Logo
|
Saturday 27th July 2024
Logo

epaper

बागलुङमा ह्वात्तै बढ्यो डेंगु, १३० जनामा संक्रमण



जनस्वास्थ्य सरोकार, गलकोट । बागलुङमा पछिल्लो समय डेंगु संक्रमण ह्वात्तै बढेको छ। पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा एक सय ३० जनामा डेंगु संक्रमण पुष्टि भइसकेको पाइएको छ। पछिल्लो एक महिनामा मात्रै ९० जनाभन्दा बढीको सङ्ख्यामा डेंगु पुष्टि भएको छ।

साउनयताको तथ्याङ्कअनुसार एक सय ३० जनामा डेंगु संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो। उहाँले जिल्लामा डेंगु संक्रमण तीव्ररुपमा फैलिएकाले सचेत हुन पनि आग्रह गर्नुभयो।

“एक महिना अघिसम्म डेंगु संक्रमण निकै कम थियो, ४० जनालाई मात्रै संक्रमण भएको थियो, पछिल्लो एक महिनामा मात्रै ९० जनालाई संक्रमण भएर अहिले संक्रमणको सङ्ख्या एक सय ३० पुगेको छ, सबैभन्दा बढी ढोरपाटन नगरपालिकामा संक्रमण फैलिएको हो”, प्रमुख शर्माले भन्नुभयो–“डेंगुको संक्रमण तीव्र भइरहेकाले सबैजना लामखुट्टेको टोकाइबाट बच्न आवश्यक छ।”

बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै शङ्कास्पद बिरामीमा परीक्षण गर्दा ९६ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो। यस्तै धौलागिरि अस्पतलमा १५, गलकोट नगर अस्पतालमा १७ र बोङ्गादोभान स्वास्थ्य चौकीमा दुई जनामा डेंगुसंक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका दस पालिकामध्ये बरेङ गाउँपालिकाबाहेक अन्य नौ पालिकामा डेंगु संक्रमण पुष्टि भइसकेको छ।

उक्त कार्यालयको तथ्याङ्क अनुसार ढोरपाटन नगरपालिकामा ६७, बागलुङ नगरपालिकामा आठ, जैमिनी नगरपालिकामा दुई, गलकोट नगरपालिकामा १४, काठेखोला गाउँपालिकामा तीन, बडिगाड गाउँपालिकामा दस निसीखोला गाउँपालिकामा १८, तमानखोला गाउँपालिकामा चार र ताराखोला गाउँपालिकामा एक जनामा संक्रमण पुष्टि भएको हो।

डेंगु संक्रमण फैलिरहेको समयमा धौलागिरि अस्पतालमा ज्वरोको बिरामी ह्वात्तै बढेको उक्त अस्पतालले जनाएको छ। जिल्लामा डेंगुको लक्षण भएका बिरामीको समेत धौलागिरि अस्पतालमा चाप बढिरहेको पाइएको छ।

उक्त अस्पतालमा उच्च ज्वरोका बिरामीको सङ्ख्या ह्वातै बढेको र ज्वरो आएका बिरामीको निःशुल्क डेंगु परीक्षण भइरहेको अस्पतालले जनाएको छ।

धौलागिरि अस्पतालमा डेंगु संक्रमण भई भर्ना भइरहेका केही बिरामीलाई थप उपचारका लागि पोखरासमेत पठाइएको छ भने सामान्य बिरामीलाई सोही अस्पतालमै उपचार गरिरहेको त्यहाँका मेडिकल सुपरीटेन्डेन्ट डा रविरञ्जन प्रधानले जानकारी दिनुभयो। अहिले उक्त अस्पतालमा दैनिक ओपिडी र इमर्जेन्सीमा आउने अधिकांश बिरामी ज्वरोको आउने गरेको पाइएको छ।

अहिले अस्पतालमा ज्वरो, वाकवाकी आउने तथा रिङ्गटा लाग्ने बिरामीको सङ्ख्या वृद्धि भए पनि सबैमा डेंगु संक्रमण भने नदेखिएको अस्पतालको भनाइ छ। डेंगु नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले खोज र नष्ट गर अभियानलाई जारी राखेको छ। लामखुट्टेको लार्भा नष्ट गर्न पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा विशेष ध्यान अपनाइएको स्वास्थ्य कार्यालयले जनाएको छ।

निरन्तरको वर्षाले खोज र नष्ट गर अभियानसमेत ओझेलमा परेकामा रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रमसमेत थालिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्