएकाले सधैँ समाजमा बस्न रुचाउँछ । सही सम्बन्धको अभावमा थुप्रै खालका मानसिक विकारको अवस्थामा पुग्ने अवस्था हुन्छ, जस्तै डिप्रेसन, एन्जाइटी”, मनोविद् बिजुक्छेले भन्नुहुन्छ–“मुस्कुराउँदा सामाजिक सम्बन्ध र सहयोगमा वृद्धि गर्छ । जब सामाजिक सहयोग बढ्छ त्यहाँ सम्बन्धहरू सुध्रिन्छन् । तब व्यक्तिको तनाब कम हुन्छ, तनाब कम भएपछि सुखी बढ्छ र आनन्द बढ्छ । आनन्द बढ्नु भनेको नै मानसिक स्वास्थ्य स्वस्थ हुनु हो ।”

मनोविद्हरूका अनुसार मुस्कानले व्यक्तिको सामना गर्न सक्ने क्षमतालाई वृद्धि गर्छ । मुस्कानले आत्मविश्वास बढाउँछ ।

कसरी मुस्कुराइरहने ?
कतिपय व्यक्तिलाई मुस्कुराउन नै नसक्ने समस्या हुने मनोविद् बिजुक्छे बताउनुहुन्छ । सके मुस्कुराइरहने नसके मुखको मांशपेशीलाई मुस्काउने अभ्यास गर्नुपर्ने उहाँको सुझाव छ ।

“खुलेर मुस्कुराउन नसक्ने थुप्रै व्यक्ति हुनुहुन्छ । हाँसो उठ्दैन भने पनि जबर्जस्ती भए पनि मांशपेशी तन्काउनुपर्छ”, मनोविद् बिजुक्छेले भन्नुहुन्छ-“मुखमा पेन्सिल राखेर भए पनि मुखको मांशपेशी बङ्ग्गाउने वा ओठको दुवै छेउमा दुई चौरऔलाले दबाएर माथितिर तान्छौ भने त्यसले हाँसोजस्तो देखाइदिन्छ । त्यो भए पनि हाम्रो मस्तिष्कले हाँस्नका खुसी पैदा गर्ने रसायन उत्पादन गर्दछ ।” उहाँका अनुसार यसरी मुखको मांशपेशीलाई तन्काएर भए पनि मुस्काउने वा हाँस्ने अभ्यासले बानीको विकास गर्छ । रासस

प्रतिक्रिया दिनुहोस्